प्रस, वीरगंज, ७ असोज/
पत्नीको हत्या गरेको आरोपमा नेपाल एसबिआई बैंक, श्रीपुर शाखाका प्रबन्धक कलैया उपमहानगरपालिका–१ निवासी ३६ वर्षीय दीपेन्द्र जैसवारलाई बारा प्रहरीले पक्राउ गरेको छ ।
जैसवारमाथि पत्नी पिङ्की कुर्मीलाई कुटपिट गरेर हत्या गरेको आरोप छ । पिङ्की पतिको कुटपिटबाट घाइते भएकी र उनको उपचारको क्रममा काठमाडौंको मेडिसिटी अस्पताललमा मृत्यु भएपछि जैसवारलाई पक्राउ गरिएको हो ।
मृतक पिङ्कीका परिवारजनले शुक्रवार नेपाल पत्रकार महासङ्घ, पर्सामा पत्रकार सम्मेलन गरी पिङ्कीका पति पक्राउ परे पनि सो घटनामा संलग्न अन्य मानिसहरू भने पक्राउ नपरेको भनी दुःखेसो व्यक्त गरेका थिए ।
पत्रकार सम्मेलनमा जैसवारका पिता, आमा, काका फरार रहेका र उनीहरूलाई प्रहरीले पक्राउ गर्न नसकेको जानकारी गराइएको थियो । भदौ १८ गते जैसवारले पत्नी पिङ्कीलाई कुटपिट गरेको र सो कुटपिटमा जैसवारका पिता, आमा र काकासमेतको संलग्नता रहेको जिल्ला प्रहरी कार्यालय, बारामा दिइएको उजूरीमा उल्लेख छ । पिङ्कीको मृत्यु यही असोज २ गते भएको हो ।
जैसवार परिवारको कुटपिटबाट घाइते पिङ्कीको उपचार वीरगंजमा गराइएको थियो र यहाँ सम्भव नभएपछि काठमाडौं लगिएको थियो ।
२०६७ मङ्सिर १४ गते पिङ्कीको विवाह भएको र उनीहरूबाट १० वर्षीया छोरी र ७ वर्षीय छोरा गरी दुर्ई सन्तान छन् ।
पत्रकार सम्मेलनमा पिङ्कीका भाइ मनीष कुर्मीले जाहेरी दर्ता गराएपछि जैसवारलाई पक्राउ गरिएको र अन्य अझै फरार रहेको बताए । उनले दिदीको हत्या नियोजित तरीकाबाट भएको बताए । केही महीनाअगाडि दिदीको नाममा रु ५० लाखको जीवनबीमा गरिएको र सोही रकमको लागि हत्या गरिएको उनले आरोप लगाए ।