प्रस, सिम्रौनगढ, १५ भदौ/
सिम्रौनगढ नगरपालिकाको सानो इँटवाल रोडस्थित मालपोत कार्यालय, सिम्रौनगढको बुधवार उद्घाटन भएको छ ।
सो कार्यालयको भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री शशी श्रेष्ठले उद्घाटन गरेका थिए । उनले भाषण र लेखाइभन्दा पनि जीवनमा परिवर्तनको अनुभूति गर्ने काम गर्न चाहेको बताए । सिम्रौनगढ नपामा मालपोत कार्यालय सात वर्षअघि २०७२ असोजमा स्थापना भएको थियो । उनले आजदेखि सञ्चालनमा आएको मालपोत कार्यालयको सेवाले सिम्रौनगढवासीलाई फाइदा पुग्ने दाबी गरे ।
संविधानसभा सदस्य डा गोपाल ठाकुरले पौराणिक पुस्तकहरू रामायण, महाभारत र पुराणहरूमा काशी, बनारस, मिथिला उल्लेख छन् र सोही मिथिला तिरहुतको राजधानी सिम्रौनगढ भएको बताए । उनले सिम्रौनगढको पहिचान विगतका पञ्चायती र राणाहरूले लोप गराएको आरोप लगाए ।
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका महानिर्देशक पीताम्बर घिमिरे, सिम्रौनगढ नगरपालिकाका प्रमुख किशोरीप्रसाद कलवार, संविधानसभा सदस्य शिवचन्द्र कुशवाहा, जीतपुरसिमरा नगरपालिकाका प्रमुख राजन पौडेल, देवताल गाउँपालिकाका अध्यक्ष उदय यादव, आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष जवाहर साह, पचरौता नगरपालिकाका प्रमुख जलान्धर सिंह, सिम्रौनगढ नगरपालिकाका उपप्रमुख नजबु शेहर, प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवाल, मालपोत कार्यालय, बाराका प्रमुख गोपाल बराल, नापी कार्यालय, बाराका प्रमुख श्रीचन्द दास, नापी कार्यालय, सिम्रौनगढका प्रमुख रामप्रमोद राउतलगायतको सहभागिता थियो ।