चिरञ्जीवी सापकोटा, ठोरी, ५ भदौ/
नेपाली हिन्दू नारीहरूको महान् पर्व हरितालिका तिजको अवसरमा ठोरी गाउँपालिका वडा नं १ मा आइतवारदेखि तिजकप नकआउट फूटबल प्रतियोगिता शुरू भएको छ । निर्मल समाज क्लब, ठोरी–१ को आयोजनामा आयोजित फूटबल प्रतियोगिताको ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले उद्घाटन गरेका थिए । अध्यक्ष श्रेष्ठले ठोरीको पहिलो रोजाइको खेल फूटबल रहेको बताउँदै यसको विकासका लागि गाउँपालिकाले सहयोगमा कुनै कसर बाँकी नराख्ने बताए । खेल स्वास्थ्यसँग सम्बन्धित रहेको बताउँदै अध्यक्ष श्रेष्ठले आयोजकलाई सफलताको शुभकामना दिंदै खेलाडीहरूलाई खेलको नियम र अनुशासनमा रही खेल्न अनुरोध गरे ।
आज भएको पहिलो खेलमा गोल्डेन युमिनेन्ट वसन्तपुरले निचुटा युथ क्लब, निचुटालाई ६–० गोल अन्तरले पराजित ग¥यो । दुईवटा आत्मघाती गोल बेहोरेको निचुटालाई गोल्डेन युमिनेन्टका किशोर चौधरीले तीन गोल र रितेश क्षेत्रीले एक गोल गरी फराकिलो अन्तरले पराजित गरेका थिए । आजको पहिलो खेलको ‘म्यान अफ दी म्याच गोल्डेन’ युमिनेन्टका ह्याट्रिक गोलकर्ता किशोर चौधरी घोषित भए ।
आजकै दोस्रो खेलमा दिव्यज्योति युवा क्लब र आयोजक ‘बी’बीच भएको खेलमा आयोजक निर्मल समाज क्लबले दिव्यज्योति युवा क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको आयोजक समितिका अध्यक्ष जगेन्द्र पौडेलले जानकारी दिए । आयोजकका अनुप ठोकर र मन्दीप मगरले समान १/१ गोल गरेका थिए भने दिव्यज्योति युवा क्लबका विनोद मगरले सान्त्वना गोल गरी चित्त बुझाए । आजको दोस्रो खेलको ‘म्यान अफ दी म्याच’ आयोजक निर्मल समाज क्लब ‘बी’का अनुप ठोकर घोषित भएको अध्यक्ष पौडेलले जानकारी दिए ।
भोलिको पहिलो खेल सहारा युवा क्लब र जनकल्याण युवा क्लब, दोस्रो खेल बागमोर्चा युवा क्लब र युनिक युनाइटेड तथा अन्तिम खेल बिमिरे युवा क्लब र सनराइज युवा क्लबबीच हुने आयोजक समितिका अध्यक्ष पौडेलले जानकारी दिए । पर्सा र चितवनका गरी २८ वटा टीमको सहभागिता रहेको यस खेलको फाइनल खेल १७ गते हुनेछ । खेलको विजेता टीमलाई नगद रु ५६ हजार १००, मेडल तथा प्रमाणपत्र तथा उपविजेता टीमलाई नगद रु ३१ हजार १००, मेडल तथा प्रमाणपत्र दिइनेसमेत पौडेलले जानकारी दिए ।
आजको उद्घाटन समारोहमा गापा उपाध्यक्ष गोकुली रेग्मी, ठोरी गापाका पाँचवडै वडाका अध्यक्ष, जिल्ला समन्वय समिति, पर्साका पूर्वउपप्रमुख ठाकुरप्रसाद न्यौपाने, माओवादी केन्दका केन्द्रीय सदस्य टेकबहादुर शाक्य, पूर्ववडाध्यक्षहरू, पार्टी प्रतिनिधिहरू, सङ्घसंस्थाका प्रतिनिधिलगायत खेलप्रेमीहरूको सहभागिता थियो ।