संयुक्त राष्ट्रसङ्घ, १४ साउन/एपी
संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रीनफिल्डले विश्व मानचित्रबाट रूसले युक्रेनलाई मेट्ने प्रयास गरेको बताएकी छन् ।
सुरक्षा परिषद्को शुक्रवारको बैठकमा उनले विश्व मानचित्रबाट युक्रेनलाई मेट्न रूसले खोजेकोमा अब कुनै शङ्का नरहेको बताइन् । रूसका पछिल्ला अमानवीय गतिविधिले त्यसतर्फ सङ्केत गरेको उनले बताइन् ।
रूसले पूर्वी युक्रेनी क्षेत्र डोनेस्क र लुहान्स्क, दक्षिणी खेरसोन र जापोरिज्जियालाई अवैधरूपमा आफ्नो कब्जामा लिएर त्यसको आधार निर्माण गरिरहेको उनले दाबी गरिन् । अमेरिकी राजदूतले रूसका विदेशमन्त्री सर्गेई लाभरोभले पनि रूसको युद्धको लक्ष्य पनि त्यही नै भएको अभिव्यक्ति दिएको बैठकमा स्मरण गराइन् ।
विदेशमन्त्री लाभरोभले गत आइतवार कायरोमा भएको अरब शिखर सम्मेलनमा युक्रेनमा मस्कोको मुख्य लक्ष्य आफ्ना जनतालाई अस्वीकार्य शासनबाट मुक्त गर्नु हो भनेका थिए । मस्कोको युद्धको उद्देश्य पूर्वमा डोनेस्क र लुहान्स्क सम्मिलित युक्रेनको औद्योगिक डोनबास क्षेत्रभन्दा बाहिर फैलिएको स्पष्ट गर्दै उनले युक्रेनी जनतालाई जनविरोधी वर्तमान शासनबाट मुक्त हुन मदत गर्नेछौं भनेका थिए ।
रसियाका नायब राजदूत दिमित्री पोल्यान्स्कीले पनि सुरक्षा परिषद्मा युक्रेनलाई पूर्णरूपमा निश्शस्त्रीकरण गरिने बताए । डोनबासमा रूस वा युक्रेनबाट जोखिम हुन नहुने भन्दै उनले धेरै वर्षपछि त्यहाँका जनताले पहिलोपटक आफूले चाहेजस्तो जीवन बिताउन पाएको बताए । पोल्यान्स्कीले लामो दूरीमा प्रहार गर्न सक्ने रकेटसहितका हतियार आपूर्ति गर्ने पश्चिमा देशलाई चेतावनी दिंदै रूसी सैन्य कारबाही त्यसलाई परास्त गर्नका निम्ति पनि भएको बताए ।
युक्रेनी नागरिकले आफूले विश्वास गर्ने देश रोजेको बताउँदै रूसी कूटनीतिज्ञ पोल्यान्स्कीले युक्रेनको राजनीतिक र सैन्य नेतृत्वमा फस्टाएको भ्रष्टाचार त्यसको कारक भएको दाबी गरे । उनले पश्चिमा राष्ट्रबाट युक्रेनलाई उपलब्ध गराइएका घातक हतियार युरोपसम्म फैलिने चेतावनी पनि दिए ।
पश्चिमा देशका हतियारले केवल युक्रेनी जनताको पीडा बढाएको दाबी गर्दै उनले आफ्नो देशले गरेको विशेष सैन्य अभियानको उद्देश्य हासिल भइछाड्ने बताए । साथै उनले आगोमा इन्धन थप्नुको कुनै अर्थ नभएको दोहो¥याए ।
अमेरिकी राजदूतले रूसको नाम नलिईकन सबै देशलाई कूटनीतिक माध्यमबाट समस्याको निकास खोज्न आह्वान गर्दै रूसी कदमबाट वर्तमान सङ्कट समाधान नहुने बताइन् । उनले विद्यालय र अस्पतालमा बम आक्रमण, सहायताकर्मी र पत्रकारहरूको हत्या, युद्धको त्रासदीबाट बच्न खोज्ने नागरिकहरूलाई लक्षित गर्दै भएका प्रहार, बुचामा आफ्नो दैनिक व्यवसायमा जानेहरूमाथि भएका अत्याचारको फेहरिस्त उनले प्रस्तुत गरिन् ।
राजधानी कीभबाहिरको क्षेत्रमा रूसी सेनाले गरेको नरसंहार, जबरजस्ती हिरासतमा राखेर भएका सोधपूछ, हजारौं युक्रेनीलाई निर्वासनमा जान बाध्य गरिएका, बालबालिकामाथि भएका चरम दुव्र्यवहारबारे पनि अमेरिकी राजदूतले बैठकलाई जानकारी गराइन् ।
रूसी बोल्ने उनीहरूलाई बलपूर्वक आफ्नो भूमिमा जान बाध्य पारिएको छ । मानव अधिकार हनन, युद्ध अपराध र ज्यादतीका घटना बढेका छन् । युक्रेनीलाई सास्ती दिन रूसी राष्ट्रपतिका अधिकारीहरूले निरीक्षण एवं समन्वय गरिरहेको उनले सुनाइन् । यसैबीच, युक्रेनी र रूसी अधिकारीहरूका अनुसार करीब २० लाख युक्रेनी शरणार्थीलाई रसिया पठाइएको छ । रासस