इस्लामाबाद, ७ असोज/सिन्ह्वा
बाढीबाट क्षति पुगेको पाकिस्तानमा डेङ्गुको प्रकोप थप बढेको यहाँका अधिकारीहरूले जनाएका छन् । पाकिस्तानका अधिकारीहरूले यहाँका बाढी प्रभावित क्षेत्रहरूमा डेङ्गुको प्रकोप बढेको र यसबाट मृत्यु हुनेहरूको सङ्ख्या पनि प्रतिदिन बढ्दै गएको जनाएका छन् ।
पाकिस्तानको सिन्ध प्रान्त डेङ्गुबाट बढी प्रभावित देखिएको छ । पछिल्लो समय यस वर्षको मनसुनबाट क्षति भएको सो प्रान्तमा डेङ्गुको ज्वरो बढेको र धेरै मानिस अस्पताल भर्ना भएका बताइएको छ ।
यस प्रान्तमा मात्र डेङ्गुको प्रकोपबाट कम्तीमा ३० जनाको ज्यान गएको सिन्ध प्रान्तको प्रान्तीय स्वास्थ्य विभागका प्रमुखले जानकारी दिएका छन् । ती अधिकारीका अनुसार बितेको २४ घण्टामा ४०२ जनालाई डेङ्गु लागेको छ । यसपछिको प्रभावित क्षेत्र कराँची हो । कराँचीमा गएको २४ घण्टामा २७९ जनामा यो सङ्क्रमण देखिएको छ ।
सिन्ध र कराँची यस वर्षको मनसुनी वर्षाबाट सबैभन्दा बढी प्रभावित भएका प्रान्त हुन् । बाढीका कारण बढेको फोहर र अन्य कारणले यहाँ डेङ्गु ज्वरोको प्रकोप बढेको बताइएको छ ।
सेप्टेम्बरमा मात्र सिन्धमा ४,३०० भन्दा बढीमा डेङ्गुको सङ्क्रमण भएको थियो । यहाँ अहिलेसम्म छ हजारजना भन्दा बढीमा यो प्रकोप देखिएको सिन्ध प्रान्तको स्वास्थ्य विभागका प्रमुखले जानकारी दिएका छन् ।
पाकिस्तानमा यस वर्षको मनसुनबाट प्रभावित अर्काे प्रान्त खैबर पाक्थुन्क्वा हो र यहाँ पनि डेंगुको प्रकोप बढ्दो देखिएको छ । यहाँ पनि यस वर्ष कम्तीमा पाँच हजारजनामा यो सङ्क्रमण देखिएको खैबरको स्वास्थ्य विभागका प्रमुखले जानकारी दिएका छन् । रासस