- उमाशङ्कर द्विवेदी
तपाईं यस जगत्लाई पाञ्चालरहित पार्न सक्नुहुन्छ–यस्तो सिद्ध पुरूषहरूले भनेका छन् । यो कुरा कहिल्यै पनि मिथ्या हुन सक्दैन । इन्द्रसहित सम्पूर्ण देउताले पनि तपाईंका बाणहरूको प्रहार सहन गर्न सक्दैनन्, अनि पाण्डवहरूको त के कुरा ? वीरवर, हेर्नुहोस्, यो मेरो सेना अर्जुनको बाणबाट पीडित भएर भाग्दैछ । अतः शीघ्र जानुहोस्, विलम्ब न गर्नुहोस् ।
दुर्योधनले यस प्रकार भनेपछि अश्वत्थामाले यस प्रकारको जवाफ दिए–महाबाहो, तपाईंले भनेको कुरा ठीक हो, म र मेरा पिताजीलाई पाण्डवहरू बडो प्यारा छन् तथा उनी पनि हामी दुवैमाथि प्रेमदृष्टि राख्छन् तर यो कुरा युद्धको बेला लागू हुँदैन । युद्धमा त हामीहरूले प्राणको मोह त्यागेर निडर भई पूर्ण शक्तिका साथ युद्ध गर्दछौं तर तपाईं महान् लोभी र कपटी भएको हुनाले सबैमाथि सन्देह गर्ने तपाईंको बानी नै भइसकेको छ । आफ्नै घमण्डमा रहने हुनाले हामीमाथि तपाईंले विश्वास नै गर्नुहुन्न । जेहोस्, अब म गइरहेको छु, तपाईंको हितका लागि जीवनको लोभ त्यागेर उनीहरूको मुख्य–मुख्य वीरहरूलाई छानीछानी मार्नेछु । पाञ्चाल र सोमकहरूलाई त मार्ने नै छु, उनीहरू मरेको देखेर जुन योद्धा मसित लड्न आउँछ, उसलाई पनि यमलोक पठाइदिनेछु । मेरो भुजाको पहुँचमा जो जो पर्नेछन्, उनीहरू बाँचेर जान पाउनेछैनन् ।
यस प्रकार तपाईंको पुत्रलाई भनेर अश्वत्थामा समस्त धनुर्धारीहरूलाई लेखेट्दै युद्ध गर्नका लागि शत्रुहरूको सामु गएर डटे । उनले केकय र पाञ्चाल राजाहरूलाई हाँक दिंदै भने– महारथीहरू हो, तिमीहरू सबैजना एकसाथ ममाथि प्रहार गर । यो सुनेर ती सबै योद्धा अश्वत्थामामाथि अस्त्रशस्त्रको वर्षा गर्न थाले । अश्वत्थामाले उनीहरूका अस्त्रशस्त्रहरूको निवारण गरेर पाण्डव र धृष्टद्युम्नको सामु नै उनीहरूमध्ये दशजना वीरलाई मारेर खसाले । अश्वत्थामाको मारबाट पीडित भई पाञ्चाल र सोमक वीरहरू यत्रतत्र भाग्न थाले । अनि धृष्टद्युम्नले अश्वत्थामामाथि धावा गरेर उनलाई अनेकौं मर्मभेदी बाण हाने । अत्यधिक घाइते भएपछि क्रोधले मुर्मुरिएर हातमा बाण लिई अश्वत्थामाले भने– धृष्टद्युम्न, स्थिर भएर क्षणभरि प्रतीक्षा गर, अहिले केहीबेरमैं भल्ल हानेर यमलोक पठाउनेछु । यति भनेर उनले धृष्टद्युम्नलाई बाण हानेर आच्छादित पारिदिए । अनि पाञ्चाल राजकुमारले अश्वत्थामालाई हकार्दै भने–हे बाहुन बाजे, मेरो प्रतिज्ञा तथा म उत्पन्न हुने प्रयोजनको सम्झना छैन ? आज राति बिहान हुनुभन्दा पहिले नै तपाईंका पिताजीलाई मारेर तपाईंको पनि वध गर्नेछु । जुन ब्राह्मण ब्राह्मणोचित वृत्ति त्यागेर क्षत्रिय धर्ममा तत्पर रहन्छन्, ती सबै बध्य हुन् ।
धृष्टद्युम्नले भनेको कठोर वचन सुनेर अश्वत्थामा प्रचण्ड कोपले पर्खपर्ख भन्दै बाणवर्षा गरेर उनलाई ढाकिदिए । उताबाट धृष्टद्युम्नले पनि अश्वत्थामामाथि नानाथरीका बाण हान्न थाले । ती दुवैको बाणवर्षाले आकाश र दिशा भरिए, घोर अन्धकार व्याप्त भयो, अतः उनीहरू एक अर्काबाट अदृश्य भएर लड्न थाले । दुवैको युद्ध गर्ने ढङ्ग बडो अद्भुत तथा सुन्दर थियो, दुवैको फुर्ती हेर्न लायक थियो । त्यति बेला रणभूमिमा उभिएका हजारौं योद्धा ती दुवैको प्रशंसा गर्दै थिए । त्यस युद्धमा अश्वत्थामाले धृष्टद्युम्नको धनुष, ध्वजा तथा छत्र काटिदिए, सारथि र घोडा पनि मारेर खसाले । यसपछि आफ्नो तिक्खर बाण हानेर उनले सयकडौं र पाञ्चालहरूलाई भाग्न विवश पारे । उनको यस्तो पराक्रम देखेर पाण्डव सेना व्यथित हुन पुग्यो । उनले एक सय बाण हानेर एक सय पाञ्चालको नाश गरेर तीनवटा तिक्खर बाण हानेर तीनजना श्रेष्ठ महारथीको प्राण हरण गरे । फेरि अर्जुन र धृष्टद्युम्नले हेर्दाहेर्दै त्यहाँ उभिएका बहुसङ्ख्यक पाञ्चालको संहार गरे । उनीहरूको रथ र ध्वजा चकनाचुर भयो । अब त पाञ्चाल र सृञ्जयहरूमा भागमभाग मच्चियो । यस प्रकार महारथी अश्वत्थामा सङ्ग्राममा शत्रुलाई जितेर बडो जोडले गर्जना गर्न थाले । त्यति बेला कौरव सेनाले उनको निकै प्रशंसा ग¥यो ।
सञ्जय भन्छन्– तदन्तर पाण्डुनन्दन युधिष्ठिर र भीमसेनले अश्वत्थामालाई घेरामा हाले । यत्तिकैमा राजा दुर्योधन द्रोणाचार्यको साथमा पाण्डवहरूमाथि आइलागे । अनि त उनीहरूबीच भयङ्कर युद्ध हुन थाल्यो । त्यति बेला भीमसेनले कुपित भएर अम्बष्ट, मालवा, शिबि तथा त्रिगर्त देशका वीरहरूलाई यमलोक पठाए । फेरि अभीषाह, शूरसेन तथा अन्यान्य रणोन्मत्त क्षत्रियहरूको वध गरेर उनीहरूको रगतबाट पृथ्वीलाई रगताम्ये पारिदिए । अर्कोतिर अर्जुनले पनि मद्र, मालवा तथा पर्वतीय प्रदेशका योद्धाहरूलाई आफ्नो तीक्ष्ण बाणबाट मृत्युको बाटो लगाइदिए । क्रमशः …