प्रस, परवानीपुर, २१ साउन/

वीरगंजका लेखक तथा साहित्यकार दिनेश गुप्ताको भोजपुरी भाषामा लेखिएका दुईवटा पुस्तकको शनिवार विमोचन भएको छ ।

कलवार धर्मशाला वीरगंजमा नेपाल भोजपुरी समाजको आयोजनामा भएको कार्यक्रममा गजलको सङ्ग्रह ‘सुतल अब ठिक ना रही’ तथा हाइकू सङ्ग्रह ‘हिरोशिमा’ पुस्तकको विमोचन भएको हो ।

कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबू राउत गद्दीले उक्त पुस्तकको विमोचन गरेका
हुन् ।

पुस्तक विमोचन गर्दै मुख्यमन्त्री गद्दीले मधेसका भाषा तथा कला संरक्षणको लागि कला, साहित्य तथा भाषा प्रतिष्ठान गठन गरी मधेसका भाषा, साहित्य तथा कलाको प्रवद्र्धनको लागि प्रदेश सरकारले कार्ययोजना अगाडि बढाइसकेको बताए । उनले मधेस प्रदेशमा भोजपुरी, बज्जिका र मैथिली भाषाको संरक्षणको लागि बजेटसमेत छुटाएकोले आगामी वर्ष भाषा, साहित्यको क्षेत्रमा विभिन्न काम गर्न सकिने बताए ।

कार्यक्रममा वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले भोजपुरीको गढ वीरगंजमा मैथिली भाषाभाषीको प्रभाव बढेकोमा चिन्ता व्यक्त गरे । उनले मातृभाषाको संरक्षण तथा प्रवद्र्धनको लागि जुट्नुपर्ने बताए । उनले यसको सुरुआत आफूबाट अर्थात् घरबाट भोजपुरी भाषाको विकास तथा प्रवद्र्धन गर्न सकिने औंल्याए ।

नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुवसिंह ठकुरीको अध्यक्षता एवं पोखरिया नगरपालिकाकी पूर्वउपप्रमुख सलमा खातुनको सहजीकरणमा सम्पन्न कार्यक्रममा भोजपुरी प्रतिष्ठानका अध्यक्ष उमाशङ्कर द्विवेदी, डा विश्वम्भर शर्मा, साहित्यकार तथा नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका अध्यक्ष गणेश लाठ, वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोध गुप्ता, लेखक दिनेश गुप्तालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here