प्रस, निजगढ, २९ साउन/

निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा नै कामकाजका लागि खटाइएको छ ।

मन्त्रालयले २०७९/०४/२६ गते ईमेलमार्फत निजगढ नगरपालिकाको कार्यालयलाई पत्राचार गर्दै सो जानकारी गराएको निजगढ नपा प्रशासन शाखा स्रोतले जानकारी दिएको छ ।

२०७९/०४/११ गते सचिवस्तरको निर्णयले निजगढमा उपसचिव हरिलाल पुरीलाई सरुवा र सुमनकुमार कार्कीलाई जिल्लाकै पचरौतामा सरुवा गरे पनि सो निर्णय एक साता पनि नबित्दै निजगढ नपामा कार्कीलाई नै पुनर्बहाली गरिदिएपछि निजगढ नपामा समस्या निम्तिएको थियो । मन्त्रालयले कार्कीलाई नै पुनर्बहाली गरेपछि अप्राकृतिक भएको भन्दै मन्त्रालयले गरेको त्रुटिलाई मन्त्रालयले नै यथाशीघ्र सच्याउनुपर्ने अडान राख्दै प्रमुख प्रशासकीय अधिकृत कार्कीको कार्यकक्षमा नगरप्रमुख सुरथ पुरीले तालाबन्दी गरी हाजिरीसमेत गर्न दिएनन् ।

मन्त्रालयले गरेको गलतीलाई सच्याउँदै एघार दिनपछि उपसचिव कार्कीलाई मन्त्रालयमा नै कामकाजका लागि खटाइएपछि निजगढ नपाको दुई सातायतादेखिको प्रमुख प्रशासकीय अधिकृतको सरुवा र बहालीको तत्कालीन गतिरोध अन्त्य हुने सङ्केत देखिएको छ । निजगढ नपाको प्रमुख प्रशासकीय अधिकृतमा भने अहिले कसैलाई नतोकिएको निजगढ नपा प्रशासन शाखाले जनाएको छ ।

राजनीतिक खिंचातानीका कारण नगरप्रमुखले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा र बहुमत नगर कार्यपालिका सदस्यहरूले नगरप्रमुख पुरी र उपप्रमुख सोममाया थिड्ढो कार्यकक्षमा तालाबन्दी गरी नगरपालिकालाई बन्धक बनाउने, सर्वसाधारण जनतालार्ई सेवाप्रवाहबाट वञ्चित गराउने कार्य अमर्यादित, जनभावनाविपरीत भएको भन्दै ७२ घण्टाभित्र तालाबन्दी नखोलिए राष्ट्रिय प्रजातन्त्र पार्टी, निजगढ नगर कार्यसमितिले ताला खोल्ने जानकारी दिएको छ ।

निजगढ नपाका लेखा अधिकृत शिवप्रसाद देवकोटालाई आइतवार कार्यालयमा भेटी राप्रपाले ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्रमा राप्रपा नगर अध्यक्ष खड्गप्रसाद उप्रेतीले जनताका हरेक गतिविधि, कार्यमा प्रत्यक्ष जोडिने स्थानीय तहमा नै तालाबन्दी हुनु अराजक स्थिति निम्त्याउन खोज्नु हो भन्दै अविलम्ब निकास निकाल्न माग गरेका छन् । उक्त समस्याको निकासका लागि बेलैमा जिम्मेवार तहमा रहने सबैको ध्यान जानुपर्ने स्थानीय समाजसेवी एवं राप्रपा केन्द्रीय सदस्य विनोद भारतीले बताए ।

ज्ञापनपत्र दिने टोलीमासावित्री भारती, भक्तबहादुर दर्लामी, वासुदेव तिमल्सिना, खड्गबहादुर आलेलगायत सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here