प्रस, वीरगंज, ५ भदौ/

चिकित्सकमाथी कारबाहीको माग गर्दै आइतवार वीरगंजको घण्टाघरमा प्रदर्शन गरिनुका साथै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराइएको छ ।

प्रदर्शनकारीहरूले घण्टाघरमा सडकजाम गरेका थिए । पछि जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना पनि दिएका थिए । उनीहरूले घटनाबारे प्रजिअ उमेशकुमार ढकालको ध्यानाकर्षण पनि गराए ।

प्रजिअ ढकालले यससम्बन्धी अधिकार अदालतलाई भएको र सोही मार्ग अवलम्बन गर्न सुझाए । उनले प्रहरीमा समेत उजूरी परेको र घटनाबारे प्रहरीले माथि जाहेर गरेकोले यस सम्बन्धमा कानूनी बाटो अवलम्बन गर्न सुझाव दिएका हुन् ।

गत साउन २६ गते छिपहरमाई गापा निवासी ३२ वर्षीय फिरोज अन्सारीको पहिलोपटक पत्थरीको शल्यक्रिया गर्दा चिकित्सकको लापरवाहीले नशा काटिएको पीडित पक्षको आरोप छ ।

भोलिपल्ट बिरामी छोरोको अवस्था बिग्रिएपछि दोस्रोपटक शल्यक्रिया गरिएको तर सफल नभएपछि हेलिकप्टरबाट काठमाडौं पठाइएको बुबा झुमन मियाँले बताए । छोरालाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको र अहिले उसको अवस्था नाजुक रहेको मियाँले बताए ।

यसअघि वीरगंजमा पत्रकार सम्मेलन गरेर चिकित्सक डा आशिफ अन्सारीमाथि बिरामीका परिवारजन, आफन्तले कारबाहीको माग गरेका थिए ।

घटनाबारे नेपाल चिकित्सक सङ्घ, पर्साले शनिवार विज्ञप्ति जारी गर्दै चिकित्सकको लापरवाही नभएको दाबी गरेको छ ।

सङ्घका सचिव डा नौशाद हकले डा अन्सारीलगायतका स्वास्थ्यकर्मीहरूको टीमले शल्यक्रिया गर्दा पेशागत मर्यादामा रहेर आवश्यक सबै सावधानी अपनाइएको र बिरामीको अवस्था बिग्रिंदै गएपछि काठमाडौं रेफर गरिएको तर सोसम्बन्धी समाचारहरू अतिरञ्जित पारेर आएको भन्दै आपत्ति जनाएका छन् ।

उनले भवितव्य भएको र अनुसन्धान, छानबीन गर्ने पर्याप्त कानूनी स्रोतसाधन हँुदाहुँदै सोबाहेकका गतिविधि सह्य नहुने र यसबारेमा सङ्घ कठोरभन्दा कठोर सङ्घर्ष गर्न पछि नपर्ने चेतावनी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here