• सञ्जय मित्र

भनिन्छ, हरेक मानिसले एउटा नयाँ युगको शुरूआत गर्दछ । यसको अर्थ यो पनि हो कि हरेक मानिसमा नयाँ गर्न सक्ने गुण हुन्छ । मानिसमा हुने गुण, क्षमता तथा प्रतिभाको पहिचान सबैभन्दा पहिले गुरुले गर्दछन् भनिन्छ, तर समय र परिवेशले मानिसमा हुने प्रतिभाको प्रस्फुटन आफैं पनि हुन्छ । परिवेशले नै धेरै कुराको निर्धारण गर्छ । परिवेश नहुँदा धेरै कुरो गर्न सकिन्न तर फेरि के पनि भनिन्छ भने कठिन परिस्थितिले नै मानिसलाई अवसर प्रदान गर्छ । भगवान् श्री कृष्णलाई यही कठिन परिवेशका एक युग द्रष्टाका रूपमा लिने गरेको पाइन्छ ।

भगवान् श्रीकृष्णको जन्म जेलमा भएको थियो । पिता वसुदेव र माता देवकी जेलमा कैदी जीवन बिताइरहेका थिए । भगवान श्रीकृष्णको जन्म जेलमा नै हुनु र माता तथा पिता जेलमैं रहेको हुनुले यो सिद्ध हुन आउँछ कि त्यतिबेला कैदीबन्दीलाई मातृत्व तथा पितृत्व अधिकार अर्थात् प्रजनन अधिकार थियो । शास्त्रहरूले भनेका छन्–भगवान् श्रीकृष्ण आफ्ना मातापिताका आठौं सन्तान थिए र सबै सन्तानको जन्म जेलमैं भएको थियो । महीनाको हिसाबले भदौ र पक्षको दृष्टिले कृष्ण तथा अष्ठमी तिथिको दिन श्रीकृष्णको जन्म भएकोले यस दिनलाई जन्माष्ठमी भनिएको हो । भदौलाई त्यत्ति शुभ महीना नमानिए पनि भगवान्कै जन्म भएकोले यस तिथिलाई अत्यन्त शुभ मानिन्छ ।

भगवान्को जन्म हुनुलाई त जुनसुकै धर्मले शुभ मानेकै हो तर हिन्दू समुदायमा कुनै भगवान् वा देवताको जन्म हुने तिथि वा दिनलाई स्वाभाविकरूपमा नयाँ युगको शुरूआत मानिन्छ । त्यसै पनि त्रेतामा राम, द्वापरमा श्रीकृष्ण र कलियुगमा बुद्ध भनेर युगकै कारण पनि चिन्नेको जमात ठूलो छ । मतलब युगलाई नै भगवान्को अवतारको रूपमा लिने गरिएको पनि पाइन्छ । भगवान् श्रीकृष्णको जन्मको युगलाई अध्यात्म, विज्ञान, राजनीति तथा प्रेम आदि सबै दृष्टिकोणले मूल्याङ्कन गरी हरेक क्षेत्रमा नवीन युगको शुरूआत मानिएको पाइन्छ । विश्लेषण आफ्नो हुन्छ तर श्रीकृष्णलाई जुन रूपमा बढी मान्ने विचार हुन्छ, त्यसै रूपमा उनको जीवन र दर्शनको व्याख्या पनि गरिएको पाइन्छ ।

त्यसै पनि सामान्यरूपले श्रीकृष्णको जीवनलाई सामान्य मानिसझैं तीन भागमा बाँडेर हेर्नेहरू पनि छन् । बाल्यावस्था, युवावस्था र प्रौढावस्थाका श्रीकृष्णको जीवनका तीन महान् सन्देश रहेका छन् । बाल्यावस्थालाई यदि लिने हो भने एकातिरबाट हेर्दा साधारण मानिसझैं दुःख र सुख प्राप्त गरेका छन् भने हरेक दिन विशिष्ट कार्य गरेको पनि देखिन्छ । बाल्यावस्थाका विशिष्ट कार्यहरूले श्रीकृष्णलाई सामान्य भएर पनि विशिष्ट साबित गरेको छ । श्रीकृष्णको युवावस्थालाई कतिपयले प्रेमावतार मानेका छन् । युवावस्थामा श्रीकृष्णको जीवनमा प्रेमको उत्कर्ष पाइन्छ र जीवनमा प्रेमको महŒव दर्शाएका छन् । यस अवस्थालाई धेरैले भौतिक प्रेम, दैहिक प्रेम, आत्मिक प्रेम तथा आध्यात्मिक प्रेम आदि जुन दृष्टिकोणले हेर्दछन्, सोही दृष्टिकोणले व्याख्या विश्लेषण गर्दछन् । श्रीकृष्णलाई भगवान् मान्नेहरूले बाल्यावस्था र युवावस्था दुवैमा गरेका सम्पूर्ण कार्यलाई लीलाको संज्ञा दिन्छन् । प्रौढावस्थालाई सर्वसाधारणको भाषामा राजनीतिको उमेर मानिएको छ । श्रीकृष्णले राजनीति गरेका छन्, गराएका छन् । युद्ध गरेका छन्, गराएका छन् । नीति स्थापित गरेका छन्, गराएका छन् । श्रीकृष्णको प्रौढावस्था यस्तो विविधताले भरिएको छ, यस्तो जटिलतापूर्ण छ कि साधारण मस्तिष्कले बुझ्न सम्भव पनि छैन । दया, सहनशीलता, क्रोध, सामथ्र्य सबै भएका श्रीकृष्ण आफ्नो युगका सबैभन्दा ठूलो कूटनीतिज्ञ देखिन्छन् । अनि त युगौंयुगदेखि सर्वत्र पूजित पितामह भीष्मको दृष्टिकोणमा पनि केशव अर्थात् श्रीकृष्ण भगवान् ठहरिन्छन्, मुक्तिदाता र पालनहार ठहरिन्छन् ।

श्रीकृष्णको समयमा जङ्गलमा आखेट हुन्थ्यो तर यान्त्रिक युगको शुरूआत पनि सोही समयमा भएको मानिन्छ । महाभारतमा एउटा प्रसङ्ग छ कि एउटा आकाशयन्त्रको निर्माण गरिएको हुन्छ जसमा एउटा माछाको आँखामा वाण हान्नुपर्ने हुन्छ । आकाशयन्त्रको माछा घुमिरहेको हुन्छ र तलतिर तेलको भाँडोमा घुमिरहेको यन्त्रमाछाको प्रतिविम्बमा हेरेर आकाशयन्त्रको माछाको आँखामा वाण हान्नुपर्ने हुन्छ । यसको अन्य महŒव त छँदैछ, यन्त्रयुगको शुरूआत भइसकेको थियो भन्ने पनि स्पष्ट हुन आउँछ ।

आज संसारमा भगवान् श्रीकृष्णको नाममा लाखौं प्रणामीहरू बनेका छन् । प्रणामी बन्नु भनेको माछा, मासु र अन्डा त्याग्ने शाकाहारी बन्नु हो, श्रीकृष्णको मूल आदर्श स्वीकार गर्नु हो, सम्भव भएसम्म समाजसेवा गर्नु हो र श्रीकृष्णको भजन–कीर्तनमा रमाउनु हो । विभिन्न देशमा यस प्रकारका प्रणामी अनुयायीहरू रहेका छन् । यस्ता प्रणामीहरू जो जहाँ रहे पनि र जो जहाँका रहे पनि एकापसमा अत्यन्त घनिष्ठ सम्बन्ध भएका हुन्छन्, अत्यन्त आत्मीय हुन्छन्, हार्दिक हुन्छन्, सहयोगी हुन्छन् । परस्परमा आफन्त र आफन्तभन्दा पनि निकटस्थको भावना राख्ने प्रणामीहरू मन र चरित्रले सफा हुन्छन्, भनिन्छ । मन, वचन र कर्मले श्रीकृष्णप्रति समर्पित आस्था राख्ने यस समुदायका मानिसहरूले एक दिन संसार यसरी नै बदलिने र श्रीकृष्णमय हुने विश्वास राख्दछन् । मानवको रूपमा जन्मेका अहिलेसम्मका सबैमध्ये सर्वोच्च प्रतिभासम्पन्न भगवान् श्रीकृष्णलाई आदिपुरुष पनि मान्दछन् ।

महाभारतमा श्रीकृष्णले विराट् रूप अर्थात् विश्वरूपको दर्शन गराएका छन् । आफूलाई चराचर ब्रह्माण्डको स्वामी वा सञ्चालक बताउने श्रीकृष्ण अर्जुृनका सारथि बन्दछन् । एक निमेषमैं युद्ध समाप्त गरिदिन सक्ने सामथ्र्य राखे पनि पीडा सहन्छन्, दुःख–सुखमा सहभागी हुन्छन्, पक्ष र विपक्ष बन्दछन्, युद्धमा सहभागी हुन्छन् । अस्त्र नउठाउने वाचा गरेका हुन्छन् । सम्पूर्ण जगत्का परम सत्य भएर पनि अन्याय देख्दछन्, भोग्दछन् र सहन्छन् । सर्वशक्तिमान भएर पनि निरीहसरह हुन्छन् । यस्तो त केवल महान् तपस्वीले मात्र गर्न वा सहन सक्छ । हो, श्रीकृष्णलाई महान् तपस्वी मान्नेहरू पनि छन् ।

गीता आज पनि अनेक दर्शनको स्रोत हो । गीताजस्तो दर्शनका जनक श्रीकृष्णलाई जीवन र जगत्का कुन पक्षको ज्ञान थिएन ? गीताको अध्ययन गर्नेहरूले जीवन दर्शनसम्बन्धी कुनै पक्षको ज्ञानको कमी अहिलेसम्म पनि यसमा अनुभव गर्न सक्दैनन् । विश्वमा विभिन्न रूपमा गीताको अध्ययन आज पनि यसरी गरिन्छ ः यो धर्मग्रन्थ हो र यो ज्ञानग्रन्थ हो । धर्मग्रन्थको रूपमा लिनेहरूले यसलाई जति महŒव दिन्छन्, ज्ञानग्रन्थको रूपमा लिनेहरूले पनि उत्तिकै महत्व दिंदा रहेछन् ।

भगवान् श्रीकृष्णको जीवन र चरित्रको विषयमा अनेक किसिमले व्याख्या र विश्लेषण गर्न सकिन्छ । श्रीकृष्ण जीवित छँदै युगले उनको पूजा गरिरहेको थियो । उनी आफूलाई भगवान् भन्दथे पनि र भगवान्को रूपमा आफूलाई जहाँ आवश्यकता पर्दथ्यो, साबित गर्दथे पनि । द्रोपदीको चीरहरणको बेला भगवानको स्मरण गर्दा जसरी कपडाकै स्वरूपमा भगवान्ले सहयोग गरेका थिए, त्यो अकल्पनीय र अद्वितीय थियो । बनवासको समयमा ऋषिहरूको समूह जो खानको लागि पुगेका थिए तर द्रोपदीसित केही पनि थिएन, त्यस अवस्थामा ऋषिको क्रोधबाट जोगिन द्रोपदीले श्रीकृष्णको स्मरण गरेकी थिइन् तब ऋषिहरू स्वतः अघाएका थिए । यस्ता कल्पनाहरूले गर्दा महाभारत ग्रन्थ अनौठो त बनेको छ नै, यही श्रीकृष्णसित जोडिएर सन्दर्भहरू आउँदा सर्वसाधारणका लागि विश्वसनीय बनेका छन् ।

समग्रमा भगवान् श्रीकृष्णको व्यक्तित्व र कृतित्वलाई जति धेरै दृष्टिकोणबाट बुझ्न सकिन्छ, उति धेरै कोण बुझ्न बाँकी नै रहन्छ । त्यसैले छोटकरीमा के भनिन्छ भने श्रीकृष्ण मानव जीवनका लागि अनेक युगका प्रवत्र्तक हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here