प्रस, वीरगंज, ३१ असोज/
वीरगंजमा पोके तस्करी झनै बढ्दो छ । दशैं, दीपावली, छठ नजीकिएसँगै वीरगंज र आसपासका क्षेत्रबाट खुलेआम तस्करी भइरहेको छ ।
खुला सीमाका कारण छपकैया, श्रीसिया, इनर्वा, भकुवा, अलौं र बाराको बलिरामपुरबाट निर्बाध पोके तस्करी भइरहेको देख्न पाइन्छ । एकाबिहानैदेखि अबेर रातिसम्म साइकल, टेम्पो, मोटरसाइकल, अटो र पैदल भरियाहरूले तस्करीका सामानहरू ल्याउने–लैजाने गरिरहेका छन् ।
सीमामा खटेका सुरक्षाकर्मीहरूलाई प्रभावित पारेर उनीहरूले तस्करीलाई निरन्तरता दिंदै आएका छन् । सशस्त्र प्रहरी १३ नं गण वीरगंज हेडक्वार्टरका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेतले खुला सीमाका कारण पूर्णरूपमा तस्करी नियन्त्रण गर्न समस्या भएको बताए । उनले सशस्त्र प्रहरीले तस्करीका सामान नियन्त्रणमा लिने, भन्सार, राजस्व कार्यालय चलान गर्ने कार्यलाई निरन्तरता दिएको बताए । उनले चालू आवको साउनमा एक करोड २२ लाख ४३ हजार र भदौमा एक करोड ६० लाख ६० हजार मूल्यबराबरका भन्सार छली भित्रिएका सामान बरामद गरेको र आवश्यक कारबाईको लागि सम्बन्धित कार्यालयमा पठाएको बताए ।
उनले व्यक्तिगत घरायसी प्रयोजनका लागि ल्याइने सामानहरूमा कडाइ नगरिएको बताए । सीमावर्ती क्षेत्रमा घरायसी सामान ल्याउन कडाइ गर्दा समस्या हुने उनको भनाइ छ ।
वीरगंज भन्सारबाट तस्करी
तस्करहरूले अहिले मुख्य बाटोबाटै तस्करी शुरू गरेका छन् । खुला सीमाका कारण अन्यत्रबाट तस्करी हुँदै आए पनि अहिले मुख्य नाकाबाट तस्करी भइरहेको छ भने त्यसमा सुरक्ष्Fाकर्मी, भन्सार कर्मचारीहरूको पनि संलग्नता देखिएको छ ।
मितेरी पुलदेखि छपकैया सामुदायिक सेवा केन्द्रसम्म सशस्त्र र नेपाल प्रहरीका जवानहरू तैनाथ छन् । तर ती सबै बाटो पार गरेर तस्करहरूले रक्सौलबाट वीरगंज र वीरगंजबाट रक्सौल सामानहरू ओसारपोसार गरिरहेका छन् । मितेरी पुलमा सशस्त्र प्रहरी तैनाथ छ । त्यसैगरी, शङ्कराचार्यद्वारमा नेपाल प्रहरी र भन्सार कार्यालयमा सशस्त्र प्रहरीको राजस्व नियन्त्रण टोली, रजतजयन्तीमा सशस्त्र र नेपाल प्रहरीको टोली र सामुदायिक प्रहरी सेवा केन्द्रमा नेपाल प्रहरीको टोली तैनाथ छन् । यत्रो सुरक्ष्Fाकर्मीहरू सडकमा तैनाथ भएपनि तस्करी भने नियन्त्रण हुन सकेको छैन ।
साइकल, मोटरसाइकल, टेम्पो, अटोरिक्शाबाट यो सडकमार्ग भएर सामान ल्याउने, लैजाने गरिन्छ र त्यहाँ रहेका सुरक्षाकर्मी र भन्सार कर्मचारीहरू रकम बुझेर सामानहरू छाड्ने गर्छन् ।