• सञ्जय साह मित्र

चाडपर्वको शुरूआत कसरी भयो भन्ने विषयमा आप्mनै किसिमका मान्यताहरू छन् । सामान्यरूपमा हाम्रो समाजमा प्रचलनमा रहेका चाडपर्व धार्मिक मान्यतामा आधारित रहेको छ । चाडपर्वको उद्भवमा धार्मिक मान्यताले काम गरेको देखिन्छ । धर्मको आडमा चाडपर्व मनाइएका हुन् । सोझोरूपमा यो भनाइ रहेको भए पनि र चाडपर्वमा विभिन्न देवदेवीको पूजा गरिने भए पनि कतिपयले चाडपर्वका वैज्ञानिक मान्यता वा महŒवबारे पनि प्रकाश पार्दछन् । चाडपर्वको धार्मिक, आध्यात्मिक तथा वैज्ञानिक महŒव र मान्यता त छँदैछ, सामाजिक महŒव पनि कम छैन ।

हाम्रा चाडहरूको सामाजिक महŒव पनि छ । अहिले नेपाली समाजमा मनाइने गरेका चाडपर्वहरूकै उदाहरण लिन सकिन्छ । तीजमा महिलाहरूले रमाएको कसले नदेखेको होला ? पहिले जुन धार्मिक मान्यताले मनाइने गरिन्थ्यो, आज पनि सोही मान्यताले मनाइन्छ तर यसको सामाजिक स्वरूपमा निकै भिन्नता आएको छ । पुरानो समयमा यस पर्वले महिला अधिकारको परम्परागत सामाजिक वकालतलाई स्थापित गरेको थियो । सम्भवतः पहिले पनि यो पर्व समूहमा मनाइन्थ्यो । अहिले त झन् समूहमैं मनाइन्छ । व्रत बसेका महिलाहरू एक साथ नाचगान र रमाइलो गर्छन् । अघिल्लो दिनसम्म धेरै दिनदेखि दर खाने भन्दै एक ठाउँमा भेला हुने, दुःखसुखका कुरा गर्ने, नाचगान र रमाइलो गर्ने चलन चलिसकेको छ । कम्तीमा दश दिन पहिलेदेखि नै दर खाने कार्यक्रम औपचारिकरूपमा गरिन थालेको छ । आजभोलि त विभिन्न औपचारिक तथा अनौपचारिक सङ्घ–संस्था पनि संलग्न हुन थालेका छन् । यसले सामाजिकतालाई झन् बलियो बनाउँदै लगेको छ र अप्रत्यक्ष रूपमा जन–विस्तारमा भूमिका खेलेको छ ।

खेतीपातीको समय असार र साउनमा खासै धेरै पर्व हुँदैन । सबैले बुझेका छन्, असारमा यदि धेरै पर्व हुने हो भने खेतीपातीमा असर गर्छ । यसै गरी साउनको पहिलो आधासम्म पनि चाडपर्व पर्दा खेतीपातीमा नोक्सानी पर्ने डर हुन्छ । मधेसी लोकजीवनमा एउटा भनाइ प्रचलनमा छ ः आई लक्पाँचे सब पबनी नाचे । यसको तात्पर्य यो हो कि साउन शुक्ल पञ्चमीको तिथि आएपछि चाडपर्वहरू नजीकिन थाल्दछन् । हो, यसै कारण कतिपयले साउन शुक्ल पक्षको पञ्चमी तिथि अर्थात् नागपञ्चमीलाई वर्षको पहिलो पर्वको रूपमा मानेको पाइन्छ । त्यसपछि हरेक हप्ता कुनै न कुनै पर्व परिरहन्छ । समाजमा चाडपर्वको ओइरो लाग्ने भनेको भदौ शुक्ल पक्षदेखि हो । अहिलेदेखि कात्तिक महीनामा छठ नसकिएसम्म हरेक हप्ता वा कुनै हप्तामा तीन–चारवटा पर्वसम्म पनि पर्छ ।  यस्ता चाडपर्वले सामाजिक जीवनलाई रसिलो र गतिशील बनाएको पाइन्छ । चाडपर्वमा समाज सक्रिय हुन्छ, सामाजिक गतिविधि सक्रिय हुन्छ र अर्थतन्त्र पनि चलायमान हुन्छ ।

हाम्रा चाडपर्वहरू अनेक प्रकृति र प्रवृत्तिका भए पनि सबैले सामाजिक एकताकै सन्देश दिएका छन् । अझ चाडपर्वको विस्तार हुँदै जाँदा र सर्वसाधारणको खर्च गर्ने क्षमता पनि विस्तार हुँदै जाँदा चाडपर्वहरूले सामाजिक एकताको भावना विस्तार गरेको पनि देखिएको छ । पहिले जुन पर्व कुनै कारणले कम मानिसले मान्दथे, अहिले त्यही पर्व धेरै मानिसले मान्न थालेका छन् भने चाडपर्व मान्नेहरूबीच सहकार्य देखिएको छ । घरभित्र नै किन नहोस्, यदि चाडपर्व मनाइन्छ भने त्यसलाई मान्ने वा मनाउन चाहनेलाई मान्ने र नमान्ने सबैले सम्भव भएसम्म सुविधा दिन खोज्दछन् । आजभोलि चाडपर्व मनाउन वा मान्न मानिसहरू अर्काको भर पर्न चाहँदैनन् । आफैं सक्षम छु र अरूभन्दा बढी सक्षम छु भन्ने किसिमले प्रतिस्पर्धा नै रहेको देखिन्छ । अझ आइमाईले मात्र मान्नुपर्ने पर्वमा महँगा कपडा तथा गहना प्रदर्शन गर्ने एक किसिम होड नै हुन्छ र एक अर्कोलाई देखाउन पनि समाजमा भेला हुन्छन् । यद्यपि सबै पर्वमा यस्ता सामाजिक प्रकृति भएकोमा दुई मत हुनु नपर्ने हो ।

पहिले क्षमता थिएन वा चलन थिएन तर अहिलेजस्तो पर्वलाई फेशन–शोको रूपमा उपयोग गर्ने प्रवृत्ति भने थिएन । पहिले त चाडपर्व मनाउन आर्थिक क्षमता पहिले आउँथ्यो । अहिले घरभन्दा बाहिर मनाइने चाडपर्वमा आर्थिक क्षमता गौण देखिन्छ । यसको कारण यो पनि हो कि पहिरनमा मानिसको ध्यान गइसकेको छ । देखावटी कुरालाई महŒव दिने चलन विस्तार भइरहेको छ । तर यसले एक किसिमले समाजवादलाई पनि बढावा दिएको छ । अहिले सामान्यतया कुनै सामूहिक चाडपर्वमा पुग्ने हो भने पहिरनले गर्दा शायदै कोही विपन्न देखिन्छ । यसको अर्थ यो पनि हो कि झन्डै सबै समान देखिन थालेका छन् । समानरूपमा रमाउँछन्, मनाउँछन् भने सबै समान भए र समाजवाद हुने भइहाल्यो । अन्यथा अर्थ नलागेमा चाडपर्वको चमकधमकमा समाजवाद आइसकेको छ । अहिले खुलेका केही दलहरूले जसरी समाजवाद नाममा जोड दिएका छन् र कतिपय पुराना दलहरूले पनि समाजवादलाई लक्ष्य बनाएका छन्, यसले समाजवादको व्यावहारिकता पर धकेलिंदै गए पनि सोही पहिरनामा समाजवाद आइसकेको छ । अन्य समयमा नभए पनि चाडपर्वको प्रदर्शनमूलक पहिरनले सबैलाई पुगिसरी आएको मनोविज्ञानको प्रकटीकरण भएको छ ।

अहिलेको समाज–मनोविज्ञान यस किसिमको विकास भइसकेको छ कि चाडपर्व एउटा माध्यम हो, जसले मीठो खानेकुरा खान दिन्छ र राम्रो लुगा लगाउन दिन्छ । चाडपर्वले कामबाट आराम दिने, एकै प्रकृतिको कामबाट केही फरक काम गर्नुपर्ने बनाउने र केही हदसम्म आराम दिने पनि हुन्छ । अर्को महŒवपूर्ण पक्ष के हो भने चाडपर्वले मनोरञ्जन पनि दिन्छ । एउटा सामान्य व्यस्त दैनिकीभन्दा चाडपर्वको दिनको दैनिकीले मानिसलाई पुनर्ताजगीको अनुभूति गराउने हुनाले पनि चाडपर्वमा हाम्रो समाज बढी रमाउन खोजेको हो । एकसाथ चाडपर्वले मानिसलाई धेरै कुरा दिने गरेको छ ।

कतिपयले आरोप लगाउँछन्–पहिलेभन्दा समाज बिग्रिरहेको छ, समाजमा अन्याय–अत्याचार बढेको छ, अनाचार र दुराचार पनि बढेको छ, मानिस बढी लोभी भएका छन्, धनका लागि जे पनि गर्न तयार छन्, तर धर्मकर्ममा फेरि मानिसको रुचि बढेको छ । यी सबै आरोपलाई गलत त भन्न सकिन्न । समाजमा अपराधले नयाँ रूप धारण गरेको पनि सही हो । यति हुँदाहुँदै पनि धर्म वा धार्मिक गतिविधिले समाजलाई हानि हुने कामलाई केही हदसम्म रोकेको भने यथार्थ हो । धर्म गरिरहेको मानिस अन्याय गर्न वा समाज तथा धर्मले भनेको नराम्रो काम (पाप) गर्न खोज्दैन । चाडपर्वहरूको मान्यतामा सम्भव भएसम्म चल्ने हो र चलिरहेका पनि छन् मानिस । अझ नवीन मान्यताहरू मानिसले नै निर्माण गरिरहेका छन् । धर्मकर्ममा रमाउन खोजिरहेका छन् वा धार्मिक प्रदर्शनमा भाग लिइरहेका छन् । जुनसुकै धार्मिक गतिविधि होस्, सबैमा मानिसको सहभागिता र सक्रियता, खासगरी युवाहरूमा धार्मिक भावना र धार्मिक प्रवृत्ति निकै बढेको छ ।

चाडपर्वहरू आस्था र अध्यात्मका प्रतीक हुन् तर वर्तमान समाजले चाडपर्वलाई यत्तिमैं सीमित राखेको पाइँदैन । यसभन्दा फरकरूपमा सामाजिक एकता, आपूm सुखी र खुशी हुँदै गएको देखाउने माध्यम, मनलाई शान्ति दिने साधन तथा गाउँटोलका मानिस एक ठाउँमा भेला भई भेटघाट गर्ने, कुनै सामाजिक समस्यामा छलफल गर्ने र केही निष्कर्ष निकाल्ने माध्यम पनि बनेका छन् चाडपर्व । मनलाई शान्ति दिने र मनभित्र सन्तोष उमार्ने काममा पनि चाडपर्वले ठूलो भूमिका खेलेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here