प्रस, वीरगंज, २१ साउन/

वन तथा वातावरण मन्त्री प्रदीप यादवले मुआवजा पाइसकेको जग्गा खाली गरिए मात्र निजगढ विमानस्थल निर्माणका लागि रूख काट्ने अनुमति दिने बताएका छन् ।

सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं ४ मा निर्मित सशस्त्र वनरक्षक ब्यारेक भवनको शनिवार उद्घाटन गर्दै मन्त्री यादवले मुआवजा पाइसकेको जग्गा खाली नहुँदासम्म र पर्याप्त बजेटको सुनिश्चितता नहुँदासम्म एउटा रूख पनि काट्न नदिने बताए ।

उनले भने,“अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआवजा पाइसकेको टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि पर्याप्त बजेटको सुनिश्चितता भएमात्रै रूख कटानका लागि वन मन्त्रालयबाट अनुमति दिन्छु ।”

उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल मधेसको लाइफलाइन भएको हुँदा आफू सोको विरोधी नभएको पनि बताए । “रूख काटेर जग्गा खाली गराउने, त्यही जग्गामा फेरि बस्ती बसाल्ने अनि मुआवजा दिने कुरा अब चल्दैन, पहिले मुआवजा पाएको जग्गा खाली गराएर आवश्यक बजेट विनियोजित हुनुपर्छ, त्यसपछि रूख काट्न थाल्ने हो,” उनले भने, “नत्र रूख कटानको लागि अनुमति दिन्नँ ।” उनले वन माफियालाई तह लगाउनका लागि कुनै पनि कदम चाल्न पछि नहट्ने बताउँदै मन्त्रालयको निर्देशन बमोजिम वनजङ्गलको संरक्षणका लागि काम गर्न निर्देशन दिए ।

वन मन्त्रालय गाली खाने मन्त्रालय भएकोले गाली सहेर पनि वनजङ्गल संरक्षणमा जागरूक हुन उनले आग्रह गरे । राम्रो काम गर्नेलाई सम्मान र नराम्रो गर्नेलाई दण्डित गर्ने बताउँदै उनले सम्मान पाउने लायकको काम गर्न पनि निर्देशन दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here