प्रस, वीरगंज, ३ भदौ/
वीरगंजको नारायणी अस्पतालमा पछिल्लो समय स्वास्थ्यकर्मीहरूले मनपरी गर्न थालेको समाचार छ । सातौं तहमा नर्सिङ अधिकृत पदमा कार्यरत माधवी चौधरी गत असार पहिलो सातादेखि अस्पतालको नियम कानूनविपरीत काम गरिरहेको गुनासो आएको छ ।
उनले दुर्ई महीनादेखि अस्पतालले जिम्मा दिएको दायित्व नसम्हालेको र मनपरी गरिरहेको अस्पतालका मेसु डा वीरेन्द्र प्रधानले बताए । उनी पहिले नारायणी अस्पतालमा मेट्रोन पदमा काम गर्दै थिइन् । तर उनीभन्दा सिनियर नवौं तहको नर्सिङ अधिकृत श्रुति साह सरुवा भएर आएपछि उनलाई सो पदबाट हटाएर बालरोग विभागको इन्चार्जको जिम्मेवारी दिइएको थियो । तर उनी पत्र नै नबुझी मनपरी गरिरहेको मेसु प्रधानको भनाइ छ । “उहाँ सामुन्ने आउन मान्नुभएको छैन, पटकपटक पत्र बुझाउन खोज्दा पत्र बुझिरहनुभएको छैन”–उनले भने–“अस्पतालमा हाजीर गरेर टाप कस्नु हुन्छ, दुर्ई महीनादेखि मात्रै तलब बुझ्न र निजी शैक्षिक संस्थाका विद्यार्थीलाई पढाउन कहिलेकाहीं आइरहनुभएको छ ।”
यसबारे सोध्दा गैरजिम्मेवारपूर्ण जवाफ दिने गरेको उनले बताए । यस विषयमा नर्सिङ अधिकृत माधवी चौधरीसँग बुझ्दा आफूले प्रसुति विभागको इन्चार्जको माग गरेको तर अस्पताल प्रशासनले सल्लाह नगरी जिम्मेवारी नदिएकोले काम नगरेको जवाफ दिइन् । उनले आफूलाई बालरोगबारे अनुभव कम भएकोले काम गर्न अनिच्छुक रहेको प्रतिक्रिया दिइन् । तर अस्पतालमा बालरोग इन्चार्जको पद खाली रहेकोले हाल उनलाई सो पदको जिम्मेवारी दिइएको अस्पताल प्रशासन पक्षले जनाएको छ । यदि उनी तोकिएको जिम्मेवारी पूरा गर्न लापरवाही गरिरहिने हो भने स्पष्टीकरण सोधेर आवश्यक कारबाई थालिने मेसु प्रधानले बताएका छन् ।