प्रस, वीरगंज, ९ भदौ/
घण्टाघरदेखि पावरहाउससम्मको फोरलेन सडक अन्तर्गत वीरगंज महानगरपालिकाले निर्माण गरेको पश्चिमतर्फको कालोपत्र सडकको कारण वर्षायाममा पूर्वपट्टिको त्रिभुवन राजपथको कालोपत्र सडक प्रभावित भएको छ ।
महानगरले दुई वर्षअघि घण्टाघरदेखि पावरहाउससम्म दुई किलोमिटर सडक कालोपत्र गर्न रु दुई करोड खर्च गरेको थियो । महानगरले कालोपत्र गर्दा प्राविधिक त्रुटि गरेकोले वर्षायामको पानीले त्रिभुवन राजपथको सडकमा जमेर कालोपत्र बिग्रिन थालेको थियो । महानगरले अहिले आफ्नो गलती सुधार गर्ने क्रममा त्रिभुवन राजपथको सडकको एघार स्थानमा कटिङ गरेर पाइप बिछ्याएर पानीको निकास निकालेको छ । तर प्राविधिक त्रुटि गर्ने महानगरका इन्जिनीयरहरूलाई कारबाई गरिएको छैन । उनीहरूको योग्यतामाथि पनि नगरवासीले प्रश्नचिह्न खडा गरेका छन् ।
फोरलेन सडक अन्तर्गत पूर्वतर्फको त्रिभुवन राजपथ अन्तर्गतको सडक दुई दशकअघि पुनर्निर्माण भएको हो । महानगरपालिकाले पश्चिमतर्फको सडक निर्माण गर्दा वर्षायामको पानीको बहावलाई ध्यान नदिएर राजमार्गको कालोपत्रभन्दा दुईदेखि तीन इन्चसम्म उँचो बनाएको थियो । जसले गर्दा घण्टाघरदेखि पावरहाउसम्म चौधवटा युटर्न हुने ठाउँमा पानी जमेर राजमार्गको सडकमा खाल्डाखुल्डी परेको छ ।
महानगरले यसअघि सो सडकखण्डको बीचमा बनाएको डिभाइडरमा पनि प्राविधिक त्रुटि गरेको छ । डिभाइडर बनाउँदा पानी नजम्ने गरी बनाउनुपर्नेमा राजमार्गपट्टि पानी जम्ने गरी डिभाइडर बनाइएको कारण वर्षायामको बेला ठाउँठाउँमा पानी जमेरे कालोपत्र बिग्रिंदो छ । मेनरोडको सडक पटक–पटक बनाइँदैन तर एकपटक बनाएपछि कम्तीमा एक दशकसम्म चल्नुपर्ने हो तर महानगरपालिकाले बनाएको यो सडकको अवस्था पनि दिनानुदिन बिग्रिंदो छ ।
सडक निर्माण भएकै बेला नेशनल टे«डिङनिर सडक कटिङ गर्नुपरेको थियो भने अहिले सडकका विभिन्न भागहरूमा खाल्डाखुल्डी परेका छन् ।
दक्ष इन्जिनीयरहरू राखेको महानगरले त विकास निर्माण कार्यमा त्रुटि गर्छ भने उसले सर्वसाधारणले गर्ने साधारण इन्जिनीयरिङ त्रुटिमा अनेका मीनमेख निकाल्ने गर्छ ।