प्रस, निजगढ, १७ भदौ/
नेपाल फोटो पत्रकार महासङ्घ, बाराको शुक्रवार निजगढमा दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ। उक्त अधिवेशनबाट अध्यक्ष दिवाकर भण्डारी, उपाध्यक्ष श्याम गुप्ता, सचिव इन्दीप कोइराला, कोषाध्यक्ष प्रह्लाद तिमल्सिना, सदस्यहरूमा प्रदीप गौतम, शिवशङ्कर पटेल, राधेश्याम पटेल, नरेश गुप्तालगायत नौ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको हो।
कार्यक्रममा प्रमुख अतिथि पत्रकार गोकुल घोरसाइनेले फोटो पत्रकारिता विधा विशुद्ध प्राविधिक रहेकोले लेखन पत्रकारिता क्षेत्रलाई विश्वसनीय बनाउन फोटो पत्रकारिताको विशिष्ट स्थान रहेको बताउँदै समयानूकुल तालीम र अभ्यासको निरन्तरताबाट नै फोटो पत्रकारिताको महत्व अझै बढ्ने बताए। हजार शब्दमा लेखिने समाचार एउटै फोटोले समेट्न सक्ने कैयौं उदाहरण रहेकाले फोटो पत्रकारिताको महत्व, विश्वसनीयता विश्व पत्रकारिता क्षेत्रमा छुट्टै रहेको समेत उनले बताए।
महासङ्घको सल्लाहकारमा केन्द्रीय सदस्य एवं निवर्तमान अध्यक्ष जीतलाल श्रेष्ठ, गोकुल घोरसाइने, रेशम तिवारी, लक्ष्मी साह, प्रकाश लम्साल, सिकेन्द्र पासवान, फैजुल्लाह आलम रहेका छन्। सो अधिवेशनको बन्दसत्रले वार्षिक तथा आर्थिक प्रतिवेदन पास गर्दै महासङ्घको भवन निर्माणका लागि निजगढ नगरपालिकासँग जग्गाप्राप्तिका लागि यसअघि गरिएको निवेदनमा नगरपालिकालाई गम्भीर भई दिन आग्रह गर्ने निर्णयसमेत गरेको छ।
भवन निर्माण भएपछि फोटो पत्रकारितासम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधिले निजगढलाई छुट्टै पहिचान दिन सक्ने अपेक्षासमेत महासङ्घ, बाराले गरेको छ।
कार्यक्रम केन्द्रीय सदस्य जीतलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो।