प्रस, परवानीपुर, १० भदौ/
भदौ १२ गते अर्थात् आइतवारदेखि देशभरका सामुदायिक विद्यालयहरू बन्द गर्ने कार्यक्रम सार्वजनिक भएको छ । नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति काठमाडौंले विज्ञप्ति जारी गर्दै देशभरका सामुदायिक विद्यालय बन्द गर्ने आन्दोलनको कार्यक्रम अनुसार बन्द आह्वान गरिएको परिषद्का अध्यक्ष्F गङ्गाराम तिवारीले जनाएका छन् ।
भदौ १२ देखि १८ गतेसम्म सात दिने बन्द कार्यक्रम रहेको र १९ गते देशभरका विद्यालय कर्मचारीहरूको काठमाडौंमा प्रदर्शन गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ । सामुदायिक विद्यालयमा कार्यरत कार्यालय सहयोगी, लेखापाललगायत कर्मचारीहरूको दरबन्दी सिर्जना गर्नुपर्ने, सरकारले हरेकपटक बढाउनुपर्ने तलब समानरूपमा बढाउनुपर्ने, ६० वर्षपछि अवकाश पाउँदा शिक्षकसरह सुविधा पाउनुपर्नेलगायतका मागहरू राख्दै विद्यालय कर्मचारीहरूले चरणबद्ध आन्दोलन गर्ने भएका छन् ।
यस विषयमा शिक्षा मन्त्रालयले पटक–पटक परिषद्सँग वार्ता गर्ने गरेको, सहमति गर्ने गरेको तर सहमति कार्यान्वयन नगरिएकाले आन्दोलन गर्नुपरेको परिषद्का पदाधिकारीहरूको भनाइ छ ।
प्रस, पंचगावाँ/
सामुदायिक विद्यालयमा कार्यरत कार्यालय सहयोगीहरूको तलबभत्ता र राज्यले तलब वृद्धि नगरेको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय सहमतिले भदौ १२ देखि १८ गतेसम्म सात दिन सामुदायिक विद्यालय बन्द गर्ने निर्णयलाई पटेर्वासुगौलीले समर्थन गरेको छ ।
पटेर्वासुगौली गाउँपालिका विद्यालय कर्मचारीका संयोजक केशराज थारूले सो अवधिमा गापाका सामुदायिक विद्यालयहरू बन्द रहने जानकारी गापा कार्यालयलाई गराइसकेको बताए । सामुदायिक विद्यालयहरूको माग सम्बन्धमा नेपाल राहत शिक्षक जिल्ला सङ्घर्ष समिति, पर्साका अध्यक्ष श्याम घिमिरेले विज्ञप्ति जारी गरी ऐक्यबद्धता जनाएका छन् ।
उनले विद्यालयमा सबैभन्दा बढी परिश्रम विद्यालय कर्मचारीहरूले गर्ने भएका हुनाले उनीहरूको तलब वृद्धि राज्यले यथाशीघ्र पूरा गर्नुपर्ने माग राखे ।