प्रस, परवानीपुर, २९ साउन/
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको नेतृत्वमा वीरगंज महानगर–१६ भुटनदेवी मन्दिरनजीक रहेको कृषि सामग्री कम्पनीको गोदामबाट युरिया मल लोड छवटा ट्रक नियन्त्रणमा लिइएको छ ।
कृषि सामग्री कम्पनीको प्रादेशिक बिक्री केन्द्र वीरगंजस्थित कार्यालय हो । भारत तथा विदेशबाट आउने मल वीरगंज नाकाबाट भित्रिने तर पर्सा जिल्लाकै किसानलाई आवश्यकता अनुसार मलखाद उपलब्ध नगराइएका कारण मलको कोटा बढाउन माग गर्दै उक्त मल नियन्त्रणमा लिइएको हो ।
बिहान नियन्त्रणमा लिइएका छवटा ट्रक अहिले वीरगंज आदर्शनगरस्थित बालमन्दिर परिसरमा राखिएको छ । कृषि सामग्री कम्पनीले हरेक वर्ष यहाँका सहकारीमार्फत आठ सय टन मल बिक्री वितरण गर्दै आएको छ । जबकि पर्सामा मात्रै युरिया मल वार्षिक आठ हजार टन खपत हुन्छ ।
रोपाइँ सकिए पनि समयमा डिएपी मल आउन नसकेको र युरिया मल छर्ने बेलामा पनि सहजरूपमा नपाएका कारण पर्साका किसानहरूले महानगरका प्रमुख सिंहसँग गुनासो गरेका थिए । पर्साका किसानलाई मल नदिने तर नेपालका अन्य जिल्लामा ट्रकका ट्रक मल गइरहेको आरोप लगाएर मल नियन्त्रणमा लिएको जनाइएको छ । यस विषयमा पर्सा जिल्लाका किसान अगुवा, नगरप्रमुख सिंह र कृषि सामग्री कम्पनीका प्रमुख चन्द्र चौलागाईंबीच मलको कोटा बढाउनेबारे छलफल भएको बताइएको छ ।