न्युयोर्क, २८ साउन/एएफपी
न्युयोर्क राज्यको एक साहित्यिक कार्यक्रममा छुरा प्रहारपछि घाइते भएका विश्व प्रसिद्ध साहित्यकार सलमान रुश्दीको भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको छ ।
उनका सहयोगीले ‘द न्युयोर्क टाइम्स’लाई दिएको जानकारीमा साहित्यकारमाथि आक्रमण हुनु गलत भएको बताएका छन् ।
सहयोगी एन्ड्रयु वाइलीले भने–“सलमानको एउटा आँखा गुम्ने सम्भावना छ । उहाँको पाखुराका नसाहरू काटिएका छन् र कलेजोमा छुरा प्रहारबाट क्षति पुगेको छ । रूश्दी बोल्न नसक्ने अवस्थामा उपचाररत हुनुहुन्छ ।”
सन् १९८८ मा प्रकाशित ‘द सटानिक भर्सेज’ नामक कृतिले मुसलमान समुदाय र धर्मगुरु मोहम्मदको अपमान गरेको आरोप लगाउँदै तत्कालीन इरानी सर्वोच्च नेता आयातोल्ला रूहोल्ला खोमेनीले फतवा जारी गरी हत्या गर्ने आदेश दिएका थिए ।
निजी सुरक्षाका कारण आक्रमण हुन सक्ने त्रासले वर्षौं भूमिगत जीवन बिताउँदै आएका सलमान रूश्दी र उनका सहयोगीमाथि शुक्रवार न्युयोर्कमा आक्रमण भएको थियो । हेलिकोप्टरबाट अस्पताल पु¥याइएका रुश्दीको आकस्मिक शल्यक्रिया गरिएको छ । उनको उपचारमा संलग्न चिकित्सकका अनुसार उनी अहिले बोल्न सक्ने अवस्थामा छैनन् र उनको एउटा आँखाको ज्याति गुम्न पनि सक्ने देखिएको छ ।
उक्त साहित्यिक कार्यक्रममा भाग लिइरहेका अमेरिकी विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक कार्ल लेभानले एएफपीलाई बताए अनुसार आक्रमणकारीले रुश्दी बसेको मञ्चमा पुगेर पटक–पटक र निर्मम तरीकाले छुरा प्रहार गरेको थियो ।
कार्यक्रममा उपस्थित एकजना सैनिकले आक्रमणकारीलाई पक्राउ गर्नु अघि कैयौं मानिस दौडेर स्टेजमा पुगेर आक्रमणकारीलाई भुईंमा लडाएका थिए । श्रोताहरूमध्येकै एकजना चिकित्सकले उनको प्राथमिक उपचारमा सघाएका थिए ।
न्युयोर्क राज्यको प्रहरीले आक्रमणकारी न्यूजर्सीको फेयरफिल्डका २४ वर्षीय हादी मटर भएको र उनले रुश्दीको घाँटी र पेटमा छुरा प्रहार गरेको जनाएको छ ।
छुरा प्रहारको कारण भने खुल्न सकेको छैन
स्टेजमा रुश्दीको अन्तर्वार्ता लिइरहेका ७३ वर्षीय राल्फ हेनरी रीजको अनुहारमा पनि चोट लागेको थियो तर उनलाई सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।
बफेलो शहरबाट ७० माइल (११० किलोमिटर) दक्षिणमा रहेको शान्त लेकसाइड समुदायमा साहित्यक कार्यक्रम सञ्चालन गर्ने चौताउक्वा इन्स्टिच्युटमा आक्रमण भएको हो ।
चौताउक्वा इन्स्टिच्युटले जारी गरेको विज्ञप्तिमा भनिएको छ–“हामीमध्ये धेरैले आज जे देखेका छौं, त्यो घृणाको हिंसात्मक अभिव्यक्ति हो जसले हामीलाई तर्साएको छ ।”
चौताउक्वाका नियमित सहभागी सदस्य लेभानले भने–“शङ्कास्पद व्यक्तिले रूश्दीलाई मार्न खोज्नुभन्दा पहिले उनलाई सकेसम्म धेरैपटक छुरा हान्ने कोशिश गरिरहेका थिए । रासस