यस वर्ष धानखेतीको बखत पर्सा जिल्ला खडेरीको शिकार भएको छ । पानी पर्ने मौसममा पानी नपर्दा खडेरी परेको हो । पानी पर्ने मौसममा धानखेती गरिन्छ । यस वर्ष धानखेती गर्ने बखत पर्सा जिल्लामा पानी परेको छैन । असार महीनाभरि एक/दुई पटकभन्दा बढी पानी परेन । धानको बीउ खेतमैं सुक्यो । साउनको पहिलो सातामा पानी थोरै प¥यो, किसानहरूले जेनतेन धान रोपाइँ गर्न सके । धान रोपेपछिको १५ दिनमा खेत गोडमेल गर्ने र सिंचाइसँगै खेतमा मल छर्ने कार्य हुन्छ । धान रोपाइँपछिको समयमा करीब दुर्ईपटक मल आवश्यकता पर्छ । अहिले नेपालभरि धानखेती रासायनिक मलमा आश्रित छ । अन्नको भण्डार भनिने तराई र थोरबहुत धानखेती हुने पहाड अनि हिमालसम्म पनि सबैतिर रासायनिक मलको प्रयोग हुन्छ । सरकारले रासायनिक मल समयमा उपलब्ध गराउन सकेको छैन । बर्सेनि खेती कार्यमा मलको प्रयोग बढिरहेको तर माग अनुसार मल उपलब्ध गराउन नसक्दा उत्पादन बढ्नुको साटो घट्दो छ । सरकारले रासायनिक मलको विकल्पमा प्राङ्गारिक मल भनेर प्रचारप्रसार नगरेको होइन । तर प्राङ्गारिक मल उत्पादनका लागि किसानहरूलाई आवश्यक तालीम, प्रशिक्षण दिने कार्य नगरिएकाले यसतर्फ किसानहरूको आकर्षण बढ्न सकेको छैन । प्राङ्गारिक मलको प्रयोग सीमित मात्रामा हुँदै आएको छ, खेतीपातीमा यसको प्रयोग नगण्य बराबर छ ।
मलको समस्यामा सरकार कुनै पनि वर्ष गम्भीर भएको पाइएको छैन । प्रत्येक वर्ष आउँदो वर्षदेखि किसानहरूले मलको अभाव झेल्नुपर्दैन, फलानो देशसँग सम्झौता भएको छ, आगामी वर्ष किसानहरूलाई यो समस्या आउँदैन, भनिरहेको छ । तर यो समस्या भने प्रत्येक वर्ष आइरहेको छ र किसानहरूले मलको समस्या झेल्नुपरेको छ । यस वर्षको मात्र कुरा गर्ने हो भने भारतसँग जिटुजी सम्झौता भएको र समयमा मल आउने भनेर आश्वस्त पारिएको थियो । तर धानको बीउ रोप्दा र रोपनीपछिको समयमा मलको आवश्यकता पर्दा किसानहरूले मल पाएनन् । ओमानबाट मगाइएको तीस हजार मेट्रिक टन मल साउनको दोस्रो सातादेखि आउन शुरू भयो । दुईपटक गरी आएको मल अहिलेसम्म देशभरका १६ स्थानमा वितरण कार्य जारी छ तर पर्याप्त छैन । मल अभावको निराकरण सरकारले नै गर्ने हो । सरकार आफूलाई किसानमैत्री दाबी गर्छ । केन्द्र, प्रदेश र स्थानीय तीनै तहका सरकारको यही दाबी रहँदै आएको छ । तर किसानलाई परेको मल अभावबारे नजीकको स्थानीय सरकारले खासै चाखो देखाएको छैन ।
खडेरी सरकारको हातको कुरा होइन । पानी पर्ने मौसममा पानी नपर्न सक्छ तर विकल्पहरू हुन्छन्, जसको प्रचुर उपयोग किसानले गर्न पाऊन् भन्नेतर्फ सरकारले ध्यान दिन सकेको छैन । सुविधामा दमकल, मोटर उपलब्ध गराउने, कुलो, गण्डक नहरलाई व्यवस्थित पार्ने जस्ता आफ्नो जिम्मेवारीको कामबाट पनि सरकार कर्तव्यविमुख भएको कारण कृषि कर्म गर्नेहरू सबैखाले बालीको समयमा अप्ठेरो परिस्थितिको सामना गर्न बाध्य छन् । भर्खरै स्थानीय चुनाव सम्पन्न भयो र अब आगामी मङ्सिर ४ गते केन्द्र र प्रदेश चुनावको मिति घोषणा भएको छ । स्थानीय चुनावमा पनि सबैले किसानमैत्री भाषण गरे । आगामी चुनाव लक्षित भाषण पनि किसानमैत्री हुने कुरामा दुईमत छैन । र यो साल किसानहरूले मल, सिंचाइलगायत कृषि कर्म गर्दा दुःख भोगे, आगामी वर्ष पनि दुःख भोग्नु नपर्ने आधार फेला परेको छैन ।