हवाना, २२ साउन/एएनआई
शनिवार मातान्जास शहरस्थित तेल भण्डार केन्द्रमा चट्याङ लागेर आगलागी हुँदा करीब ८० जना घाइते भएका छन् भने १७ जना अग्नि नियन्त्रक बेपत्ता भएका छन् ।
सिबिएस न्युजले ऊर्जा तथा खानी मन्त्रालयलाई उद्धृत गर्दै अग्नि नियन्त्रकहरूले अझै पनि माटान्जास सुपरट्याङ्कर बेसमा आगो निभाउने प्रयास गरिरहेको बताएको छ । शुक्रवार राति शुरू भएको आगलागी अहिलेसम्म नियन्त्रण हुन सकेको छैन । यसैबीच सरकारले सबै प्रकारका घरेलु उयाय अवलम्बन गरेपनि नियन्त्रण गर्न नसकेपछि तेल भण्डारबारे अनुभव भएका मित्र देशहरूबाट अग्निनियन्त्रण विज्ञहरूको मदत मागेको छ ।
आगलागीको आसपासको क्षेत्रलाई नियन्त्रणमा लिन सेनाले हेलिकप्टरबाट पानी खसाल्दै आगो निभाउने प्रयास गरिरहेको छ । मातान्जासका अग्निनियन्त्रक प्रमुख रोबर्टाे डे ला टोरेले भने अनुसार अग्नि नियन्त्रकहरूले आगो फैलिनबाट रोक्नको लागि ट्याङ्कीहरूलाई चीसो राख्न प्रयास गरिरहेका छन् ।
मातान्जासको प्रान्तीय सरकारको फेसबूक पेजले घाइतेको सङ्ख्या ७७ पुगेको र १७ जना बेपत्ता रहेको बताएको छ । घाइतेमध्ये सातजनालाई हवानाको क्यालिक्सटो गार्सिया अस्पतालमा लगिएको बताइएको छ ।
क्युबाले इन्धन अभाव झेलिरहेको बेला यस्तो घटना भएको हो । यद्यपि घटनाको विस्तृत विवरण र क्षति यकीन गर्न सकिने अवस्था अझै छैन । रासस