प्रस, परवानीपुर, ३ भदौ/
पर्सा, बारा जिल्लामा धानबाली लगाउने किसानहरू अहिले पिरोलिएका छन् । एक सातादेखि अत्यधिक गर्मीको कारण धानबाली डढ्न थालेको छ भने अर्काेतिर युरिया मल पर्याप्त मात्रामा नपाएको किसानको गुनासो छ ।
मध्य तराईका जिल्लाका धानबाली लगाउने किसानहरू तनावमा रहेको लिपनीबिर्ताका अगुवा किसान जनकराउत कुर्मी बताउँछन् । उनले किसान हुनु अभिशापजस्तै भएको बताए । “धानबालीको लागत दिन प्रतिदिन बढ्दै गएको छ, ज्याला मजदूरी गर्ने मानिस पाइँदैन, डिजेलको भाउ पनि आकाशिंदै गएको छ, अर्काेतिर सिंचाइ र मलको पनि उस्तै समस्या छ”–उनले भने ।
सरकारले अनुदानमा वितरण गर्ने डिएपी र युरिया मल पनि सहज पाउन नसक्दा भोलि बाली कस्तो होला, उत्पादन सोचे अनुरूप हुन्छ कि हुँदैन भनेर किसान चिन्तित रहेको बताएका छन् । एउटा गाउँँमा कम्तीमा पाँच सय बोरा मल आवश्यक हुनेमा मुश्किलले सय बोरा मल पाइरहेको बताइएको छ । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले वितरण गर्ने मलमा पनि सहकारीका सञ्चालकहरूले आसेपासे व्यक्तिलाई मात्र मल वितरण गरिरहेको बुझिएको छ । मलकै हाहाकार भएको भन्दै चार दिन अघि वीरगंजका मेयर राजेशमान सिंह र दर्जनौं किसानले वीरगंजबाट बाहिर गइरहेको चारवटा ट्रक नियन्त्रणमा लिएर मल ढुवानी बन्द पारेका थिए । त्यसपछि कृषि सामग्री कम्पनीका प्रमुख चन्द चौलागाईले मलको परिमाणमा वृद्धि गर्ने बताए । अहिले वीरगंजको ३२ वटा वडामा २ सय बोराको दरले ६४ सय बोरा युरिया मल विभिन्न साहकारीमार्फत वितरण गर्ने सहमति भएको थियो । नेपालमा बर्सेनि सात लाख टन मल आवश्यक रहेकोमा नेपाल सरकारले अढाई लाख टन मात्र हरेक वर्ष खरीद गर्दा समस्या हुने गरेको अधिकारीहरूको भनाइ छ ।