नितेश कर्ण, वीरगंज, २५ साउन/

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, वीरगंजको अगुवाइमा बुधवार वीरगंजका एक दर्जनभन्दा बढी पसल, रेस्टुराँ र बारको अनुगमन गरिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण मन्त्रालयको निर्देशनमा बुधवार देशभरि एकै दिन एकैसाथ अनुगमन गर्ने निर्देशन अनुरूप वीरगंज महानगर–१० आदर्शनगरमा रहेका पसल, रेस्टुराँ र बारको अनुगमन गरिएको हो ।

जनैपूर्णिमा, रक्षाबन्धनलाई लक्षित गरेर भएको अनुगमनमा म्याद सकिएका सामानहरू पसल, रेस्टुराँ र बारबाट बरामद गरिएको र त्यसलाई सार्वजनिक स्थलमा नष्ट गरिएको बताइएको छ ।

अनुगमनका क्रममा सामानमा स्टीकर नभएको, म्याद सकिएको सामान बिक्रीका लागि राखिएको पाइएको र सो सामान नियन्त्रणमा लिएर नष्ट गरिएको थियो । त्यस्ता सामान बरामद भएका पसलहरूलाई रु १० हजारदेखि ५० हजारसम्म जरिवाना गरिएको थियो ।

अनुगमन टोलीमा खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय, नापतौल कार्यालय, वीरगंज उद्योग वाणिज्य सङ्घ, उपभोक्ता हित संरक्षण मञ्च, वीरगंज महानगरपालिका कार्यालय, वाणिज्य कार्यालय, साना उद्योग तथा घरेलु कार्यालय, जिल्ला प्रशासन कार्यालय पर्साका कर्मचारीहरूको सहभागिता थियो ।

प्रस, पोखरिया/

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण मन्त्रालयले आज देशभरका ७५३ वटै पालिकामा एकसाथ बजार अनुगमनका लागि निर्देशन जारी गरे अनुसार पोखरिया नगरपालिका र धोबिनी गाउँपालिकाले पनि बजार अनुगमन गरेको छ ।

पोखरिया नपाकी उपप्रमुख रुबी ठाकुरको नेतृत्वमा जनस्वास्थ्य अधिकृत कौशलेन्द्र मिश्र, सामाजिक विकास शाखा प्रमुख वाल्मीकि साह, रोजगार संयोजक विजय साह र प्रअ पारस ठाकुरको सहभागितामा पोनपा–४ मा रहेको बजारको अनुगमन गरिएको हो । उपप्रमुख ठाकुरले कपडा, मिठाइ, औषधि, किरानालगायतका पसलहरूको अनुगमन गरिएको र उनीहरूले पान नं, व्यावसायिक प्रमाणपत्र लिए नलिएको, पसलका सामानहरूको अवस्था आदि चेकजाँच गरिएको बताइन् ।

यसैगरी, धोबिनी गाउँपालिकाकी उपाध्यक्ष मञ्जु देवीको नेतृत्वमा लङ्गडी बजार अनुगमन गरिएको थियो । म्याद सकिएका सामानको बिक्रीमा रोक लगाउने र उपभोक्ताहरूले गुणस्तरीय सामान खरीद गर्न पाऊन् भन्ने उद्देश्यका साथ अनुगमन गरिएको उपाध्यक्ष मञ्जु देवीले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here