प्रस, वीरगंज, ३० साउन/
वीरगंज महानगरका प्रमुख राजेशमान सिंहको नेतृत्वमा किसानहरूले आइतवार कृषि सामग्री कम्पनी लि., प्रादेशिक कार्यालय, वीरगंजको गोदामबाट नियन्त्रणमा लिइएको चार ट्रक युरिया मल सोमवार सहमतिमा फिर्ता भएको छ ।
वीरगंज महानगरका किसानहरूलाई थप युरिया मल उपलब्ध गराउने कृषि सामग्री कम्पनीका कामु प्रबन्धक, सञ्चालक र सङ्घीय सरकारका कृषि तथा पशुपक्षी मन्त्रीसमेतको सहमति प्राप्त भएपछि सहमति गरेर मल फिर्ता गरिएको वीरगंज महानगरपालिकाले जनाएको छ । सहमतिपत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल र कृषि सामग्री कम्पनी लि.का प्रादेशिक प्रमुख चन्द्रप्रसाद चौलागाईंले हस्ताक्षर गरेका छन् ।
सहमति अनुसार महानगरपालिकालाई हाल दुई हजार ७७१ बोरा युरिया मल उपलब्ध गराएकामा सोबाहेक एक साताभित्र छ हजार बोरा युरिया मल उपलब्ध गराउने, कृषि सामग्री कम्पनीले उपलब्ध गराउने युरिया मल नयाँ प्रणालीमार्फत महानगरको रोहबरमा वितरण गर्ने र कोलकाताबाट आयात हुने मलमध्ये चार हजार बोरा युरिया मल वीरगंज महानगरलाई थप उपलब्ध गराउने सहमति भएको छ ।
नगरप्रमुख सिंहको नेतृत्वमा हिजो किसानहरूले चार ट्रक युरिया मल नियन्त्रणमा लिएर महानगरको बाल मन्दिरमा राखेका थिए ।