्चिरञ्जीवी सापकोटा, ठोरी, २ भदौ/

वीरगंज–ठोरी हुलाकी सडक अन्तर्गत  ठोरी गाउँपालिका वडा नं २ र ३ लाई जोड्ने ठुटेखोला पुलको पूर्वपट्टिको बाटो आजबाट सञ्चालनमा आएको छ । ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठको नेतृत्वमा बहुप्रतीक्षित बाटो सञ्चालनमा ल्याएपछि ठोरीवासी अत्यन्तै हर्षित छन् ।

बिहीवार बिहानैदेखि  ठोरी गाउँपालिकाका अध्यक्ष श्रेष्ठ स्वयम् उपस्थित भई बाटो सञ्चालनमा ल्याएका हुन् । उक्त बाटो सञ्चालन नभएको कारण ठोरीका नागरिक तथा ठोरी घुम्न आउने पर्यटकहरूले  सास्ती भोग्नुपरेको थियो ।

उक्त क्षेत्र हुलाकी सडक निर्माण गर्ने ठेक्का पाएको कालिका/बानियाँ जेभीले विवादका कारण कार्य गर्न सकेको थिएन ।

ठुटेखोलाबाट भारतीय पक्षले सिंचाइको लागि कुलो निर्माण गरी पानी लगेको कारण भारतीय पक्षबाट बारम्बार अवरोधका कारण यस स्थानमा विवाद उत्पन्न हुने गर्दथ्यो । तर ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले भारतीय पक्षका स्थानीय मुखियाहरूसँग निरन्तर सम्पर्क, सहकार्य र समन्वय गरी बाटो सञ्चालन गरिएको बताए । आफूलाई पनि बाटो सञ्चालनमा नआउँदाको पीडा थाहा भएकै कारण समस्याको समाधान गरिएको अध्यक्ष श्रेष्ठले बताए । भारतीय पक्षका धमौरा पञ्चायतका मुखिया श्यामबिहारीले आफूहरूलाई पानीसँग मात्र सरोकार रहेकोले नेपाली पक्षले पर्याप्त पानी जाने वातावरण बनाइदिएकोले कुनै गुनासो नरहेको बताए ।

पुलको बाटो सीधा नहुँदा र घुमौरो ड्राइभर्सनको बाटो प्रयोग गर्दा ठोरी घुम्न आउने पर्यटकहरूलाई धेरै कठिनाइ हुने गरेको र घुमौरो बाटोमा पर्ने साना काठे अस्थायी पुलले सवारीसाधनमा समेत कठिनाइ रहेको कारण अब उप्रान्त कसैले पनि गुनासो गर्ने ठाउँ नरहेको निर्मल–ठोरी उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले बताए ।

पुल निर्माण भएको चार वर्षपछि भारतीय पक्षले प्रयोग गर्दै आएका दुईवटा कुलोमध्ये पश्चिमपट्टिको कुलो जनप्रतिनिधि र स्थानीयहरूको पहलमा ड्राइभर्सन बनाइ सञ्चालनमा आएको बाटो आजबाट पूर्णरूपेण सञ्चालनमा आएको हो । हुलाकी सडकले पुनः टेन्डर गरेपछि मात्र कालोपत्रेको काम हुनेछ । बाटो खुलाउने कार्यमा गाउँपालिकाकी उपाध्यक्ष गोकुली रेग्मी, वडा नं २ र ३ का जनप्रतिनिधि, स्थानीय सामाजिक अगुवाहरूको समेत सक्रिय सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here