• राजेश मिश्र

 ‘हे भक्त र तिमीले जसको शिरमा हात राख्छौ, त्यो भस्म हुनेछ । तथास्तु !’ भगवान् शिवले भक्तको रूप धारण गरेका दलपतिको जीउमा जल छर्केर वरदान दिनुभयो ।    

निर्वाचन केही महीना मात्र बाँकी थियो । दल प्रवेश कार्यक्रम जोडतोडले चलिरहेको थियो । दलमा आबद्ध शीर्षजनलाई दलको प्रचारप्रसार र दल प्रवेश कार्यक्रमको चापले भ्याइनभ्याइ थियो । सँगसँगै मानसिक तनाव उत्तिकै थियो । किनभने पाँचजना नयाँ कार्यकर्ता दलमा भर्ना हुन्थे भने पचासजनाको हुल दल छाडेर अर्को दलमा प्रवेश गरिरहेका हुन्थे । दिनभरि करायो दक्षिणा हरायो भनेझैं नतीजा शून्य परिश्रमले दलको आकार दिन प्रतिदिन खुम्चिंदै गइरहेको थियो ।

एक दिनको कुरा हो दल प्रवेश कार्यक्रम चलिरहेको थियो । नवप्रवेशीहरूलाई टीकामाला लगाइरहेका बेला एक कार्यकर्ताले स्वाँस्वाँ गर्दै दलपति नजीक आएर कानमा खुसखुस गर्दै भन्यो, “नेताजी एउटा दुःखद खबर छ । हाम्रो दलमा प्रबुद्ध वर्गको श्रेणीमा दरिएका नेताहरू अर्को दलमा टीकामाला मात्र लगाइरहेका छैनन्, अपितु तपाईंलाई तथानाम गाली गरिरहेका छन् ।” ती कार्यकर्ताले दलपतिलाई सामाजिक सञ्जालमा प्रसारित भइरहेको प्रत्यक्ष प्रसारण देखायो । दलपतिलाई ह्दयाघात

०००

रातिको दश बजिरहेको थियो । दलपति आराम गरिरहेका थिए । ह्दयाघात अहिले सामान्य भइसकेको थियो । आज चिकित्सकको टोली र एम्बुलेन्स साथमा नभएको भए अनहोनी हुन सक्थ्यो भन्दै दलपति चिन्तामग्न थिए । जीवन जोगिएकोले भगवान्प्रति कृतज्ञता प्रकट गरे । जालझेल गरेर अकुत सम्पत्तिको मालिक बनेका दलपतिलाई मृत्युको भयले सताइरहेको थियो । जनताको नजरमा उनको र उनको दलको चरित्र उदाङ्गो भइसकेको थियो । स्थानीय तहको परिणामले भुइँचालोको धक्काले भग्नावशेषमा परिणत भएको महलझैं उनको दलको हालत भइसकेको थियो । त्यस कारण सत्ताभोगी दलपति तनावमा थिए । कार्यक्रममा जाँदा चिकित्सकको टोली र एम्बुलेन्ससँगै लिएर जान्थे ।

बिहान उठ्ने बित्तिकै ओछ्यानमैं भगवान्लाई स्मरण गर्ने सत्कर्म तथा राशि हेर्ने मनोभाव मनमा अङ्कुरित भइसकेको थियो । आज बिहान उनी आफ्नो राशिमा स्वास्थ्यसम्बन्धी गडबडी पढेका थिए । जुन सत्य साबित भयो । धन्न चिकित्सकको टोली सँगै भएकोले प्राण जोगियो । वर्षभरिको राशिफल जान्ने उद्देश्यले टेबलमा रहेको मोबाइल हातमा लिए ।

युट्युब खोलेसँगै भगवान् शिव र दैत्यराज भस्मासुरबीच संवाद चलिरहेको भिडियो प्रकट भयो । यो दृश्य उनले स्क्रोल गरेनन् । त्यसैमा अड्किए । भगवान् शिवले भस्मासुरलाई वर माग्न भनिरहेका थिए । दलपति दत्तचित्त भएर दृश्य हेरिइरहे । भस्मासुरले भगवान् शिवको तपस्या गरेदेखि वर पाएसम्मको पूरै कथा एकाग्र भएर हेरे । भस्मासुरझैं भगवान् शिवको तपस्या र उपासना गरी वरदान प्राप्त गर्ने, शक्तिशाली बन्ने र सबैलाई तह लगाउने उनले निधो गरे ।

०००

देश र विदेशबाट विद्वान् ज्योतिषीहरूलाई बोलाइयो । ज्यातिषीहरूले शनिको साढेसातीदेखि मङ्गल, बुद्ध, वृहस्पति, राहु र केतुलगायत सम्पूर्ण ग्रह एकसाथ कुपित भएको कुरा अवगत गराए । उता ग्रह शान्ति हेतु घरमा पूजापाठ र हवन शुरू भयो । यता दलपतिजी भगवान् शिवको तपस्या गर्नका लागि मुस्ताङ जिल्लाको अन्नपूर्ण हिमाल निकट मुक्तिनाथधामको लागि प्रस्थान गरे ।

दलपतिलाई वरदान प्राप्त गर्न यति हतार थियो कि हेलिकप्टर चार्टर गरी मुक्तिनाथधाम पुगे । १०/१२ जना कार्यकर्ता पनि साथमा थिए । दलपति गेरुवा वस्त्र, त्रिपुण्ड्र चन्दन, रुद्राक्षको माला, त्रिशूल र डमरुसहित सुसज्जित भई तपस्यामा बसे । उनी ‘ऊँ नमः शिवाय’ मन्त्र उच्चारण गर्दै भगवान् शिवको आराधनामा लीन भए ।

०००

दलपतिको यतिविघ्न तपस्या देखेर माता पार्वतीले पति परमेश्वर भगवान् शिवसँग सोध्नुभयो, “हे जगत्पिता १ यस घोर कलियुगमा यो को हो, जसले भस्मासुरझैं तपाईंको तपस्या गरिरहेको छ ?”

प्रतिउत्तरमा भगवान् शिवले भन्नुभयो, “हे देवी ! मृतलोकमा थुप्रै देशमध्ये एउटा देश नेपाल पनि छ । त्यहाँको संविधान अनुुसार प्रत्येक पाँच वर्षमा निर्वाचन हुने नियम छ । पाँच वर्षअघि यो तपस्वीले ‘तुम्ही हो माता, तुम्ही पिता हो’ भन्दै मतदाताहरूको ह्दयमा वास बस्न सफल भयो । दलबलसहित निर्वाचित पनि भयो । पछि आफ्नै दलका कार्यकर्तालाई पाखा लगाउँदै तस्कर, अपराधी र ठग प्रवृत्तिका व्यक्तिहरूलाई दलमा समाहित गर्दै गयो । त्यतिमात्र कहाँ हो ! मतदातासँग गरेको वाचा पूरा गर्नुको साटो झूट र भ्रमको खेती ग¥यो । अहिले यसको दलमा आउनेभन्दा जानेको सङ्ख्या कयौं गुणाले बढी छ । यस भक्तको पुण्यको खाता शून्य र पापको खाता समुद्रको छालझैं उफानमा छ ।”

माता पार्वतीले पति परमेश्वर भगवान् शिवसँग भन्नुभयो, “हे जटाधारी ! तपाईं त देव, राक्षस वा असुर सबैको प्रिय हुनुहुन्छ । तपाईंको शरणमा आउने कोही पनि निराश भएर जाँदैनन् । त्यस कारण यस भक्तको पनि दुःख निवारण गरिदिनुहोस्, प्रभु ।” माता पार्वतीको कुरा सुनेर भगवान् भोलेनाथ मुस्कुराउँदै ध्यानमग्न हुनुभयो ।

०००

दलपतिलाई तपस्यामा बसेको एघार दिन भइसकेको थियो । अहिलेसम्म भगवान् शिव प्रकट हुनुभएको थिएन । त्यस कारण दलपति चिन्तित भए । कैलाश पर्वतसम्म मन्त्र ध्वनि नपुगेको हो कि भन्ने आशङ्का गर्न थाले ।

अहिलेसम्म उनी मनमनै मन्त्र जपिरहेका थिए । कण्ठमा सीमित स्वर बिस्तारै बाहिर आउन थाल्यो । उनी जसरी भएपनि आफूले गरिरहेको तपस्याको कुरा भगवान् शिवसमक्ष पु¥याउन चाहन्थे । पत्रपत्रिका, रेडियो तथा टेलिभिजनलगायतका विभिन्न सञ्चारमाध्यमहरूमा विज्ञापनसमेत गराए । जोडजोडले जीउ हल्लाउँदै ठूलठूलो स्वरमा मन्त्र उच्चारण गर्न थाले । डमरु बजाउन थाले ।

०००

भक्तको यतिविघ्न तपस्या देखेर भगवान् भोलेनाथ भक्त सम्मुख प्रकट हुनुभयो । महादेवले भन्नुभयो, “हे भक्त !  आँखा खोल ।” दलपतिले आँखा खोलेपछि आश्चर्यचकित भए । यो के हो ? उनको आँखा खुल्लाको खुल्लै रह्यो । सत्ताप्राप्तिका लागि कहिले उत्तर त कहिले दक्षिणका प्रभुलाई गुहारेको, आर्थिक लोभमा परेर विदेशी धर्म–संस्कृति भिœयाएकोलगायतका कुराहरू मस्तिष्कमा चल्न थाल्यो । आज साक्षात् भगवान्लाई रिझाउन सफल भएको कुराले दलपति हदैसम्म हर्ष विभोर थिए । महादेवले भक्तको हर्षित मुद्रा देखेर मुस्कुराउँदै भन्नुभयो, “हे भक्त ! कुनै एउटा वर माग ।”

दलपतिले हडबडाउँदै हात जोडेर भने, “हे प्रभु ! मलाई अजर–अमर बनाइदिनुहोस् ।” भगवान् भोलेनाथले भने, “हे भक्त १ सधैं देश र जनताको हितविरुद्ध काम गर्र्ने बानीले तिमी लाचार छौ । के तिमीलाई थाहा छैन कि यो मृत्युलोक हो ? यस लोकमा जन्मेपछि मृत्यु निश्चित छ । त्यस कारण यसबाहेक अरू कुनै वर माग ।”

जनताबाट तिरस्कृत दलपतिले भस्मासुरलाई प्रदान गर्नुभएको वरदान आफूलाई चाहिएको भोलेनाथसँग अनुनय गरे । भगवान् भोलेनाथले तथास्तु भन्दै अन्तध्र्यान हुनुभयो ।

०००

वरदान पाएपछि दलपतिको खुशीको सीमा थिएन । सर्वप्रथम वरदान काम गरिरहेको छ कि छैन भन्दै सँगै आएका दुई/तीन जना कार्यकताको शिरमा हात राखे । उनीहरू तुरुन्तै जलेर भस्म भए । वरदानको चमत्कार देखेर दलपति औंधी खुशी भए । हेलिकप्टरमा सवार भई तत्कालै दलको कार्यालय पुगे । स्थानीय तहको निर्वाचनमा आफ्नो दललाई मतदान नगरेका मतदाता, विपक्षी दलका नेतागण, अन्य दलमा आबद्ध कर्मचारी तथा आफ्नै दलका बागी नेता तथा कार्यकर्ताहरूको सूची तयार गर्न आदेश दिएछन् ।

एक कान दुई कान हुँदै यो कुरा देशैभरि फैलियो । चारैतिर भयको वातावरण छायो । दलपतिले जताततै मानिसहरूलाई भस्म गर्दै हिंडिरहेका थिए । डरले मानिसहरू पलायन/भूमिगत हुन थाले । उता आमनागरिक चिन्तित र भयभीत थिए । यता दलपति असाध्यै प्रसन्नचित थिए । घमण्डमा चुर दलपति शक्ति प्राप्त गरेपछि पहिलेकै आवरणमा फर्किसकेका थिए ।

०००

अचानक पत्नीको अवाज कानमा परेपछि दलपति ब्यूँझिए । आफूलाई ओछ्यानमा पाए । आँखा मिच्दै यताउति हेर्न थाले । भर्खरै मानिसहरूलाई भस्म पार्दै हिंडिरहेका दलपतिलाई ओछ्यानमा छु भन्ने कुरा पत्याउनै गा¥हो थियो । कहिले हात हेर्थे त कहिले पत्नीको अनुहार । वरदानमा पाएको शक्ति पुनः जाँच्ने प्रयत्न गरे । पत्नीको शिरमा हात राखे । तर पत्नी भस्म भइनन् । अघिको कुरा सपना थियो भन्ने कुरा थाहा पाएपछि दलपतिको ‘हर्ट अट्याक’ भयो । न त्यहाँ चिकित्सकको टोली थियो, न एम्बुलेन्स ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here