प्रस, रौतहट, १८ भदौ/
रौतहटको कटहरिया नगरपालिकाका प्रमुख अजयप्रकाश जैसवालले ठेक्का लिई योजना अलपत्र पार्ने ठेकेदारलाई काम सम्पन्न गर्न अन्तिमपटक आग्रह गरेका छन् । जिल्लाको पश्चिमी भेगमा पर्ने कटहरिया नगरपालिकाका प्रमुख जैसवालले कटहरिया नगरपालिकाको भवन निर्माणदेखि ढल निकास, बजार भवन, कोल्ड स्टोरलगायतका कामको ठेक्का लिएका निर्माण व्यवसायीहरूलाई काम नगरे आवश्यक कारबाही गर्ने चेतावनी दिएका हुन् ।
नगरप्रमुख जैसवालले ती कार्यहरूको ठेक्का सकार गरेर विगत दुई वर्षदेखि काम गर्न नसकेका निर्माण व्यवसायीहरूविरुद्ध कठोर बन्दै उक्त चेतावनी दिएका हुन् ।
आश्रय निर्माण सेवा, साह निर्माण सेवालगायतका विभिन्न निर्माण कम्पनीहरूले विगतका वर्षमा ठेक्का सकार गरेर काम सञ्चालन नगरेकोमा दुःख व्यक्त गर्दै नगरप्रमुख जैसवालले अन्तिमपटक सञ्चारकर्मीहरूमार्फत निर्माण व्यवसायीलाई काम सुचारु गरेर निर्माण सम्पन्न गर्न आग्रह गरेका हुन् ।
विकास निर्माण कार्यमा ढिलासुस्ती गरी नगरलाई हानिनोक्सानी पु¥याउँदै आएका निर्माण व्यवसायीहरूसँग पटक–पटक छलफल गरेर आग्रह गर्दा पनि उनीहरूले अटेरी गर्न थालेपछि बाध्य भएर सञ्चारकर्मीहरूमार्फत अन्तिमपटक आग्रह गरेको नगरप्रमुख जैसवालले बताए । हाम्रो आग्रहलाई बेवास्ता गरियो भने नगरपालिकाले कडा कारबाही प्रक्रिया अगाडि बढाउन बाध्य हुने उनले बताए ।
चार वर्षअघि कटहरिया बजार व्यवस्थापनको लागि लिएको ठेक्कामा जग उठाएर त्यसै अलपत्र छाडिएको छ । नगरपालिका भवन निर्माण कार्य त्यसै अधूरो छाडिएको छ । छेदी चोकमा कोल्ड स्टोर भवनको जग मात्रै उठाइएको छ । त्यस्तै, जनता आवास कार्यक्रम अलपत्र पारिएकोलगायत विभिन्न एक दर्जनभन्दा बढी योजना अलपत्र पारिएको अवस्थामा पटक–पटक टेबुल वार्ता गरिए पनि सम्बन्धित निर्माण कम्पनीले बेवास्ता गरेको नगरप्रमुख जैसवालले आरोप लगाए ।
निर्माण व्यवसायीहरूले ढलको लागि साइट क्लियर गर्न भनेकोमा तत्कालै साइट क्लियर गरिएको तर काम गर्न अझै आनाकानी गरिरहँदा सञ्चारकर्मीहरूमार्फत जानकारी गराइएको उनले स्पष्ट पारे ।