प्रस, वीरगंज, ११ भदौ/

वन तथा वातावरण मन्त्री प्रदीप यादवले वीरगंज महानगरपालिका वडा नं २० हरपतगंजमा शनिवार सडक निर्माणको शिलान्यास गरेका छन् । वीरगंज–२० हरपतगंजको सुक्खा बन्दरगाह सडकखण्डदेखि मनियारी, इटियाही, भवानीपुर नहर सडक भएर जगरनाथपुर गण्डक नहर सडकखण्डदेखि राजमार्गसम्मको सडक कालेपत्रे र नाला निर्माण योजनाको आज शिलान्यास भएको हो ।

कार्यक्रममा मन्त्री यादवले सडक विकासको पहिलो आधार भएको बताए । उनले सडक निर्माण भएपछि अरू स्वतः विकास हुँदै जाने भएकोले सडक नै विकासको पहिलो ढोका भएको बताए । उनले सो क्षेत्रका जनता सडक सञ्जालसँग जोडिने भएकोमा खुशी व्यक्त गरे । सडक निर्माणपश्चात् सो क्षेत्रका किसानहरूको उत्पादनले सहजरूपमा बजार पाउने पनि मन्त्री यादवले बताए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक डिभिजन कार्यालय, हेटौंडाले सो सडकखण्डको निर्माण गर्न लागेको हो ।

करीब साढे छ किलोमिटर लम्बाइको कालोपत्रे सडक २०८१ पुस मसान्तभित्र सम्पन्न गर्ने गरी रु २० करोड ५७ लाख २१ हजारमा हिम/सगरमाथा जेभी, वीरगंजले ठेक्का सकारेको मन्त्री यादवका उपस्वकीय सचिव निखिल वर्णवालले जानकारी दिए । कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, प्रदेशसभा सदस्य करिमा बेगम, जन्नत अन्सारी, वीरगंज–२० का अध्यक्ष रामकिशोर सिंह परागलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here