नेस्कोपेक, पेन्सिलभेनिया, २१/एपी
नेस्कोपेक शहरका स्वयंसेवी अग्निनियन्त्रक ह्यारोल्ड बेकर शुक्रवार बिहानै गर्मी बिदामा पौडी खेल्ने र मनोरञ्जन गर्ने चाहनाले काकाको घरमा बसेका आफ्ना दुई सन्तान भेट्न व्याकुल
थिए ।
दन्दनी दन्केको आगोको ज्वालाले शहरको एउटा घरलाई खरानीमा परिणत गरिरहेको थियो । बेकरले आगो निभाउने ‘होस पाइप’ च्याप्प समातेर आगोमा पानीको फोहोरा सोझ्याए ।
अवर्णनीय पीडा र हतास स्वरमा उनले आफ्नो छोरालाई बोलाए तर जवाफ आएन । बल्ल अग्निनियन्त्रण कार्यालयका प्रमुखले भेउ पाए जलिरहेको घर कसको हो । सहकर्मी अग्निनियन्त्रकले बेकरको हातबाट ‘होस पाइप’ फिर्ता लिए र उनलाई कार्यालयमा फर्काए ।
आफ्नै परिवारका सदस्य र आफन्तसहित दशजनालाई गुमाएका बेकरले आगो निभाएर मुनाजस्ता आफ्ना दुई सन्तान (एक छोरा, एक छोरी)सम्म पुग्न चाहेको बताएका छन् । आगोले उनीहरूको प्राणपखेरु मात्र लिएन, उनको छोराछोरी भेट्ने चाहना अधूरै रह्यो ।
बेकरका आफन्तीको घरमा आगो लाग्दा तीनजना बालबालिकासहित १० जनाको मृत्यु भयो । ज्यान गुमाउनेहरू पाँच, छ र सात वर्षका बालबालिका, १५ वर्षका किशोरदेखि ७० वर्षका वृद्धसम्म छन् । घरका १३ वटा कुकुरको अत्तोपत्तो छैन । आगोले ज्यान लिएकाको शवको परीक्षण आगामी साता गरिने अधिकारीले बताएका छन् ।
उनीहरूका अनुसार घरमा कसरी आगो लाग्यो भन्ने खुलेको छैन । त्यसको अनुसन्धान भइरहेको छ । बेकरले पाएको आगलागीको सूचना अनुसार उनको परिवारका सदस्यको बासस्थाननजीकको कुनै घरमा आगो लागेको थियो तर उनी घटनास्थलमा आइसकेपछि मात्र आफ्नै घर जलेको थाहा पाए ।
चालीस वर्षदेखि आगो निभाउँदै आएका ५७ वर्षीय बेकरले आगो निभाउन नसकेर आफ्ना सन्तानसहित धेरै आफन्त गुमाए । अधिकारीका अनुसार आगो यति विशाल थियो कि घरभित्र प्रवेश गर्न सक्ने अवस्था नै थिएन । रासस