बर्खायाममा बिजुली चम्कँदा कहिलेकाहीं ठूलठूला रूखलाई ताकेर बज्र अर्थात् चट्याङ खस्छ । यसरी चट्याङ खस्दा कतिपय रूख सर्लक्कैै ढल्छन् । कुनैमा हाँगाबिंगा छिनाएर भुइँमा खस्छ भने कतिपय बोटलाई चिरेर कप्टेरो पार्छ । कप्टेरो परेका बोटहरू ‘मरी जानु न गरी खानु’को अवस्थामा पुग्छन् । यो गल्र्याम्म लड्न सक्दैन, सर्लक्क सुक्न पनि पाउँदैन र हर्लक्क हुर्किने त सम्भावना नै रहेन । पात पलाएको छ, बाहिरबाट झट्ट हेर्दा सिङ्गो बोट नै हो । जरा एकै छ, बोक्राले बेरिएकै देखिन्छ, तर एउटा सिङ्गो बोटले दिनुपर्ने गुण कप्टेरो परेको बोटले दिन सक्दैन । बोटको जरा र बोक्रा जीवितै भएपनि उन्नति तथा प्रगतिका निम्ति कप्टेको एक चिरा, अर्को चिराको लागि घातक हुन्छ । जति माटो र पानी दिए पनि त्यसले सकारात्मक असर पार्दैन । बरु भित्रभित्रै क्यान्सर भएर धोत्रो हुँदै जान्छ । हाम्रो मुलुकका राजनीतिक दलहरूमध्ये नेपाली काङ्ग्रसेको अवस्था बज्रले कप्टेरो पारेको रूख जस्तै बनेको छ ।
नेपाली काङ्ग्रेस, मानौं कप्टेरो हो । यहाँ थुप्रै चिरा छन् । एउटा चिरा अर्को चिराको लागि अर्थात् एक गुट अर्को गुटका लागि घातक बन्दैछ । एउटा चलायमान दलभित्र फरक मत, गुट, उपगुट हुन सक्छ । यो लोकतान्त्रिक दलको विशेषता हो । हुनुपर्ने त यस्तै हो तर हुनुपर्नेभन्दा फरक किसिमले भएका गतिविधिले समस्या निम्त्याएको छ । आन्तरिक लोकतन्त्रको नाममा अराजकता लोकतान्त्रिक समाजको विशेषता नभई विषाक्त बनाउने कारक तŒव हो । निर्णयपूर्व व्यापक छलफल, निर्णयको क्रममा अल्पमत र बहुमतको अधीनस्थ र निर्णयपश्चात् कार्यान्वयनमा एकरूपता, यसको निम्ति केन्द्रीयता । संसारका कुनै पनि लोकतान्त्रिक दल सञ्चालनको सङ्गठनात्मक मूल मन्त्र हो । सोविपरीत जाँदा जुनसुकै पथ वा वादीका राजनीतिक दल भएपनि त्यहाँ अराजकता जन्मन्छ । अराजकताको रूप नै स्वेच्छाचारिता, अनुशासनहीनता र विधि एवं पद्धति तथा कानूनविहीन अवस्था हो । यो अवस्थामा कोही कसैको मातहतमा रहँदैन । भएपनि मातहतले उपल्लो तहलाई स्वीकार्दैन । उपल्लो तहले पनि मातहतको तहलाई पु¥याउनुपर्ने संरक्षण दिन सक्दैन । मर्यादा, जिम्मेवारी र दायित्व बिर्सिएपछि ‘अरूभन्दा मै ठूलो’ भन्ने भ्रान्ति पर्छ । त्यसपछि स्वघोषित पदोन्नति र कारबाईको शृङ्खला शुरू हुन्छ । नेपाली काङ्ग्रेसमा अहिले यही भइरहेको छ ।
सप्तरीमा संस्थापनइतरका अमरेशकुमार सिंहलाई संस्थापन पक्षको पकड रहेको निर्वाचन क्षेत्र समन्वय समितिले कारबाई ठोकिदियो । केन्द्रीयस्तरमा चर्चा पाएका नेताको नाम विकल्पमा समेत नपठाएर स्थानीय समितिले नै छाटेपछि दलभित्रको घात त्यहाँ छर्लङ्गै देखियो । त्यसैगरी, बारा जिल्लामा दुई छुट्टाछुट्टै समूहले एकअर्कालाई सिध्याउँदै उम्मेदवार सिफारिश गरे । अहिले आएर एक समूहले अर्को समूहका नेतालाई कारबाई गरेको घोषणा सार्वजनिक गरिरहेका छन् । दलको आन्तरिक लडाइँ दलभित्रै हुन्छ । चुनावको मुखमा दलभन्दा बाहिर सडकमा ल्याएर एकले अर्कालाई नाङ्गेझार पार्नु आन्तरिक लोकतन्त्रभित्र कदापि पर्दैन । यहाँको मात्रै कुरा होइन, धनुषा, चितवन, तनहुँलगायत सिङ्गो दलकै अवस्था त्यही छ । अरू दलहरू ‘कि गरी खाऊ, कि मरी जाऊ’ गर्छन् भने नेकाको गति जुट्न पनि नसक्ने र फुट्न पनि नसक्ने ‘मरी जानु न गरी खानु’ छ । त्यसैले उसको पक्षमा जनमत जति धेरै भएपनि अवस्था भने दिनानुदिन ओरालोलाग्दो छ ।