प्रस, जनकपुरधाम, १० भदौ/
कुमारी आमा निहारिका सिंह राजपूतलाई मधेस प्रदेश सरकारले पाँच लाख रुपैयाँ आर्थिक सहयोग दिने निर्णय गरेको छ ।
शुक्रवार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले उनलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए । निहारिकाको आर्थिक अवस्था कमजोर रहेकोले अदालतमा मुद्दा लड्न सहयोग गर्नु सरकारको दायित्व भएको मन्त्री साहले बताए ।
प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाको सिफारिशमा प्रदेश सरकारले निहारिकालार्ई सहयोग गरेको हो । विवाह नहुँदै बच्चा जन्माएकी निहारिकाले न्याय माग्दै विभिन्न चरणको आन्दोलन गरि सकेकी छन् । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरका शिवराज श्रेष्ठले बलात्कार गरेपछि बच्चा जन्मिएको भन्दै निहारिकाले श्रेष्ठविरुद्ध मुद्दा दिएकी थिइन् । जिल्ला अदालत धनुषाले २०७८ माघ २४ गते जबरजस्ती करणी नभएको फैसला सुनाएको थियो ।
सोपश्चात् उनले आफ्नो बच्चा र आरोपित पुरुषको डिएनए चेक गर्न र आफूलाई न्याय दिन माग गर्दै अनशन, आमरण अनशन हुँदै आत्मदाहको प्रयाससमेत गरिसकेकी छन् । दोस्रोपटक अनशनको क्रममा निहारिकाले राष्ट्रपति भवनअगाडि आत्मदाहको प्रयास गरेपछि द्रुतमार्गमा मुद्दाको सुनुवाइ अघि बढाइएको छ ।
गत भदौ ८ गते उच्च अदालत जनकपुरले दुवैजनाको डिएनए परीक्षण गर्न आदेश दिएको छ । बलात्कार आरोपी शिवराजलाई अभद्र व्यवहारको मुद्दामा म्याद थप गरेर थुनामा राखिएको छ ।