• राजेश मिश्र

 “आजको ताजा खबर… बिर्तास्थित डिएसपी कार्यालका हवलदार…” समाचारको शीर्षक जोडजोडले चिच्याउँदै वीरगंजका गल्ली–गल्लीमा पत्रिका बेच्दै हिंड्ने ती मानिसको स्वर आज पनि धेरैलाई सम्झना होला । वीरगंजबाट प्रकाशित हुने विभिन्न पत्रिकाको पोको लिएर उनी दिनभरि पत्रिका बेच्थे । बेलाबखत पोखरियाबाट वीरगंज आउँदा म पनि पत्रिका किन्थें । अर्कोपटक वीरगंजको यात्रा नहुँदासम्म सोही पत्रिका दोहो¥याइ–तेहे¥याइ पढ्थें ।

वीरगंज–पोखरिया बससेवा सञ्चालनमा आएपछि पत्रिका नियमित पाइन्थ्यो । त्यसअघि एकमात्र रेडियो नेपालबाहेक समाचारको भोक मेटाउने अर्को विकल्प थिएन । शहर केन्द्रित पत्रिकाहरूमध्ये देहातमा पहिलोपटक प्रतीक दैनिकले प्रवेश गरेको मलाई अहिले पनि सम्झना छ । आफ्नै आसपासका घटना समाचारको रूपमा पढ्न पाउँदा पत्रिकासँग अन्तरङ्ग सम्बन्ध बढ्न थाल्यो ।

 ‘बबुवो, आजु के पत्रिका नइखे आइल का ?’ अर्थात् ‘बाबु, आजको पत्रिका आएको छैन कि क्या हो ?’ कुनै कारणवश पत्रिका नआएको खण्डमा पत्रिका वितरकसँग सोध्थें । यातायात वा अन्य कुनै पनि कारणले पत्रिका नआएमा र पढ्न नपाइएमा खल्लो लाग्थ्यो । पत्रिका पढ्ने मेरो बानी दिनचर्याको अभिन्न अङ्ग भइसकेको थियो ।

यातायातको विस्तारसँगै प्रतीक दैनिक क्रमशः पर्साको पोखरियापछि लङ्गडी, भिस्वा र ठोरीलगायत पर्साका अधिकांश स्थानमा पुग्न थाल्यो । ग्रामीण क्षेत्रमा नेता टाइपका मानिसले प्रतीक दैनिक पढेर समाचारबारे अवगत हुन्थे । राजधानीसँग सम्बन्धित घटना वा राजनीतिक घटनाक्रमबारे समाचार पढेर उनीहरूले त्यस्ता घटनाबारे गाउँँका अन्य मानिसहरूलाई आफूलाई मात्र थाहा भएको जस्तै सुनाउँदै हिंड्थे । ग्रामीण मानिसहरू आश्चर्यचकित त हुन्थे नै कसरी थाहा पाएको भन्ने प्रश्नमा उनीहरूले सदरमुकाम वा राजधानीका प्रमुख व्यक्तित्वसँग थाहा पाएको भन्दै आफूलाई उच्च व्यक्तित्वको रूपमा प्रस्तुत गर्दथे ।

तीन दशकअघि स्थानीय पत्रिकाको दाम मलाई याद भएसम्म एक रुपियाँँ थियो । त्यसको धेरैपछि दुर्ई रुपियाँँ र अहिले वर्षौंदेखि पाँच रुपियाँँ छ । पत्रिकामा स्थानीय खबरसँगै खेलकूद र अन्तर्राष्ट्रिय लगायत विविध क्षेत्रका गतिविधि अवगत हुन्थ्यो । मेरो बानी के थियो भने पत्रिका खरीद गरिसकेपछि रुचि अनुसार पत्रिकाको प्रत्येक समाचार र एक/एक शब्द पढ्थें । पत्रिका पढ्ने बानीसँगै लेखप्रति म आकर्षित हुन थालें ।

म वीरगंज आउँदा थरीथरीका पत्रपत्रिका किन्थे । लेख लामो भएको हुनाले प्रायःजसो राति सुत्ने बेलामा पढ्थे । प्रतीक दैनिकको प्रकाशनअघि वीरगंजमा सम्भवतः एकाधवटा मात्र पत्रिका थिए भने बिस्तारै थपिंदै गए र अहिले पनि थपिने क्रम जारी छ । पाठकको रूपमा प्रतीक दैनिकसँग मेरो अन्तरङ्ग सम्बन्ध झन्डै तीन दशकदेखि छ । पत्रिका पढ्ने बानीले सञ्चार क्षेत्रमा काम गर्ने रहर जागृत भयो । आफ्नो गाउँठाउँका समस्या बाहिर ल्याउनुपर्छ भन्ने कुरा रुचिमा परिणत
भयो । 

विसं २०५७/५८ सालताका वीरगंजबाट प्रकाशित हुने एक पत्रिकामा म पोखरियाबाट संवाददाता भई काम गर्न थालें । शुरूका दिनमा नामसहित समाचार प्रकाशित हुँदा मन प्रफुल्लित हुन्थ्यो । समाचार प्रकाशन भएकै कारण सरकारी कर्मचारीहरूको काम कारबाईमा सुधार देखिंदा काम गर्ने जोश बढ्थ्यो । तर पत्रकारिताको अलावा आमाबुबा, पत्नी तथा छोराछोरीहरूको पालनपोषणको जिम्मेवारी पनि उत्तिकै अनिवार्य थियो । पारिवारिक जिम्मेवारीमा आइसकेपछि आर्थिक आम्दानीविना एक कदम अघि बढ्न सम्भव थिएन ।

वैवाहिक जिम्मेवारीमा आइसकेकोले काम र आर्थिक आम्दानी दुवै आवश्यक थियो । सञ्चार कर्ममा सामाजिक मानमर्यादा जतिसुकै पाए तापनि परिवारको पालनपोषण सम्भव नहुने अनुभूति कष्टजनित थियो । पछि सञ्चार कर्म परित्याग गरी पुनः पाठक भएँ । गाउँँदेखि वीरगंजमा पाइला टेकेपछि थरीथरीका पत्रपत्रिका किन्ने र पढ्ने अवसर पाएँ । टेलिविजन हेर्नुभन्दा मलाई आज पनि पत्रपत्रिका पढ्ने बानी छ । मेरो अनुभवमा पढ्ने बानीले शब्द र शैलीको ज्ञान क्रमशः विस्तार हुँदै जान्छ ।     

पेशागतरूपमा प्रतीक प्रकाशन समूहसँग मेरो आबद्धता केही वर्षदेखि मात्र भयो । संयोगवश प्रतीक प्रकाशन समूहमा आबद्ध भई काम गर्ने अवसर प्राप्त भयो । अहिले संवाददाताको कामसँगै शनिवारको दिन ‘सरोकार’ स्तम्भमार्फत नियमित कलम चलाउँदै आइरहेको छु ।

फर्केर हेर्दा यस्तो लाग्छ कि शायद उहिले प्रतीकसँग आबद्ध हुने मौका पाएको भए पत्रकारिताको ज्ञान र काम गर्ने जोश आजको भन्दा कयौं गुणाले वृद्धि हुन्थ्यो ।

किनभने कुनै पनि क्षेत्रमा सो क्षेत्रको विशेषज्ञ व्यक्तित्वहरू माझ काम गर्दा झन् परिष्कृत हुने वातावरण मिल्छ । म प्रतीक दैनिकसँग आबद्ध भएपछि प्रत्यक्ष अनुभूति गरेको कुरा हो । ज्ञान, प्रोत्साहन र सहानुभूतिसँगै काम गरेबापत पारिश्रमिक पनि पाउँदो रहेछ भन्ने कुरा मलाई प्रतीकमा आबद्ध हुनुभन्दा पहिले थाहा थिएन । पहिलोपटक प्रतीक दैनिकबाट प्राप्त गरेको चेकले खुशी मात्र प्रदान गरेन, अपितु काम गर्ने क्षमताका साथै  जिम्मेवारी बढ्यो ।

शुरूदेखि अहिलेसम्मको अवस्था हेर्दा विभिन्न सञ्चारमाध्यमहरूको भीडमा प्रतीक प्रकाशन समूहले प्राकृतिक विपद्, आन्दोलन वा कोरोनाकाल जस्ता विभिन्न आपत्विपत्मा अझ बढी जिम्मेवारीपूर्वक काम गर्ने तत्परताले प्रतीक दैनिक सर्वप्रिय पत्रिका हुनुको मूल कारण हो जस्तो मलाई लाग्छ । विभिन्न आरोह–अवरोहको बावजूद पत्रिकाको सम्पादन, प्रकाशन र वितरणलाई नै सर्वोपरि ठान्ने कुरामा अहिले पनि रतिभर कमी छैन । यी विगतका संस्मरणहरू हुन् ।

केही वर्षदेखि प्रतीक दैनिकको वार्षिकोत्सवमा म पनि सहभागी हुँदै आइरहेको छु । प्रत्येक वर्ष भदौ १ गते प्रतीक प्रकाशन समूहले वार्षिकोत्सवसँगै पुरस्कार वितरण गर्दै आइरहेको छ । आज भदौ १ गते बुधवारका दिन नेपाल पत्रकार महासङ्घ, पर्साको सभाहलमा कार्यक्रमका साथै सुबोध स्मृति पुरस्कार पत्रकार गोविन्द देवकोटालाई दिइँदैछ । त्यसैगरी, स्तम्भकार विश्वराज अधिकारी, संवाददाता राधेश्याम पटेलसमेत समूहका कर्मचारी मोहन दास तत्वा पनि पुरस्कृत हुँदैछन् । वार्षिकोत्सवको पुनीत उपलक्ष्यमा म पनि अत्यन्तै हर्षविभोर छु । प्रतीक दैनिकको उत्तरोतर प्रगतिका साथै ३६औं वार्षिकोत्सवको शुभ घडीमा पाठक, विज्ञापनदाता, अध्यक्ष, प्रधानसम्पादक, सम्पादक, स्तम्भकार, संवाददाता तथा समूहका समस्त कर्मचारीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here