प्रस, वीरगंज, १३ साउन/
सङ्घ, मधेस प्रदेश र स्थानीय तहहरूमा भएका निर्माण कार्य (असारे विकास)मा नेता, कर्मचारी र ठेकेदारहरू मालामाल भएपछि खुशी छन् भने सर्वसाधारणलाई सास्ती भएको छ ।
वर्षभरि केही नगरेर बस्ने तर आर्थिक वर्षको अन्तिम महीनामा बजेट सक्याउन असारे विकास अन्तर्गत धमाधम गरिएको निर्माण कार्यले विकासको साटो विनाश गरेको देखिन्छ । पर्सा जिल्लाका अधिकांश स्थानमा बाटोघाटो, पुल, सडक ढलान, भवन निर्माणलगायत पूर्वाधार निर्माणका काम अधूरो अवस्थामा छन् । बर्सेनि यस्ता अधूरा योजनामा लाखौं बजेट जाने तर काम भने अधूरै छाड्ने परिपाटीले जनता दुःखी छन् ।
त्यस्तै एउटा निर्माण कार्य वीरगंज महानगर–३० लालपर्सामा रहेको अधूरो कल्भर्टमा देख्न सकिन्छ । प्रदेश सरकारले २५ मिटर लामो कल्भर्ट निर्माण गर्न रू २५ लाख बजेट पठाएको थियो । प्रदेश सांसद भीमा यादवको क्षेत्र विकास कार्यक्रम अन्तर्गत सो बजेट आएको हो । कामको प्रवृत्ति हेर्दा उपभोक्ता समितिलाई दण्डित गर्नुपर्ने देखिन्छ । तर पूर्वाधार कार्यालयले कामको मूल्याङ्कन गर्दै रू १४ लाख १२ हजार भुक्तानी दिएको छ ।
यस विषयमा कार्यालय प्रमुख सञ्जय साहले मूल्याङ्कनको आधारमा भुक्तानी दिएको बताए । जेठ महीनाको अन्तिममा निर्माण कार्य शुरू भएको र असार २४ गतेसम्म भएको कार्यबापत सो भुक्तानी दिएको उनको भनाइ छ । सोही बेला पानी परेर ढलानमा प्रयोग भएको सिमेन्टहरू बगाएको आफूलाई थाहा भएको उनले बताए । साहका अनुसार बाँकी कामको रकम तथा प्रदेश सरकारसँग थप रकम मागसमेत गरेको बताए । राजनीति दबावमा सो पुल निर्माणको भुक्तानी भएको कर्मचारीहरूले जानकारी दिए ।
त्यसैगरी वीरगंज महानगरपालिका–१० स्थित ठाकुरराम बहुमुखी क्याम्पसको छात्रावासको पछाडि रहेको सडक ढलानको काम त्यस्तै भएको छ । स्थानीयहरूको चर्को दबाव र विरोधपछि सो कार्यको भुक्तानी रोकीएको समाचार छ ।