प्रस, परवानीपुर, १२ भदौ/

पर्साका १४ वटा स्थानीय तहमध्ये एक हो– बहुदरमाई नगरपालिका ।

वीरगंज र पोखरियाको बीचमा रहेको यस नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हुन्, विदुर उप्रेती । निमित्तको कार्यभार सम्हालेको अढाई वर्ष बिते पनि उनको सरुवा वा उनको ठाउँमा प्रमुख प्रशासकीय अधिकृत आएका छैनन् । उनी नगरपालिकाको विकासमा बाधक बन्दै गएको नगरवासीको गुनासो छ । उनको नगरपालिकाबाट वितरण हुने हरेक बजेटमा कमिशन खोज्ने बानीले नगरपालिकाको विकासमा बाधा तथा समस्या भइरहेको बहुदरमाई नपाका एमाले नेता शिव पटेल बताउँछन् ।

“हाकिम साहेबलाई एक सातादेखि जनताले खोजिरहेको छ, तर उहाँ कार्यालय आउनुभएको छैन,” उनले भने, “हाम्रै पार्टीबाट निर्वाचित बोर्ड सदस्यहरूले उहाँलाई विभिन्न बजेट तथा योजनाको बारेमा हिसाबकिताब माग्दा उहाँ नाजवाफ भएपछि पन्छिदै आउनुभएको छ ।”

उनको सरुवा तीन महीनाअघि नै भए तापनि हालको जनता समाजवादी पार्टीबाट निर्वाचित नगरप्रमुख सिंहासन साह तेलीले उनको सरुवा थमौती गराएका छन् ।

नगरपालिकामा अहिले पनि निप्रप्रअ उप्रेतीले अनियमितता गरिरहेको आरोप छ । उप्रेतीकै कारण बहुदरमाई नपामा विकास निर्माण काममा नकारात्मक असर परिरहेको नगरवासीले जनाएका छन् ।

निमित्त प्रप्रअ उप्रेतीले बजेटको ३० प्रतिशत लिएर जनप्रतिनिधिको बजेटको काम पनि आफनो जिम्मामा गराउने गरेको गाउँलेले बताएका छन् । “हाकिम साहेबलाई कुनै पनि काममा पैसा चाहिएको छ, नगरको विकाससँग कुनै मतलब छैन,” गाउँलेहरू भन्छन्, “कमिशनकै खेलको कारण बहुदरमाई नपामा रहेको एक मात्र नमूना विद्यालयमा दुई वर्षदेखि करीब तीन करोड रकम निकासा नगर्दा फ्रिज भएर फिर्ता भएको छ ।” शिक्षाको मन्दिर नमूना माविको विकासमा निप्रप्रअ बाधक बनेको योभन्दा ठूलो उदाहरण के हुन सक्छ, गाउँलेहरूको भनाइ छ ।

नगरपालिकाले बजेट नपठाउँदा अहिले विद्यालयका शिक्षकहरूलाई तलब खुवाउन र भौतिक पूर्वाधार विकास निर्माणमा पनि समस्या भएको विद्यालयका प्रधानाध्यापक मनोजकुमार श्रीवास्तवले बताए । उनले विद्यालय व्यवस्थापन समितिले पटक–पटक नगरपालिकासँग बजेट निकासको लागि पत्राचार गर्दा पनि निकास नभएको आरोप लगाए ।

यस विषयमा नपाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उप्रेतीसँग कुरा गर्दा आफूले कुनै पनि बजेटमा कमिशन माग्ने नगरेको दाबी गर्दै यदि कुनै प्रमाण फेला परे आफू दण्ड सजाय भोग्न तयार रहेको बताए । उनले विद्यालयको बजेट सही समयमा माग नगर्दा फ्रिज भएको तर्क दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here