नरेश यादव, पर्सागढी, २६ भदौ/
पर्सागढी युवा स्पोट्र्स क्लबद्वारा आयोजित दोस्रो पर्सा गोल्डकपको दोस्रो दिन आइतवार भएको खेलमा हिमाल युथ क्लब, निजगढ एक गोलले विजयी भएको छ ।
बारा एघार र हिमाल युथ क्लबबीच भएको खेलमा पहिलो मध्यान्तरसम्म दुवै टीमले गोल गर्न सकेका थिएनन् । दोस्रो मध्यान्तरमा हिमाल युथ क्लबको जर्सी नं ७ का समीर तामाङले एक गोल गरी आफ्नो टीमलाई अग्रता दिलाए । खेलको निर्धारित समयसम्म बारा एघारले गोल गर्न नसकेपछि निजगढको एक गोल नै निर्णायक बनेको हो ।
आयोजक क्लबका अध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा पर्सागढी–३ स्थित खेलमैदानमा बितेको शनिवारदेखि प्रतियोगिता जारी छ । आइतवारको खेलमा हिमाल युथ क्लबका समीर तामाङ उत्कृष्ट खेलाडी घोषित भए । उनलाई वडाध्यक्ष सुकमान तामाङले नगद पाँच सय रुपैयाँसहित सम्मान गरेको आयोजक क्लबका सचिव हरि थापामगरले जानकारी दिए ।