एउटा समय थियो, नेपालमा मौसम विज्ञान विभागले गरेको मौसमसम्बन्धी भविष्यवाणीमा मानिसले विश्वास मात्र गर्दैनथे, उल्टो अर्थ निकाल्थे । पानी पर्छ भनेको दिन पानी त के आकाशमा बादल नै नदेखिने, र घाम लाग्छ भनेको दिन पानी नपरेपनि आकाशमा बादल देखिन्थ्यो । आज अवस्था धेरै परिवर्तन भएको छ । आज प्रायः समाचार माध्यमहरूले जल तथा मौसम विज्ञान विभागको भविष्यवाणी मात्र छाप्दैनन्, भविष्यवाणी प्रायः सत्य पनि हुन्छ । यसको कारण जल तथा मौसम विज्ञान विभाग मात्र होइन, समृद्ध प्रविधिको सुविधा र दक्ष मौसमविद्हरूको कार्य क्षमता हो । जति साधन हुन्छ, त्यति सटिक मौसमको जानकारी प्राप्त हुन्छ । आज सेटेलाइटको माध्यमले हामी प्रकृतिको भित्री रहस्य बुझ्न सक्षम हुँदै गएका छौं । त्यो प्रविधि हामीले अरूसँग उधारो लिएको हो । भोलि हामीसँग आफ्नो प्रविधि हुने हो भने मौसमको अझ राम्रो भविष्यवाणी हुन सक्छ । अहिले जल तथा मौसम विज्ञान विभागसँग लामो अनुभव भएका, सोही विषयमा अध्ययन गरेको दक्ष जनशक्ति छ । साथै लामो समय काम गरेबापत प्रविधिइतर ज्ञान पनि छ ।
हुनत मौसमबारे जतिसुकै उच्च प्रविधि भए पनि ठ्याक्कै भविष्यवाणी गर्न सक्ने ल्याकत विकसित मुलुकहरूमा पनि छैन । तर उच्च प्रविधि र सयौं वर्षको मौसमको विश्लेषण गरेर उनीहरू करीबकरीब सत्यको नजीक पुग्न सफल हुन्छन् । यसै क्रममा देशको मौसमबारे अझ सटिक जानकारी प्राप्त गर्न भर्खरै जल तथा मौसम विज्ञान विभाग (डिएचएम) ले फिनल्यान्डको फिनिस मेटेरोलोजिकल इन्स्टिच्युट (एफएमआई) सँग सम्झौता गरेर अघि बढ्ने सहमति गरेको छ । यस सहकार्यबाट डिएचएमको मौसम पूर्वानुमान क्षेत्रमा कार्यक्षमता बढ्ने तथा हवाई उड्डयनमा एफएमआईको अनुभव पाएर निरापद उड्डयनको लक्ष्य हासिल गर्न सक्षम हुनेछ । नेपाल भौगोलिक तथा आर्थिकरूपमा सानो मुलुक भएकोले यसकोक्षेत्र विविधीकृत छ, जसले गर्दा सबै क्ष्Fेत्रको विश्लेषण आफैं गर्न सकिरहेको छैन । फेरि जलवायु परिवर्तनका लागि आफू न्यून जिम्मेवार भएर पनि दुई अति विशाल र औद्योगिक मुलुकहरूको बीच अवस्थित यो सानो मुलुकले मौसमसम्बन्धी प्रतिकूलताको मार खेप्नुपरेको छ । यस्तोमा मौसमसम्बन्धी जोखिमको सामना गर्दै आएको फिनल्यान्डको सहकार्यले नेपाल पनि प्राविधिक क्षमता अभिवृद्धि, संस्थागत सुदृढीकरण र सम्बद्ध क्षेत्रमा अनुसन्धान गर्न सक्षम हुने नै छ ।
यसो त जल तथा मौसम विज्ञान विभागले सन् २०१० देखि नै एफएमआईसँग विभिन्न सहयोग प्राप्त गर्दै आएको छ । तर यताका दिनमा जलवायु परिवर्तनको असर नेपालमा समेत नराम्ररी पर्न थालेको छ । यस्तोमा उच्च प्रविधियुक्त दक्षताका साथ काम गर्दा मौसमसम्बन्धी जानकारीबाट विश्व समुदाय र नेपाली जनता पनि लाभान्वित हुने देखिन्छ । समुद्र किनारका मुलुकहरू प्रायः विकसित रहेका र उनीहरूसँग मौसम पूर्वानुमानसम्बन्धी उच्च प्रविधि रहेकोले भूकम्प, सुनामी, बाढीलगायत अन्य मौसम परिवर्तनको समय अगावै सूचना पाएर धन नभए जनको सुरक्षा हुँदै आएको छ । तर पहाड र सँगै टाँसिएको तराईको समतल भूभागका बासिन्दालाई बाढी–पहिरोको सूचना दिन नसक्दा बर्सेनि अनाहक हजारौंको ज्यान जाने गरेको छ । यस सहकार्यबाट नेपालले पनि उच्च प्रविधिको पहुँचबाट मौसम विश्लेषण गरेर, प्राप्त पूर्वानुमानको आधारमा भविष्यवाणी गर्दा प्राकृतिक विपदाबाट केही भए पनि त्राण पाउने छ ।