कम्बोडिया, २९ भदौ/सिन्ह्वा
दक्षिण पूर्वी एशियाली देशहरूको सङ्गठन (आसियान) का अर्थमन्त्रीहरूको बैठक कम्बोडियामा शुरू भएको छ । कोरोना भाइरसको महामारीपछिको अर्थतन्त्रबारे छलफल गर्न अर्थमन्त्रीहरूको बैठक आयोजना गरिएको हो ।
बुधवारदेखि शुरू भएको आसियानका अर्थमन्त्रीहरूको यो ५४ औं बैठक हो । बैठकमा अर्थतन्त्रका अन्य विविध आयामबारे पनि छलफल हुने जनाइएको छ । बैठकको उद्घाटन समारोहमा बैठक आयोजक कम्बोडियाका प्रधानमन्त्री सामडेच टेचो हुन सेनले सम्बोधन गरेका थिए । विश्व समुदायले अहिले विकास र अर्थतन्त्रका क्षेत्रमा नयाँ चुनौती र समस्याको सामना गरिरहनुपरेको उनले सो अवसरमा बताएका थिए ।
आसियानमा आबद्ध देशहरूले नयाँ चुनौती र समस्या समाधानका उपायहरू पहिचान गरी अन्य देशलाई त्यसतर्फ डो¥याउनुपर्ने कुरामा उनले जोड दिएका थिए । त्यसैगरी कानूनको शासन, विश्वव्यापीकरण, बहुदेशीय सहकार्य, बहुदेशीय संरचना निर्माण तथा सञ्चालन, व्यापार तथा लगानी, संरक्षणवादजस्ता विषयमा पनि छलफल गर्न उनले सुझाव दिएका थिए ।
सम्मेलनको अध्यक्षता गरेका कम्बोडियाका अर्थमन्त्री पान सोरासाकले दिगो, समावेसी र उदारवादी अर्थतन्त्रको विकासका लागि काम गर्नुपन जोड दिएका थिए । आसियान अन्तर्गत ब्रुनाई, कम्बोडिया, इन्डोनेशिया, लाओस, मलेशिया, म्यान्मा, फिलिपिन्स, सिङ्गापुर, थाइल्यान्ड र भियतनाम पर्दछन् । रासस