प्रस, परवानीपुर, २ भदौ/
वीरगंजमा एक अर्बको लगानीमा निजी अस्पताल सञ्चालनमा आएको छ । बारा, परवानीपुर गाउँपालिका वडा नं ५ बहुअरीमा करीब चार बिघा क्षेत्रफलमा एक अर्बको लगानीमा चार तले सुुविधासम्पन्न अस्पताल गत साउन ९ गतेदेखि सञ्चालमा आएको छ । सय शøया क्षमताको अस्पतालको चार तले भवन नौ कठामा छ भने बाँकी जग्गा खाली रहेको छ । वीरगंज–कलैया सडकखण्ड अन्तर्गत लक्षुमनवानजीकै पर्ने उक्त अस्पतलामा हाल जेनरल, स्त्री तथा प्रसूति सेवा, अर्थोपेडिक, आइसियू, एनआइसियू, न्यूरोलगायतका विभाग शुरू गरिएको छ ।
वीरगंज–१४ पिपरा बस्ने न्यूरो विशेषज्ञ डा श्यामबाबू प्रसादले चार वर्षअघिदेखि वीरगंज–८ पानीटङ्कीमा डा पिङ्गला अमात्यको अस्पताल भाडा लिएर एलएस न्यूरो हस्पिटल प्रालि सञ्चालन गर्दै आएका थिए । नयाँ ठाउँमा सुविधासम्पन्न अस्पताल निर्माण गरी अस्पताललाई स्थानान्तरणसमेत गरिएको अस्पतालका प्रबन्ध निर्देशक एवं डा श्यामबाबू प्रसादका दाइ रामप्रवेशप्रसाद कुर्मीले बताए । अस्पताल सञ्चालनमा आएपछि १५ जना चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी गरी कुल १५० जनाले रोजगार पाएका छन् । अस्पताल निर्माणमा सानिमा बैंकले ऋण कारोबार गरेको छ । वीरगंजमा सुविधासम्पन्न न्यूरो अस्पतालको आवश्यकतालाई महसूस गरी लगानी गरी अस्पताल सञ्चालनमा ल्याइएको बताइएको छ । वीरगंजमा सञ्चालित यसअघिको एलएस न्यूरो अस्पताल पानीटङ्कीमा पनि पर्सा, बारा, रौतहट, सर्लाही, बिहारसम्मका बिरामीहरू उपचार गराउन आउने गरेका थिए । सवारी दुर्घटनामा परी तत्काल उपचारका लागि बिरामीहरू काठमाडौं, चितवनभन्दा पहिले नजीकको अस्पतालमा उपचार गर्न उचित ठान्ने भएकोले वीरगंजमा न्यूरो अस्पतालमा लगानी गरेको प्रबन्ध निर्देशक कुर्मीले बताए ।
नर्सिङ कलेज खोल्ने लक्ष्य
अस्पतालको खाली जग्गामा नर्सिङ कलेज खोल्ने लक्ष्य रहेको छ । वीरगंजमा नर्सिङ, एचए, सिएमएलगायतका अध्ययनका लागि भौतिक पूर्वाधार खडा गरी कलेज सञ्चालनको लक्ष्य पनि रहेको छ ।
वीरगंजमा स्वास्थ्यसँग सम्बन्धित प्राविधिक शिक्षातर्फ पनि विद्यार्थीको चाप बढिरहेकाले वीरगंजमा सुविधासम्पन्न शिक्षण संस्थाको आवश्यकता महसूस गरी व्यवस्थापकीय टोलीले गृहकार्यमा जुटेको उनले बताए ।