प्रस, परवानीपुर, १० भदौ/
ज्येष्ठ नागरिक सङ्घ, पर्साको आयोजनामा स्वास्थ्यसम्बन्धी परामर्श कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।
वीरगंज महानगर–१५ लक्ष्मणवास्थित ज्येष्ठ नागरिक पार्कको सभाहलमा ‘वृद्धावस्थामा स्नायु रोग रोकथाम’ सम्बन्धी स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा स्नायु रोग विशेषज्ञ डा अभिषेक चतुर्वेदीले स्नायु रोग लाग्नुका कारण, यसका लक्षण, उपचारको विधि र रोगबाट बच्ने उपायबारे परामर्श दिएका थिए ।
ज्येष्ठ नागरिक सङ्घ, पर्साका अध्यक्ष जगदीशप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष पशुपति विक्रम शाह, उपाध्यक्ष उषा शाह, सचिव जुम्माद्दीन शेख हवारी, सहसचिव बैधनाथ कुशवाहा, सदस्य दीपकराज शर्मा, उदयराज शर्मालगायतको सहभागिता रहेको संस्थाका सदस्य विनयराज गौतमले बताए ।
कार्यक्रममा चिकित्सक डा चतुर्वेदीले वृद्धावस्थामा सबैभन्दा बढी आउने समस्या नै पक्षघात (ब्रेन ह्यामरेज) रहेकोले त्यसबाट बच्न उचित खानपान र जीवनशैली, व्यायाम, योगालगायत गर्नुपर्ने सुझाव दिएका थिए ।
वृद्धावस्थामा गलत खानपानका कारणले रक्तचाप बढ्ने र त्यसपछि रोगहरू लाग्ने गरेको उनले औंल्याएका थिए । उनले वृद्धावस्थामा सानो घाउ, खटिरा अथवा रोगलाई बेलैमा उपचार गराउनुपर्ने नत्र सानो रोगले ठूलो रोग निम्त्याउन सक्ने बताए ।