दायित्वविना उपयोग खोजे दीर्घकालीन हुन सक्दैन । आफ्नै बारी छ, तर किसानले परिश्रम गर्नुपर्ने दायित्व पूरा नगरे अन्न फल्दैन । अन्न नफले भोकै भइन्छ । हरेक व्यक्तिले निर्वाह गर्नुपर्ने आआफ्नो दायित्व तथा जिम्मेवारी छ । परिवारप्रतिको दायित्व, त्यसैगरी समाज र राष्ट्रप्रतिको दायित्व नागरिकका न्यूनतम दायित्वहरू हुन् । यो जहाँ गए र जे गरे पनि सँगसँगै जोडिएर आउँछ । त्यसैगरी, आफू कार्यरत संस्था वा सङ्गठनप्रतिको दायित्व, सेवा उपयोग गरेबापतको दायित्व मुख्यरूपमा आउँछ । यी दायित्व तथा जिम्मेवारीहरू पूरा नगर्ने हो भने तत्काललाई जेसुकै बहानाले टारे पनि अन्ततः त्यसको नकारात्मक असर आफैंले भोग्नुपर्ने हुन्छ । हाम्रो समाजमा सेवा लिने तर दायित्वबाट भने भाग्ने प्रवृत्ति हाबी हुँदैछ । करीब तीन दशकयता हामीमा विकृति बढेको छ । स्वतन्त्रतालाई अराजकता, अनुशासनहीनता र दायित्वविहीनतातर्फ धकेल्ने दुष्प्रयास भइरहेका छन् । ‘जनश्रम’ भन्ने शब्द अब शब्दकोषमा मात्रै सीमित हुने हो कि भन्ने चिन्ता छ ।
‘हिंड्नुभन्दा पहिले बाटो बनाउन सक्नुपर्छ’ भन्ने हाम्रा पुर्खाको अर्ती आजका पुस्ताले बुझ्दैनन् । ‘विनापरिश्रम (दायित्व)को उपभोग हराम हो’ भन्ने बाउबाजेको कथनलाई आजकाहरू बकवास ठान्छन् । चाडपर्व नजीकिंदा गाउँ, टोल, बाटो, चोक एवं सार्वजनिक स्थलहरूको सरसफाइ तथा मरम्मतसम्भार गर्न जुट्ने हातहरू अब जुट्दैनन् । आफूले बनाउनु त कता हो कता अरूले स्थापना गरिदिएका सार्वजनिक सम्पत्तिको संरक्षण गर्नसमेत मरेको जुनी छ । सरकारले बनाइदिएको पक्की सडकमा शहरियाहरू बिहेको पण्डाल गाड्न खाल्डो खन्छन् । उता ग्रामीण क्षेत्रकाहरू खेतीको क्रममा सडक किनाराको माटो खन्ने, जता पाए त्यसैबाट ट्याक्टर खेतमा ओरालेर सडकलाई क्षति पु¥याउने, सडकमा बिस्कुन सुकाउने, चौपाया बाँध्ने जस्ता गैरजिम्मेवार काम गरिरहेका छन् । सडक मेरो हो भन्ने भावना नभई सरकारको हो, मैले जे गरे पनि हुन्छ भन्ने गलत बुझाइ छ । यो प्रवृत्तिले अन्ततः आफ्नै खुट्टामा बन्चरो हान्ने हो । हिजो सडक नहुँदाको बिजोग, आज बिर्सियो । भोलि त्यो सडक बिग्रिएर गएपछि मरम्मतसम्भार भगवान् भरोसे हो । तबसम्म बिग्रिएको सडक, हिलाम्य र धूलाम्मे, सडक दुर्घटना, यात्रा विलम्बलगायतका समस्या सबैभन्दा पहिले उही स्थानीयले भोग्न बाध्य हुन्छन् ।
सिसिटिभी क्यामराको कथा पनि यस्तै हो । हिजो नगरमा सिसिटिभी आउनुभन्दा पहिले अपराधीको साम्राज्य थियो । सिसिटिभीको कारण हिजोको अपराधको अवस्थाबाट नागरिकले आज ठूलो राहत पाएका छन् । टिभी बिग्रिएर नचले पनि अपराधीको मनमा त्रास सिर्जना गरिरहेको हुन्छ । कतिपय घटनामा सिसिटिभीकै माध्यमबाट अपराधी पहिचान गर्न सफल भएका छन् । पहिचान हुन नसके पनि फुटेज बाहिरिएपछि अपराधीहरू त्राहिमाम हुन्छन् र उनीहरूको मनोबल खस्कन्छ । बाराको निजगढमा एकताका सवारीसाधनको ब्याट्री चोर्ने गिरोहले हैरान पारेको थियो । सिसिटिभीको कारण न्यूनीकरण भएको हो । सरकार वा दातृ निकाय जसले जडान गरिदिए पनि त्यसको संरक्षणको जिम्मेवारी स्थानीयले लिन सक्नुपर्छ । सरकारी निकायको स्वामित्वमा रहेको छ भने पनि सञ्चालनमा छ या छैन, अवस्था बुझेर सुझाव र दबाब दिने दायित्व सेवाग्राहीको हो ।