• राजेश मिश्र

मधेस प्रदेश अन्तर्गत पर्सा र बारा तथा वाग्मती प्रदेशको मकवानपुर जिल्लाका केही भाग समेटेर पर्सा राष्ट्रिय निकुञ्ज फैलिएको छ । ५०० देखि ९५० मिटर अग्लो चुरे पर्वतमाला, वनजङ्गल तथा जीवजन्तुहरूका साथै निकुञ्जभित्र विभिन्न धार्मिक पर्यटन स्थलहरू छन् । पर्यटकीय सम्भावना र पूर्वाधारको विकासलाई आधार मानेर विसं २०७४ वैशाख २५ को मन्त्रिपरिषदको निर्णयले विसं २०४० मा घोषणा भएको पर्सा वन्यजन्तु आरक्षलाई पर्सा राष्ट्रिय निकुञ्जमा परिणत गरिएको थियो । यद्यपि विसं २०४० देखि हालसम्म विगत ३९ वर्षमा पर्सा राष्ट्रिय निकुञ्ज पर्यटन प्रवद्र्धनमा अपवादबाहेक खासै फड्को मार्न सकेको छैन ।

पर्सा राष्ट्रिय निकुञ्जभित्र हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र भाथाधाम अवस्थित छ । चुरे पहाडको डाँडामा दुग्धेश्वरनाथ महादेव विराजमान छन् । पर्सा र बारासँगै भारत, बिहार र उत्तर प्रदेशका भक्तजनका लागि धार्मिक पर्यटनको गन्तव्य हो । पर्साको सोनबर्सा, गादी, सेढवा तथा सुवर्णपुर हुँदै भाथाधाम जाने धार्मिक पर्यटकहरूको लर्को साउन महीनामा हेर्न लायक हुन्छ । श्रद्धालुहरूको आकर्षणको केन्द्र भाथाधामप्रति सरकारी दृष्टि कुनै पनि कोणले प्रशंसायोग्य भन्न लायक छैन ।

पर्सा जिल्लाको मात्र कुरा गर्ने हो भने सङ्घीय प्रतिनिधिसभा सदस्य—४, प्रदेशसभा सदस्य—८ र पालिका प्रमुख र उपप्रमुख गरी दर्जनौं जनप्रतिनिधि, स्थानीय विकास तथा जनताको उन्नतिको कल्पनासहित अस्तित्वमा छन् । तर प्रगतिपरक कार्यका लागि दलीय एकता, गठबन्धन, नारा, धर्ना, जुलूस, विज्ञप्ति आदि न देखिन्छ न सुनिन्छ । तर विडम्बना नै भन्नुपर्छ स्वार्थपरक कार्यका लागि राजनीतिकर्मीहरू अर्कै ग्रहबाट शक्ति प्राप्त गरेझैं शक्तिमान् बन्छन् । नारा र जुलूससहित असामान्य शक्ति प्रदर्शन गर्न पछि हट्दैनन् ।  

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरूले विकासको नाममा प्रतिवर्ष करोडौं रुपियाँ खर्च गरिरहेका छन् । यसको अलावा पालिकाहरूको कुरा गर्ने हो भने पर्यटन विकासको नाममा प्रत्येक वर्ष प्रशस्त रकम छुट्याउँदै आएका छन् । छुट्याइएको सो रकमबाट पर्यटन विकासको काम शून्य र स्वहिततर्फ बढी क्रियाशील देखिन्छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनावलाई लक्षित ललिपप बाँड्ने काम हुन थालेको छ । कतै पर्साको सोनबर्सादेखि धोरे गाउँसम्म सडक शिलान्यास हुँदैछ भने कतै चिडियाखानाको अवधारणा चर्चामा ल्याइँदैछ । मङ्सिर ४ गते चुनावको घोषणा भएसँगै चुनाव नसकुन्जेल गाउँगाउँमा विकासको बाढी आउने पक्का छ । निर्माणाधीन तिलावे पुल, पथलैया—वीरगंज करिडरको सडकजस्ता अति आवश्यक विकास निर्माणको उदाहरणीय ढिलाइ छर्लङ्ग छ । यदि यो चुनाव भदौमा तोकिएको भए साउन महीनाभरि राजनीतिकर्मीहरूको टेन्ट भाथाधाममा हुन्थ्यो । किनभने एउटै थलोमा भाषण गरेर ठूलो सङ्ख्यामा मतदातालाई लोभ्याउन पाइन्थ्यो ।

पर्साको सोनबर्सा कटेपछि जङ्गल पर्छ । दुई किमि उत्तर जङ्गलभित्र वनशक्ति माता (रूखबिरुवाको पात चढाएर पूजा गर्ने हुनाले पतइया माता पनि भनिन्छ) को मन्दिर अवस्थित छ । त्यहाँ माता वनशक्तिको पूजापाठ गर्नुका साथै केही समय विश्राम गरी भक्तजन भाथाधामतर्फ प्रस्थान गर्दछन् । वनशक्ति माताको स्थानदेखि झन्डै एक किमि उत्तर फायर लाइनमा नेपाली सेनाको आधार शिविर पर्छ । त्यहाँ साउन महीनाभरि भुजा, पकौडा, जलेबीलगायत खाजाका पसलहरू सञ्चालन हुन्छन् । फायर लाइनदेखि भाथाधाम झन्डै सात/आठ किमि टाढा पर्छ । प्रायःजसो भक्तजन भाथाबाट फर्किने बेला त्यहाँ नाश्ता गर्नुका साथै केही बेर विश्राम गरी घरतर्फ प्रस्थान गर्दछन् ।

भाथाधामको विकास गर्न सके आन्तरिकदेखि बाह्य पर्यटकका लागि धार्मिकसँगै जङ्गल सफारीको पर्यटन केन्द्र बन्न सक्छ । भाथाधामको उत्थानको निम्ति सकारात्मक अवधारणासहित अघि बढ्नुपर्छ । यसले सरकारी श्रीवृद्धि हुनुका साथै जङ्गल आसपासका क्षेत्रको विकास हुन्छ । यति मात्र होइन, यसले रोजगार सृजना हुनुका साथै स्थानीय उन्नति र प्रगति सम्भव छ । सोनबर्साको स्तरोन्नति गरी सोनबर्सादेखि भाथाधामसम्म सके ओभर ब्रिजको निर्माण वा नसके बाटो निर्माण गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नुपर्छ । भाथाधामको उत्थानमा सबै तहका सरकारहरूले ध्यान दिनुपर्छ ।

साउन महीनाभरि भाथाधाममा श्रद्धालुजनको ओइरो लाग्छ । जङ्गगल कटेपछि पूर्वतर्फ चुरे पहाडमा दुग्धेश्वरनाथ महादेवको मन्दिर दृष्टिगत हुन्छ । पश्चिमतर्फ खोला छ । अहिले रात्रि विश्रामको लागि जीर्ण विद्यालय भवन र उहिले चुरे पहाडमा निर्मित एकाधवटा धर्मशालाबाहेक ओत लाग्ने अरू कुनै व्यवस्था छैन । हजारौंको भीडमा सीमित सुरक्ष्Fाकर्मीको उपस्थितिले व्यवस्थापन कहालीलाग्दो छ । मेला समिति व्यवस्थापकीय कार्यभन्दा पसलबाट उठाइने शुल्क, पार्किङ शुल्क र मन्दिरको चढावाप्रति बढी केन्द्रित हुनु व्यवस्थापन कमजोर हुनुको मुख्य कारण देखिन्छ ।

पर्साको भाथाधाम अवस्थित दुग्धेश्वर महादेव मन्दिरमा गएको सोमवारका दिन जल अर्पण गर्न पुगेका भक्तजनमध्ये केहीको धारणा र राय सुझाव यस प्रकार छ ः—          

जीतेन्द्र पटेल, बगही

सोमवारको दिन म वीरगंज–२८ बगहीदेखि भतौडा हुँदै भाथाधाम  गएको थिएँ । भीडसँगै म पनि जसोतसो भाथाधाम पुगें । दर्शनार्थीहरूको उपस्थिति बाक्लो थियो । रु पचास तिरेर मोटरसाइकल पार्किङ गरें । खोलामा स्नान गरेपछि जल लिएर बाबा दुग्धेश्वरनाथ मन्दिरतर्फ प्रस्थान गरें ।

भाथाधामको सबैभन्दा राम्रो पक्ष भनेकै प्राकृतिक वातावरणमा विराजमान दुग्धेश्रनाथ महादेव हुन् । तर भक्तजनमैत्री वातावरणप्रति मेला समिति, प्रशासन र सुरक्षा निकायको भूमिका अझ चुस्त हुनुपर्छ । जल अर्पण गरेर फर्किने क्रममा मन्दिरको पूर्वतर्फबाट निकासको व्यवस्था गरिएको छ । तर साँघुरो भएकोले पानी पर्दा वा अत्यधिक भीड भएमा दुर्घटनाको जोखिम पनि उत्तिकै छ । यसको अलावा तल झरेपछि ब्यारेक हुँदै एकतर्फी फर्किने व्यवस्था राम्रो भएपनि त्यसतर्फ ठाउँठाउँमा शीशाका ससाना टुक्रा छरिएकोले भक्तजनलाई जोखिम हुने आशङ्का छ । सोको सरसफाइ गरे राम्रो हुन्थ्यो ।

अर्को कुरा जङ्गलभित्रको बाटो अभिभावकविहीनजस्तै छ । मानिस र सवारीको अत्यधिक चापले आवागमन निकै सास्तीपूर्ण छ । ट्राफिक व्यवस्थापन नहुँदा तीस मिनेटको दूरी पार गर्न घण्टौं लाग्ने गरेको छ । केवल सात/आठ किमिको दूरी करीब साढे तीन घण्टामा मैले पार गरें ।

शारदा देवी, पर्सागढी नपा—४, बर्वाटाडी

म गत सोमवार परिवारसहित पर्सागढी नगरपालिका—४, बर्वाटाडीदेखि भाथाधाम गएकी थिएँ । हामी हिन्दू धर्मावलम्बीहरू भगवान्माथि पूर्ण आस्था र विश्वास राख्छौं । संसार नै भगवान्को कृपाले चलिरहेको छ । मानिसहरू गच्छे अनुसार तीर्थस्थल जान्छन् । आयस्रोत न्यून हुनेले पायक पर्ने धर्मस्थल जाने गर्दछन् । हाम्रो परिवार प्रत्येक वर्ष भाथाधाम आउँछ । प्राकृतिक वातावरण, चुरे पहाडको अवलोकन र मन्दिरमा विराजमान दुग्धेश्वर महादेवलाई जल अर्पण गरेर मनमा शान्ति छाउँछ ।

यद्यपि केही विषय छन्, जसको व्यवस्थापन गर्नु आवश्यक छ । खानेपानीको समस्या छ । महिलाहरूका लागि सबैभन्दा प्रमुख समस्या शौचालयको छ । महिला भक्तजनलाई व्यवस्थापन गर्न महिला सुरक्षाकर्मी हुनुपर्छ । स्नान गर्नको लागि महिला तथा पुरुषको लागि सीमा निर्धारण गर्नुपर्छ । पतैयामाई (वनशक्ति माता) देखि जङ्गल नकटेसम्म ट्राफिक व्यवस्थापनतर्फ ध्यान दिनुपर्छ । यसबाहेक त्यहाँ सञ्चालित पसलहरूको दररेटको कुनै सीमा छैन । खानाको दर कतै रु १४० त कतै १८० छ । त्यसैगरी पानी रु ३५ देखि ४० सम्म बिक्रि भइरहेको छ ।

1 COMMENT

  1. उल्लेखनीय लेख माथी सम्बन्धित निकाय , राजनीति निकाय र स्थानीय को विशेष भूमिकाको आवश्यकता को जरुरी देखिन्छ र यसलाई मन भाव बिना कुनै किसिम को लोभ लालच र संकोच गरि बिकास प्रती धयान्कर्ष्ण भए अति उतम हुने थियो। जय भाथा बाबा🙏🙏।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here