चिरञ्जीवी सापकोटा, ठोरी, ६ भदौ/

नेपाली हिन्दू नारीको महान् पर्व हरितालिका तिजको अवसरमा ठोरी गाउँपालिका वडा नं १ मा जारी   तिज कप नकआउट फूटबल प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा जनकल्याण तमु समाज, माडीले सहारा युवा क्लब, खरझट्टालाई ४–१ गोल अन्तरले पराजित गर्दै अगाडिको यात्रा तय गरेको छ ।

जनकल्याणको विजयमा १२औं मिनेटमा विपिन पन्तले पहिलो गोल गरी आफ्नो टीमलाई हौसला दिलाएका थिए । पन्तले मध्यान्तरपछि पुनः दोस्रो गोल गरेका थिए भने जनकल्याणकै किरण गुरुङ र विशाल गुरुङले १/१ गोल गरी विजयलाई फराकिलो बनाएका थिए । सहारा युवा क्लबले भने एक गोल मात्र गरेको थियो । आजको पहिलो खेलको ‘म्यान अफ दी म्याच’ जनकल्याणका विपिन पन्त घोषित भएका थिए ।

आजकै दोस्रो खेलमा बडगोमाई सुपौली र युनिक युनाइटेड माडीबीच भएको खेल टाइब्रेकरमार्फत निर्णय भएको थियो । टाइब्रेकरमा युनिक युनाइटेडले जीत आफ्नो पिल्टामा पा¥यो । निर्धारित समयमा कुनै पनि टीमले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा गएको थियो । बडकोमाईका एकजना खेलाडीले प्रहार गरेको बल गोल हुन नसकेपछि हार बेहोर्नुपरेको थियो । टाइब्रेकरमा ४–३ गोल अन्तरले युनिक युनाइटेडको यात्रा जारी छ । सो खेलको ‘म्यान अफ दी म्याच’ युनिक युनाइटेडका गोलरक्षक अनिष महतो घोषित भए ।

तेस्रो तथा अन्तिम खेलमा सनराइज युवा क्लब, रामनगरले बिमिरे युवा क्लब, हनुमानझुलालाई ३–१ गोल अन्तरले पराजित गरेको छ । खेल शुरू भएको छैटौं मिनेटमैं सनराइजको जर्सी नं ७ का बाबु बोटेले पहिलो र २२औं मिनेटमा पुनः दोस्रो गोल गरी टीमलाई अग्रता दिलाएका थिए भने जर्सी नं १३ का सरोज परियारले थप एक गोल गरी जीतलाई सुनिश्चित गरेका थिए । बिमिरे युवा क्लबको जर्सी नं १२ का सचिन परियारले एकमात्र गोल फर्काएका थिए । सो खेलको ‘म्यान अफ दी म्याच’ सनराइजको जर्सी नं ११ का साजन गौतम घोषित भए ।

भोलिको पहिलो खेल समाज सुधार युवा क्लब, बगही माडी र निर्मल समाज युवा क्लब, ठोरी–४ बीच हुनेछ भने दोस्रो खेल निर्मल युवा क्लब र हरियाली युवा क्लब तथा तेस्रो खेल एनवाइसी बुद्धनगर र निर्मल समाज क्लबबीच हुने आयोजक समितिका अध्यक्ष जगेन्द्र पौडेलले जानकारी दिए ।

पर्सा र चितवनका गरी २८ टीमको सहभागिता रहेको यस प्रतियोगिताको फाइनल खेल १७ गते हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here