प्रस, वीरगंज, २० साउन/
वीरगंज महानगर–२५ निवासी जियालाल साह तुराहाले पत्रकार सम्मेलन गरी सिभिल बैंक लि., वीरगंज र प्रहरी बदमाशीका कारण आफूले दुःख पाएको गुनासो गरेका छन् ।
नेपाल पत्रकार महासङ्घ, पर्साको सभाहलमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा उनले सिभिल बैंकको आफू ऋणी भएको र सोही बैंकले आफ्नो नामको चेक भान्जा हरेरामकुमार साहलाई हस्तान्तरण गरेको र सो चेकको आधारमा भिनाजु रामअयोध्या साहले दुःख दिंदै आएको आरोप लगाए ।
जियालालले भिनाजु र भान्जाका कारण आफूले ४० दिन अनाहक प्रहरी थुनामा बस्नुपरेको र अदालतको आदेशमा तीन लाख रुपैयाँ धरौटीमा छुट्नुपरेको बताए । उनले सिभिल बैंकले मेरो नामको चेकबूक भान्जालाई बुझाएको र सो चेकबूकबाट भिनाजुले कान्छो भान्जा पप्पकुमार साहको नाममा १९ लाखको किर्ते हस्ताक्ष्Fर गरी चेक काटेको र सोही चेकलाई बैंकबाट बाउन्स गराएर प्रहरीमार्फत चेक अनादरमा थुन्न लगाएको बताए ।
उनले बैंकको सिसिटिभीमा चेक भान्जाले बुझेको र भिनाजु साथमा रहेको प्रस्ट देखिए पनि यसबारेमा बैंकले कुनै सहयोग नगरेको आरोप लगाए । जियालालले आफ्नो नाममा रहेको चेक अरूले लगेको विषयमा बैंक गम्भीर नभएको र जारी चेक सोही बैंकबाट आफ्नो हस्ताक्षर नभए पनि बाउन्स गरेर दुःख दिएको बताए । उनले पहिलो घटना ९५ लाखको चेक बाउन्स मुद्दा जिल्ला प्रहरीमा भिनाजु रामअयोध्या साहले गरेको थाहा पाएको र बैंकमा यसबारेमा उजूरी गर्न जाँदा प्रहरीमा पठाएको बताए ।
प्रहरीमा जाँदा पहिलेदेखि नै १९ लाखको भान्जाको नाममा जारी भएको चेक बाउन्समा आफूविरुद्ध पक्राउ पुर्जी जारी गरिएको र प्रहरी नायब उपरीक्षकद्वय ओमप्रकाश खनाल र प्रह्लाद कार्कीले भिनाजुसँग मिलापत्र गर्न दबाब दिएको बताए ।
जियालालले २०७९/२/१५ र २०७९/३/५ मा जिल्ला प्रहरीमा घटनाबारे लिखित जानकारी गराएको तर प्रहरीले सुनवाइ नगरेको बताए । उनले जेठो भान्जाले लिएको चेक कान्छो भान्जाको नाममा १९ लाखको जारी गरी किर्ते गरेको तर प्रहरीले उल्टो बैंकिङ कसूर मुद्दामा आफूलाई ४० दिन थुनामा राखेको बताए । उनले केन्द्रीय विधि विज्ञान प्रयोगशालामा चेकमा रहेको हस्ताक्षर आफ्नो नभएको प्रमाणित नभएपछि अदालतले धरौटीमा छाडेको तर अहिले पनि दश थान चेकबाट भिनाजुले तीनवटा चेक भिनाजुका ज्वाइँ लड्डुबाबू साहको नाममा, एउटा दिदी उमरावतीको नाममा करीब एक करोड ६५ लाख ९४ हजारको चेक बाउन्स गराएको बैंकबाट देखिएको हुँदा यस सम्बन्धमा थप दुःख पाउने सम्भावना देखेर पत्रकार सम्मेलन गरी जानकारी गराएको बताए ।
उनले आफ्नो नामको चेकमा अरूले हस्ताक्षर गर्दा बैंक र प्रहरीले किर्ते गर्नेलाई कसूर अनुसारको सजाय गर्नुपर्नेमा आफूलाई दुःख दिइरहेको बताए ।
पर्सा प्रहरीका प्रवक्ता प्रह्लाद कार्कीले सालो–भिनाजुबीच जग्गाको विषयलाई लिएर विवाद भएको र दुवैलाई मिलेर आउन सुझाव दिएको बताए । जियालालले भने प्रहरीले एक पक्ष्Fलाई सघाएको आरोप लगाए । कानून अनुसार दोषी देखिनेलाई कारबाई हुनुपर्नेमा सो नभएको उनको भनाइ छ ।