मुलुक नदी कटान तथा डुबान समस्याबाट आक्रान्त छ । विशेषगरी बर्खा शुरू भएपछि यो समस्या निम्तिने गर्छ । चुरे मुहान भएका अधिकांश नदी–खोला बर्खाको बेला उर्लने र बर्खा नहुँदा सुख्खा रहन्छन् । त्यसैले समस्या पनि बर्खाकै बेला हुने गरेको हो । साना खहरेहरूले पनि बर्खा लागेपछि हिंसक रूप लिन्छन् । यस्ता बर्खे नदी, खोलाहरूले खेतीयोग्य जमीनलाई मरुभूमिमा परिणत गरिरहेका छन् । यसैगरी नयाँ कटान तथा डुबान हुँदा खेतीबाली नष्ट हुनुका साथै कैयन बस्ती विस्थापित हुने क्रम जारी छ । डुबान–कटान समस्या न्यूनीकरणका लागि तीनै तहका सरकारले बजेटको ठूलो हिस्सा तटबन्धनमा लगानी गरिरहेका छन् । अन्य विकास निर्माणको काम त पछि परेको छ नै, यसरी गरिने तटबन्धहरू पार्टीका नेता कार्यकर्ता र हर्ताकर्ताहरूका लागि गोजी भर्ने स्रोत बनेको छ । पहिलो कुरा त तटबन्धको लागत स्टिमेट, पर्ने मूल्यभन्दा बढी बनाइन्छ । दोस्रो कुरा नदीको प्रकृति अनुसार नियन्त्रण विधि लागू गरिइँदैन । मेसिनरी वाल वा आरसिसी चाहिने स्थानमा ग्याबियन राखेर तटबन्ध गर्दा पानीको एकै झोकाले तटबन्ध लडाइदिन्छ वा पुरिदिन्छ । यसो हुँदा समस्या फेरि जस्ताको त्यस्तै । धेरैलाई पु¥याउन कनिका छरेझैं बजेट टुक्रयाउँदा आरसिसी वा मेसिनरी वाल निर्माणमा रकम पुग्दैन ।

हरेक वर्ष एकै स्थानमा एउटै समस्याका लागि बजेट खन्याउँदा पनि समाधान भएको छैन । मुख्य कुरा त तराई– मधेसको अधिकांश बर्खे नदी, खोलाहरूमा बहाव अनुसार क्षति भएको स्थानमा क्रमशः आरसिसी वाल निर्माण गर्दै जानु दीर्घकालीन समाधानको उपाय हो । यसको निम्ति सबै स्थानमा एक साथ काम गर्न रकम पुग्दैन । यसको विकल्प कृत्रिम र प्राकृतिक विधि अँगालेर नदी कटान तथा डुबानको जोखिम न्यूनीकरण गर्न सकिन्छ । जहाँ मध्यवर्ती क्षेत्र अर्थात् दुवैतर्फले उपयोग नगर्ने साँध–सिमाना क्षेत्र हुँदैन त्यहाँ सीमा मिच्ने क्रम बढ्छ । आबादी क्षेत्रमा बगेका नदी–खोला र खेतीबाली लगाउने जमीनबीमा दशगजा तथा मध्यवर्ती क्षेत्र हुनुपर्छ । नदी तथा खेतीपातीबीचको केही मिटर मध्यवर्ती जमीनमा बेत, बाँस, अम्रिसोलगायत भूक्षय रोक्ने किसिमका बोटबिरुवा लगाउन र उक्त क्षेत्रमा चरिचरन पूर्णरूपमा बन्देज गर्न जरूरी छ । यसको निम्ति तटबन्धपछि निश्चित जमीन छोड्नुपर्ने र त्यसमा बोटबिरुवा लगाउनुपर्ने बाध्यताकारी व्यवस्था गरिनुपर्छ ।

नदीको नक्शा तथा बहने क्षेत्र छ । त्यसैगरी निजी जमीनको पनि नक्शा छ । निजी जमीनले केही भाग नदीतर्फ छाड्ने र नदीको पनि केही भाग निजी जमीनतर्फ छाडेर तटबन्ध गरे दुवैबीच वृक्षारोपण गर्न जमीन निस्कन्छ ।   जमीनको सतहमा वृक्षारोपण हुने हुँदा भल–बाढीले बिरुवा लतारिएला, तर नदी कटानको जोखिम धेरै कम हुन्छ ।  नदीमा ओभर–फ्लो भएर बाढी आए पनि बोट–बिरुवामा फिल्टर भएर आबादीतर्फ पस्ने हुँदा पाँगो माटो वा गेग्रानहरूले बाली पुर्र्न पाउँदैन । अझ महŒवपूर्ण पक्ष, जङ्गल तथा बोटबिरुवाको आड पाएमा ग्याबियन तटबन्ध भत्कने, फुट्ने वा भासिएर पुरिने डर हुँदैन । तर हामी यो विधि प्रयोग गर्दैनौं । नदी, खोलाको डील तथा किनारा चरिचरन क्षेत्रको रूपमा प्रयोग गरिरहेका हुन्छौं । छाडिएको जमीन वृक्षारोपणका लागि होइन त ठानेकै छौं, नदीको भागसमेत मिचेर खेती लगाउँदैछौं । त्यसैले त नदीले पनि खेतीयोग्य जमीन मिच्दै आफ्नो क्षेत्र विस्तार गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here