प्रस, वीरगंज, ५ असोज/
उच्च अदालत वीरगंज इजलासले कर्तव्य ज्यान मुद्दामा प्राथमिकतामा राख्दै आएको मुद्दालाई हटाएर अर्काे मुद्दाको पेसी चढाएको छ ।
उच्च अदालत वीरगंज इजलासमा साताको बिहीवार एक दिन मात्र कर्तव्य ज्यान मुद्दाको पेसी हुँदै आएको छ । यसअघि भदौ ३० गते बिहीवारका दिन तत्कालीन नेकपाका कार्यकर्ता बहुअर्वाभाठाका महेश चौरसिया हत्याकाण्डको पेसी १ नं मा थियो । तर असोज ६ गते बिहीवारको पेशीमा सो मुद्दा ४ नं मा पारिएको छ भने जीतपुरसिमरा उपमहानगरमा स्थानीय चुनावताका माओवादी केन्द्रका कार्यकर्ता राकेशभक्त पौडेल हत्याकाण्डको मुद्दा १ नं पेसीमा पारिएको छ । पौडेल हत्याकाण्डमा १४ जना अभियुक्त रहेको र सोमध्ये एकजना नाबालकलाई बारा जिल्ला अदालतले रिहा गरेको, एकजना नाबालिकालाई बाल सुधारगृहमा राखेको र बाँकी १२ जनालाई पुर्पक्षका लागि वीरगंज कारागार चलान गरेको थियो । यो मुद्दामा कारागार चलान भएका १२ जनाले १७ नं बमोजिम २०७९/४/१५ गते उच्च अदालत वीरगंजमा रिट हालेका थिए । तर सोभन्दा अघि तत्कालीन नेकपाका महेश चौरसिया हत्याकाण्ड भएको थियो ।
चौरसिया हत्याकाण्डको रिट उच्चमा २०७८/८/२९ मा परेको थियो । चौरसिया हत्याकाण्डमा सातजना अभियुक्त अहिलेसम्म पर्सा जिल्ला अदालतको निर्णय अनुसार वीरगंज कारागारमा पुर्पक्षका लागि थुनामा छन् । यसअघि पौडेल हत्याकाण्डको पेसी ३ नं मा थियो र चौरसिया हत्याकाण्डको पेसी १ नं मा थियो । तर एक्कासि असोज ६ गते बिहीवारको पेसीमा चौरसिया हत्याकाण्ड पेसीलाई ४ नं मा पु¥याइएको छ भने ३ नं मा रहेको पौडेल हत्याकाण्डको पेसी १ नं मा राखिएको छ ।
अदालतको नियम अनुसार पुरानो प्राथमिकताका मुद्दालाई पहिलो पेसीमा राख्ने र नयाँलाई सोही अनुसारको क्रममा राख्नुपर्ने हो तर उच्चमा यसो नहुँदा अहिले सेटिङ भएको आरोप लागेको छ । उच्च अदालत वीरगंज इजलासका सूचना अधिकारी रामनरेश महतोसँग यसबारे बुझ्दा उनले फोनबाट सूचना दिन नमिल्ने बताए । उनले अदालतबारे बुझ्नुपर्ने कुरा अदालतमा आएर बुझेको खण्डमा सबै प्रस्ट्याउने बताए ।