सिनिङ, ३ भदौ/सिन्ह्वा
चीनको उत्तरपश्चिमी चिङ्हाई प्रान्तमा आएको बाढीमा परेर कम्तीमा पनि १७ जना स्थानीयको ज्यान गएको छ । अधिकारीहरूले दिएको जानकारी अनुसार बिहीवार साँझ आएको सो बाढीबाट अरू १७ जना हराइरहेका छन् ।
हराएका व्यक्तिको खोजी भइरहेको बताइए पनि उनीहरू भेटिने सम्भावना कम रहेको उद्धारकर्मीहरूले जनाएका छन् । स्थानीय समय अनुसार बुधवार राति १०.२५ देखि शुरू भएको भीषण वर्षाका कारण ठूलो बाढी आएको र धनजनको क्षति भएको जनाइएको छ ।
धेरै माटो बोकेर आएको बाढीले नदीको बहाव परिवर्तन गरेकोले पनि धेरै क्षति भएको अधिकारीहरूले जनाएका छन् । बाढीबाट छ गाउँका ६,२४५ घर प्रभावित भएका छन् । ती मध्ये दुई भवन पूर्णरूपमा र १४ भवन अत्यधिक क्षति भएको छ ।
बाढीका कारण घरमा क्षति भएपछि एक हजार दुई सयभन्दा बढी मानिस विस्थापित भएका छन् । उनीहरूका लागि अत्यावश्यक सहयोग र सामग्रीको व्यवस्था गर्न लागिएको छ । उनीहरूलाई अस्थायी शिविरमा राखिएको छ ।
सेना प्रहरी र उद्धारकर्मीहरू गरी कम्तीमा चार हजार पाँच सयजना उद्धारका काममा खटेका छन् । उनीहरूले बिहीवार बिहानदेखि हराएका २० जना व्यक्तिको सकुशल उद्धार गरेको जनाएका छन् । बुधवार बिहानदेखि अविरल वर्षा भएको छ । बाढीमा परेर हराएका व्यक्तिको खोजी भइरहेको जनाइएको छ ।
उनीहरूका अनुसार यहाँका छ हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन् । उनीहरूलाई विद्यालयहरूमा आश्रय दिएर राखिएको छ ।
वर्षा जारी नै रहेकोले थप क्षतिबाट जोगिन सुरक्षित रहन भनिएको समाचारमा जनाइएको छ । रFसस