प्रस, वीरगंज, ६ भदौ/

वीरगंज हेल्थ केयर अस्पतालले उपचारको क्रममा लापरवाही गरेको भनिएको विवादबारे नेपाल चिकित्सक सङ्घ नारायणी शाखाले सोमवार पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गरेको छ ।

घटनामा चिकित्सकको लापरवाही नभई भवितव्य भएको सङ्घका अध्यक्ष डा मनोजकमार गुप्ताले दाबी गरे । उनले सङ्घको टोली अस्पतालमा पुगेर अनुसन्धान गर्दा यस्तो घटना न्यून मात्रामा हुने गरेको तथा उपचारको क्रममा चिकित्सकले आफ्नो जिम्मेवारी राम्ररी पालना गरेको बताए । उनले चिकित्सकको लापरवाहीका कारण दुर्घटना नभएको दाबी गरे । उनले घटनाबारेमा विवाद चुलिएपछि सङ्घका पदाधिकारी सदस्यले स्थलगत निरीक्ष्Fण गरेको र उपचारमा संलग्न व्यक्तिहरूसँग सोधखोज गरेको तथ्यको आधारमा घटना नियोजित नभएर भवितव्य भएको दाबी गरे । अध्यक्ष डा गुप्ताले समाजको जिम्मेवार नागरिकको हैसियतले सङ्घले घटनाको अनुसन्धान गरेको बताए ।

वीरगंज हेल्थकेयर अस्पतालमा कार्यरत डा आशिफ अन्सारीले साउन २६ गते पित्तथैलीमा रहेको पत्थरी दूरबिन प्रविधिबाट निकाल्दा पित्तथैलीबाट रक्तश्राव भएपछि ओपन सर्जरी गरी रक्तश्राव रोकिएको डा गुप्ताले बताए । रगत रोकिए पनि सङ्क्रमण भई फोक्सोमा समस्या देखिएपछि थप उपचारको लागि काठमाडौं पठाएको  र उपचारको क्रममा गएराति फिरोज अन्सारीको मृत्यु भएको डा गुप्ताले पत्रकार सम्मेलनमा जानकारी गराए ।

उनले बिरामीको मृत्युप्रति दुःख व्यक्त गर्दै बिरामीको परिवारले बुझाउनुपर्ने रकम पनि अस्पतालमा बाँकी रहेको बताए ।

पत्रकार सम्मेलनमा डा मुकेश अग्रवाल, डा ऐनामुल हकलगायतले घटनाबारेमा आआफ्नो धारणा राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here