• डा शिवशङ्कर यादव

न जायते म्रियते वा कदाचिन्नायं भुत्वा भविता वा न भुवः ।

अजो नित्यः शाश्वतोअयं पुराणो न हन्यते हन्यमाने शरीरे ।।

भनिन्छ कि देवताहरूले सुगन्ध खान्छन् । सुगन्ध अगरबत्तीबाट निस्कने धूवाँबाट वा फूलबाट निस्कने अदृश्य कुरा हो । त्यसरी नै दाल, भात, तरकारी हामीले मात्र खान्छौं । त्यसलाई न त आन्द्राले न त कोशिकाले नै खान्छन् । के खान्छन् तब कोशिकाहरूले ? खानाबाट बनेको अदृश्य ऊर्जालाई खान्छन्, कोशिकाहरूले, जसलाई सेल रेसपिरेशन भनिन्छ ।

विद्युत्को एक प्रदर्शनी गरिरहेको बेला अल्वा एडिसनसँग एक युवाले विद्युत् के हो भनेर प्रश्न गरे । अल्वा एडिसनले त्यसको राम्ररी व्याख्या गर्न सकेनन् । अल्वा एडिसन एक गहन वैज्ञानिकभन्दा एक ठूलो प्राविधिक थिए । तर विज्ञान अहिले नपत्याउने खालसम्म पुगिसकेको छ । गीताको अनुसार जसरी सबै थोक जीवात्माकै रूप हुन् र आत्माको उत्पत्ति र नाश हुँदैन । त्यस्तै, पदार्थ वैज्ञानिकहरूको निष्कर्ष यो छ कि सबै पदार्थ ऊर्जाले बनेका हुन्छन्, जसको उत्पत्ति र विनाश गर्न सकिंदैन । यस ब्रह्माण्डमा ऊर्जा व्याप्त छ, जसलाई समात्न र परिवर्तित भने गर्न सकिन्छ । सम्पूर्ण विज्ञानको सार यति नै हो । ध्वनि ऊर्जा हो । त्यसलाई रेडियोले समात्छ । भोकल कर्ड एउटा संरचना हो, जसले ध्वनि प्रकट गर्न सक्छ । अतः ऊर्जालाई समात्न र प्रकट गर्न सकिने दुवै देखियो । पेट्रोल जेनरेटरमा हालियो । पेट्रोल ऊर्जा होइन ऊर्जा बोक्ने माध्यम मात्र हो । चकमक पत्थर ऊर्जा होइन, आगोको ऊर्जा समात्ने माध्यम मात्र हो । ऊर्जा अदृश्य हुन्छ । आगोको लप्का देखिन्छ तर त्यसबाट उत्पन्न ऊर्जा देखिंदैन । जब जेनरेटर चल्छ, तब त्यसबाट अदृश्य विद्युत् ऊर्जा प्राप्त हुन्छ । त्यसमा पङ्खालाई जोडियो, पङ्खा चल्न थाल्यो । त्यो मेकानिकल ऊर्जा हो । अब त्यसलाई बल्बमा जोडियो, त्यहाँबाट प्रकाश निस्कियो । मेकानिकल ऊर्जा प्रकाश ऊर्जामा परिवर्तित भयो । अब जेनरेटरलाई हिटरमा जोडियो । ताप निस्कियो र हामी ताप्न लाग्छौं । यहाँ त्यही मेकानिकल ऊर्जा ताप ऊर्जामा बदलियो । मतलब ऊर्जा नाश भएन, विभिन्न रूपमा परिवर्तित मात्र भयो । आत्माको परिवर्तन नै अनेक प्राणी हुन् । आत्मा उही हो ।

अब आउनुस्, शरीरमा यो ऊर्जा कसरी प्राप्त हुन्छ ? त्यो हेरौं । खानाको इन्ड प्रोडक्ट ग्लुकोज, फैटी एसिड र एमाइनो एसिड हुन् । यी ऊर्जा होइनन्, जेनरेटरमा हाल्ने पेट्रोल मात्र हुन् । यसबाट ऊर्जा बनाउने मेशिन प्रत्येक कोशिकामा हुन्छ । अर्थात् एक ठाउँमा अवस्थित पावर हाउस जस्तो होइन, जहाँबाट विद्युत् वितरण गरिन्छ । प्रत्येक कोशिकाले ऊर्जा बनाउने काम गर्छ, जसमा कलेजो र मांसपेशी मुख्य हुन् । कोशिकाको माइटोकौन्ड्रिया एक प्रकारको युनियन कार्बाइड कारखाना हो, जहाँ एटिपी, जिटिपी, टिटिपी, युटिपी आदि केही प्रकारका ब्याट्री तयार हुन्छन्, जसमध्ये एटिपी र जिटिपी मुख्य हुन् । एटिपीको पूर्ण रूप ‘एडिनोसिन ट्राइफोस्फेट’ र जिटिपीको पूर्ण रूप ‘ग्वानोसिन ट्राइफोस्फेट’ हो । एटिपीको ऊर्जाले कोशिकाले ऊर्जा प्राप्त गर्छन्, जसलाई सेल रेसपिरेशन भनिन्छ तथा जिटिपीबाट प्राप्त ऊर्जाले प्रोटिन सिन्थेसिस हुन्छ । कोशिकाको वृहत् संरचना जान्नु जरुरी छैन । बस यति जान्नु पर्याप्त छ कि प्रत्येक सेलमा यो माइटोकौन्ड्रिया हुन्छ । यस ऊर्जा बनाउने प्रक्रियालाई सर्वप्रथम हेन्स एडोल्फ क्रेव्स र फ्रिट्ज लिपमैनले पत्ता लगाए र सन् १९५३ को नोबेल पुरस्कार पाए । क्रेव्स अक्सफोर्डको ट्रिनिटी कलेजको फेलो र बायोकेमिस्ट थिए, जो सन् १९४७ मा रोयल सोसाइटीका सदस्य बनेका थिए । फ्रिट्ज लिपमैन अमेरिकन फिजियोलोजिस्ट थिए । आउनुस्, अब यस युनियन कार्बाइडले ऊर्जा कसरी बनाउँछ, त्यो हेरौं ।

ग्लुकोज, फैटी एसिड र एमाइनो एसिड जुन क्रमशः कार्बोहाड्रेट, फैट र प्रोटिनको इन्ड प्रोडक्ट हुन्, त्यसलाई र अक्सिजनलाई रगतले सँगसँगै प्रत्येक कोशिकामा पु¥याउँछ । हरेक कोषमा माइटोकौन्ड्रिया भन्ने एउटा संरचना हुन्छ । त्यहाँ सबै ट्र्याप भएर एउटा सर्किटमा प्रवेश गर्छ । त्यस सर्किटको नाम हो साइट्रिक एसिड साइकिल किनभने यसमा साइट्रिक एसिडको मुख्य र सँगै भिटामिन वी१ र भिटामिन वी१२ को सर्वोपरि भूमिका हुन्छ । यसै साइकिल पत्ता लगाए हेन्स क्रेव्सले । उनकै सम्मानमा यसलाई क्रेव्स साइकिल पनि भनिन्छ । अक्जिनको उपस्थितिमा भएको हुनाले यो एक एरोबिक साइकिल हो । यो साइकिल यति जटिल छ कि बायोकेमिस्ट्रिको गहिरो जानकारले मात्र बुझ्छन्, सर्वसाधारण वा अन्यले केही बुझ्दैनन् ? बस यति जानौं कि यो साइकिल एउटा युनियन कार्बाइडको कारखाना नै हो, जहाँ एटिपी, जिटिपी ब्याट्रीहरूको निर्माण हुन्छ । ऊर्जाका विभिन्न रूप छन्, जसमा केमिकल ऊर्जा पनि एक हो । ब्याट्रीमा केमिकल ऊर्जा नै त स्टोर गरिएको हुन्छ । यहाँ पनि कार्बोहाइड्रेट, फैट र प्रोटिनद्वारा प्राप्त केमिकल ऊर्जा एटिपी र जिटिपी नामक ब्याट्रीमा जम्मा हुन्छ । जब एउटा एटिपी टुट्छ, तब ७.३ क्यालोरी ऊर्जा प्राप्त हुन्छ र यति नै जिटिपीबाट पनि प्राप्त हुन्छ । फरक यति छ कि कोशिकाले एटिपीबाट प्राप्त ऊर्जालाई शक्तिको रूपमा र जिटिपीबाट प्राप्त ऊर्जाको केवल प्रोटिन सिन्थेसिसमा मात्र उपयोग गर्छ । एउटा ग्लुकोज मोल्क्युलले ३८ वटा एटिपी तयार गर्छ । कसै कसैले यो ३२ वा ३६ पनि मानेका छन् । यसरी हामीले के हेर्छौं भने एरोबिक प्रोसेसमा ३६ वटा एटिपी माइटोकौन्ड्रियाको भित्र र एनेरोबिकमा केवल दुईवटा मात्र एटिपी माइटोकौन्ड्रियाको बाहिर बन्छ । यही कारण हो कि एरोबिक व्यायाममा हामी बढी समयसम्म टिक्न सक्छौं तर एनेरोबिकमा केही मिनट मात्र । नित्य हामीलाई १०० देखि १५० एटिपी चाहिन्छ र यो शरीरमा करीब १०० ग्राम मात्रामा जम्मा रहन्छ । भएन त यो कुरा बिल्कुल ब्याट्री जस्तो ? जब हामीले टर्चमा ब्याट्री टार्चमा राखेर स्वीच अन गर्छौं, तब त्यसले प्रकाश दिन्छ । मतलब ब्याट्रीको केमिकल ऊर्जा प्रकाश ऊर्जामा बदलियो । त्यही ब्याट्री जब रेडियोमा लगाइन्छ, तब विभिन्न गानाहरू सुन्छौं । यहाँ त्यही ऊर्जा ध्वनि ऊर्जा बन्यो । यतिमात्र होइन, त्यही ब्याट्री जब टिभीमा हालिन्छ, तब दृश्यहरू देखिन्छन् । यहाँ त्यो दृश्य ऊर्जा भयो । त्यस्तै, शरीरको ब्याट्रीरूपी एटिपीको केमिकल ऊर्जा दौड्दाखेरी मेकानिकल ऊर्जामा, हेर्दाखेरी आँखाको दृश्य ऊर्जामा र नर्भको न्युरोट्रान्समिटरको भाव, भावना र विचार आदिमा परिवर्तित हुन्छ ।

यही हो शरीरको मेटाबोलिज्म । जसरी बजारको क्रियाशीलतामा धेरै फोहोरहरू निस्किन्छन् र त्यसलाई कूचीकारले सफा गर्छ । त्यस्तै, यस मेटाबोलिज्ममा फोहोरको रूपमा धेरै फोहोर निस्किन्छन्, जसलाई फ्री रेडिकल वा अक्सिडेन्ट भनिन्छ । यसलाई सफा गरिएन भने शरीरका सबै प्रक्रियामा भयङ्कर बाधा पुग्छ । यो स्थिर हुँदैन र स्थिर हुनको लागि नजीकको कोशिकाबाट इलेक्ट्रोनलाई चोरेर स्थिर बन्छ तर जुन कोशिकाबाट रेडिकल चोरिएको छ, त्यो नष्ट हुन्छ वा घाइते बन्छ । यी घाइते कोशिकाहरू विभिन्न प्रकारका क्यान्सर, हृदयरोग र अन्य रोगहरूका कारण मात्र बन्दैनन्, बरु शरीरमा छिटो बुढ्यौली ल्याउने कारण पनि बन्छ । उदाहरणको लागि एचओ फ्री रेडिकल हो । यसले नजीकको सेलबाट हाइड्रोजन चोरी गरी एच२ओ बनाउँछ । एच२ओ पानीको फर्मूला हो । यसरी एचओ भनेको फ्री रेडिकल स्टेबल त भयो तर चोरिएको कोशिका घाइते भयो । यसलाई रोक्नु अनिवार्य हुन्छ । शरीरले यसलाई स्वयं र व्यायामले रोक्छ तर त्यो पर्याप्त हुँदैन । अतः हामीले केही कूचीकारलाई बजारमा पठाएर त्यस फोहोरको सफाइ गर्नै पर्छ । ती कूचीकार हुन्, विभिन्न प्रकारका एन्टिअक्सिडेन्ट भएका फलफूलहरू । जब त्यो शरीरमा जान्छ, तब या त फ्री रेडिकललाई नष्ट पारिदिन्छ वा आफूमा भएका तŒवलाई फ्री रेडिकललाई दिएर त्यसलाई स्टेबल बनाइदिन्छ र अरू कोशिकाबाट चोर्न दरकार नै रहँदैन । यस प्रक्रियालाई पत्ता लगाए मैटियल र कर्लइमैसुनले । वैज्ञानिकहरूले यो पनि पत्ता लगाए कि मानिसले ३००० देखि ५००० युनिट एन्टिअक्सिडेन्टको उपयोग गर्न सक्छ ।

यस ऊर्जाको २० प्रतिशत भाग केवल दिमागले नै उपयोग गर्छ । बाँकी ८० प्रतिशत भाग मात्र शरीरका अन्य भागका हिस्सामा आउँछ । यसरी हामी के हेर्छौं भने ऊर्जालाई हामीले न नष्ट गर्न सक्छौं, न त पैदा गर्न सक्छौं । बस त्यसलाई समात्न र रूप परिवर्तन मात्र गर्न सक्छौं । हाम्रा सारा व्यापार, नोबेल पुरस्कार र विज्ञान त्यसलाई केवल समात्न र बदल्न मात्रको कार्य व्यापार हो । आधुनिक विज्ञान अनुसार समस्त पदार्थ ऊर्जाको नै ठोस रूप हुन् । पूर्वीय दर्शनले त एक कदमअगाडि बढेर यो भन्छ कि सारा पदार्थ विचारको ठोस रूप हो । भएन त फसाद ? हाम्रो हिमालय विचारको ठोस रूप रे १ के हो के हो ? गहन र गजब छ जगत्को लीला । सम्झनै मुश्किल ।

इति ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here