प्रस, वीरगंज, २० साउन/

माउन्ट एडमन्ड माध्यमिक विद्यालयले विद्यार्थीहरूको क्षमता र ऊर्जालाई रचनात्मक र क्रियाशील बनाइ देश र शैक्षिक हितमा प्रयोग गर्न प्रजातान्त्रिक अभ्यास निर्वाचनद्वारा विद्यार्थी परिषद्को गठन सम्पन्न गरेको छ ।

विद्यालयका प्रधानाध्यापक अनन्तकुमारलाल दासको सक्रियता र अतिरिक्त क्रियाकलाप विभागका शिक्षकशिक्षिकाहरूको सहयोगमा शुक्रवार विद्यालयले विद्यार्थी परिषद्का सदस्यहरू क्रमशः हेड ब्याय, हेड गर्ल, सदन क्याप्टेन र सहायक क्याप्टेनलगायत कक्षा एक देखि दश कक्षासम्मका मोनिटरहरूको चयन प्रत्यक्ष निर्वाचन पद्धतिद्वारा सम्पन्न गरेको छ ।

यसका लागि हरेक समूह अन्तर्गत तोकिएको विशेषता भएका विद्यार्थीहरूको छनोट, उनीहरूको भूमिका, अधिकार र कर्तव्यबारे एकदिवसीय तालीम, निर्वाचन जस्तै तोकिएको समयभित्र प्रचारप्रसार र अन्त्यमा निर्वाचन गराइएको थियो । यसबाट विद्यार्थीहरूले निर्वाचन पहिले, निर्वाचनको बेला र निर्वाचनपछि गरिने कामहरू के के हुन् र कसरी राम्रो उम्मेदवारको छनोट गर्नेबारे जानकारी पाएका थिए ।

सो सम्बन्धमा विद्यालयका प्रअ  दासले हालसम्म अभिभावकले मात्रै निर्वाचनमा मत खसाल्ने गरेको अनुभव लिएका विद्यार्थीहरू स्वयम् विद्यालयमा मत खसाल्दा दङ्ग परेका थिए र निर्वाचन प्रक्रियाको अभ्यास गर्न पाउँदा खुशी पनि देखिन्थे र निर्वाचनलाई स्वच्छ, धाँधलीरहित तरीकाले इमानदार नेतृत्वको छनोट गनेबारे विद्यार्थीहरूले सिकेको बताए ।

यसैगरी, अतिरिक्त क्रियाकलाप विभागका प्रमुख बलराम नेपालीले स्वजिम्मेवारीको अनुभव गराउने उद्देश्यले सिर्जना गरिने विभिन्न पदका लागि शिक्षकले नाम तोक्नुभन्दा निर्वाचन पद्धतिबाट चयन गर्दा पारदर्शी हुनुका साथै विद्यार्थीहरूले निर्वाचन शिक्षाको व्यावहारिक ज्ञान सजिलै पाउने कुरामा जोड दिए ।

सम्पन्न निर्वाचनमा हेड ब्याय र हेड गर्लमा क्रमशः राहुल यादव, रिषभ कुमार, रीजा श्रेष्ठ, प्रियङ्का यादव र मोनिका गोले चयन भएका छन् भने चारपटा सदन क्याप्टेनमा प्रिन्सी सर्राफ, हिमांसु यादव, अङ्कित चौधरी र स्नेहा सर्राफ, सहायक क्याप्टेनमा ऋचा सिंह, दीपक महतो, काजल चौधरी र रीजा श्रेष्ठ निर्वाचित भएको जानकारी निर्वाचन अधिकृत शिक्षिका अनीता चौरसियाले गराइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here