• राजेश मिश्र

 ‘चल दउर के देख लेवल जाँव, के जितता ?’ अर्थात् ‘जाउँm दौडेर हेरौं को जित्छ ?’ उहिले कुश्ती लडेका उनी अहिले पनि खुला चुनौती दिन्छन् । अति वृद्ध उमेरमा पनि जोश जाँगरमा कुनै कमी छैन । उमेर बढेसँगै आफूलाई वृद्धवृद्धा वा रोगी ठान्ने व्यक्तिहरू र युवापुस्ताका लागि उनी उदाहरणीय छन् । मझौला कद काठीसँगै पातलो शरीर तथा गोरो अनुहारमा मुस्कान अति सुहाउँछ । दाँतविहीन मुखारबाट प्रस्फुटित हुने स्वर झन कर्णप्रिय लाग्छ ।

भनिन्छ, वृद्धावस्था रोगको घर त हो नै, शारीरिकशक्ति शिथिल हुनुका साथै स्मरणशक्ति क्षीण हुँदै जान्छ । तर यो कथन उनीमाथि लागू हुँदैन । किनभने उनलाई कम्मरको दुखाइबाहेक न कुनै रोग छ, न स्मरणशक्तिमा ¥हास नै आएको छ । स्वस्थ व्यक्ति सरह नियमित हिंड्डुल तथा हाटबजार हिंडेर जानुका साथै नित्यकर्मका लागि आफैं सक्षम छन् ।

राणाकाल, पञ्चायतकाल, हैजा, १९९० र २०७२ को भुइँचालो, प्रजातन्त्र र गणतन्त्रसँगै उहिलेको असुविधा र अहिलेको सुविधाबीचको अन्तर अनुभूति गरेका उनी नवपुस्ताका लागि जिउँदो इतिहास हुन् । उनको जीवनबारे खोतल्ने प्रयास गरिरहँदा विगतका कुरा सम्झेर उनको मुहारमा खुशीको तरङ्ग स्पष्ट झल्किरहेको थियो ।

१०६ वर्षीय वृद्धको बारेमा सामाजिक अभियन्ता बृजेश्वरप्रसाद चौधरीमार्फत जानकारी प्राप्त भयो । हामी दुईजना गत शनिवारको दिन टण्टलापुर घाममा बिहान एघार बजे ग्रामीण क्षेत्रको लागि प्रस्थान ग¥यौं । पर्साको जगरनाथपुर गाउँपालिका–४ बिजबनिया गाउँ निवासी मुनेश्वरप्रसाद यादवसँग भएको कुराकानीको संक्षिप्त अंश प्रस्तुत छः

चार दाजुभाइ तथा एक बहिनीमध्ये म माहिलो हुँ । दुई छोरा र एक छोरीसँगै चौबीसजना नातिपनातिहरू छन् । विसं २०३५ ताका वडाध्यक्ष पदमा गाउँवासीले मलाई निर्वाचित गरेर सेवा गर्ने मौका पनि दिएका थिए ।

उहिले खानपानको प्रकार यतिविघ्न वृहत् त थिएन, तर जे पाइन्थ्यो र खाइन्थ्यो त्यो शुद्ध, पौष्टिक, सुपाच्य र सन्तुष्टिपूर्ण थियो । मांस र मदिराको बिगबिगी थिएन । कडा परिश्रम गरी उत्पादन गरिएको अन्न, तरकारी, दूध र दहीको पौष्टिकता अहिलेको मिसावटयुक्त खाद्य पदार्थसँग तुलना गर्न मिल्दैन । श्रम गरेपछि भोक लाग्छ । भोक लागेपछि साग, सातु जे भएपनि मीठो लाग्छ । आत्मसन्तुष्टिसहित गर्ने भोजनले नशा लागेझैं निद्रा लाग्छ । अहिले जस्तो भोक र निद्रा उहिले औषधिमा निर्भर थिएन ।

अहिलेको समयमा वृद्धजनको काखमा बसेर कथा सुन्दै काखमैं निदाउने उहिलेको परिवेश अहिले टिभी, इन्टरनेट, मोबाइल र सामाजिक सञ्जाल आदिमा विलुप्त भइसकेको छ । अस्वस्थकर भोजन, अपर्याप्त निद्रा र मानसिक चिन्ताले रक्तचाप, मधुमेह जस्ता रोगहरू अहिले आम भइसकेका छन् । उहिले भान्साघरको कामकाजदेखि कृषि कार्य, यात्रा आदि सबैथोक शारीरिक श्रममा आधारित थियो । स्वास्थ्य, शिक्षा, सडक, विद्युत्, यातायात, सञ्चार जस्ता विविध असुविधा त थिए, तर जीवनयापन विशुद्ध प्रकृतिमय थियो ।

स्वास्थ्य

कम्मरमा कहिलेकाहीं हुने दुखाइबाहेक अरू कुनै रोग छैन । स्नान, पूजापाठ आदि नित्यकर्म गर्न म पूर्ण सक्षम छु । गाउँघर र खेतबारी मात्र होइन, एकतर्फी झन्डै पाँच किमी टाढा सीमावर्ती इनर्वा बजार हिंडेर जान्छु र फर्किन्छु । उहिले वीरगंजलगायत टाढाको यात्रा हिंडेर जानुको विकल्प थिएन । वीरगंजदेखि बेलुका पाँच बजे हिंडेर राति आठ बजेसम्म घर आइपुग्थें । अहिलेका युवाहरू पल्लो गाउँ जानुपर्दा पनि सवारी नभई जाँदै जाँदैनन् । स्वस्थकर आहार व्यवहारको अनुसरण गरेर दीर्घायुका साथै बढ्दो उमेरमा शक्ति सन्तुलन कायम राख्ने कुरामा अहिलेको पुस्ताले ध्यान दिनुपर्छ ।

बाल्यकाल र शिक्षादीक्षा

अनौपचारिक शिक्षा गाउँमैं प्राप्त गरें । छिमेकी गाउँका स्वर्गीय शिवरतन चौधरी शिक्षा दिने पहिलो गुरू हुन् । रूवा, सवाई र ढैयालगायतका हिसाबकिताब उनीबाट सिकें । भुइँमा माटोको पाटी बनाएर लेख्ने–पढ्ने गरिन्थ्यो । धेरैपछि माटो तथा कुटबाट बनेको स्लेटको विकास भयो । खोलामा पाइने भाठा माटोको चक बनाइन्थ्यो ।

बिजबनियादेखि दुई किमी टाढा जगरनाथपुरको गणेश महतोको फुसको घरमा कक्षागत शिक्षा प्रारम्भ गरें । पढेबापत प्रतिमहीना तीन रूपैयाँ दिनुपथ्र्यो । यसको अलावा ‘शनिचरा’ अर्थात् प्रत्येक शनिवारको दिन सिधा (नपकाएको अन्न) तथा आर्थिक क्षमता अनुसार चार आना वा आठ आना पैसा दिनुपथ्र्यो ।

सँगै खेल्दै र पढ्दै हुर्केका सहपाठीहरू कोही पनि भौतिकरूपमा छैनन् । जगरनाथ राउत अहिर, मखु गद्दी, बाढु ठाकुर लोहार, डाढु ठाकुरलगायतका थुप्रै बाल्यकालीन साथीहरूसँग पढें, खेलें र डुलेको त्यो पुनः फर्केर आओस् भन्ने लाग्छ ।

कुश्ती

उहिले शारीरिक तन्दुरूस्तीका लागि कुश्ती अनिवार्य आवश्यकता थियो । किनभने प्रहरीविहीन गाउँहरू असुरक्षित थिए । चोर–डाँकाहरूको बिगबिगीले आफ्नो सुरक्षा आफैंमा निर्भर थियो । यस कारणले पनि शारीरिक सुगठन आवश्यक थियो । प्रायःजसो गाउँमा अखाडा थियो । कुश्ती शारीरिक सुगठनका लागि मात्र नभई सुरक्षाको दृष्टिकोणले पनि अहम् थियो । मेरो परिवारमा १६ वटा भैंसी र दुई सयवटा गाई थिए । ताजा र शुद्ध दूध, दही र घ्यूको कमी थिएन ।

कृषि प्रणाली

त्यस बेला धानको रोपाइँ यसरी हुन्थ्यो– पहिलो चरणमा खेतमा मनग्यै पानी हाल्ने, दोस्रो चरणमा अग्ला घाँसपात मालवस्तुले चराउने, तेस्रो चरणमा हलोले खेत जोत्ने र चौथो चरणमा तयार खेतमा धान छरिन्थ्यो । यस विधिलाई बोलचालमा ‘बावग’ विधि भनिन्थ्यो । यस विधिको धेरैपछि बिडारमा धानको बीउ छर्ने, उमार्ने र खेत तयार गरेर रोपाइँ गर्ने प्रचलन शुरू भयो । हरवाह र कुदरवाहको छ सेर ज्याला थियो । रोपाइँ गर्ने प्रचलन शुरू भएपछि रोपाहारको आवश्यकतासँगै पाँच सेर ‘बनिहारी’ (ज्याला) थप भयो ।

अहिले कृषि कार्य रासायनिक मलखादमा निर्भर छ । तर उहिले गाईगोरूको पालनपोषणले मानवीय जीवनलाई दूध, दही, घ्यू, गोबरले बनेको गुइँठा, चिपरी र गोहरा खाना पकाउने इन्धन र कृषि कार्यको लागि प्राकृतिक मल पाइन्थ्यो । भलै कृषि उत्पादन आजको दाँजोमा कम हुन्थ्यो, तर जति हुन्थ्यो विशुद्ध र पौष्टिक थियो ।

१६ देखि १८ कट्ठालाई एक बिघा भनिन्थ्यो । एक बिघा खेतमा ३० देखि ३२ मन धान उत्पादन हुन्थ्योे । बरछा बहादुर, मनेसरी, देवसार, सतलरी, बासमती, चेङ्गउल, ब्रह्माभूसी, कनकजीरा, मर्चैया, दूधराज, राताकित्ता, जगरनथिया, मोरङ्गी दूधराज, बहरनी आदि धानका प्रजाति बढी प्रचलनमा थिए ।

विसं १९९० को भूकम्प

म १५–१६ वर्षको थिएँ । गाउँको दक्षिणतर्फ बगैंचामा अखाडा थियो । कुश्तीको अभ्यास जारी थियो । म पनि कुश्ती खेलिरहेको थिएँ । एक्कासि धर्ती हल्लिन थाल्यो । चारैतिर भागमभाग मच्यो । झट्का सहिनसक्नु थियो । के भयो ? किन भयो ? कसरी भयो ? सोच्ने मौका थिएन । ठूलाबडाहरूले ‘धर्ती डोलता’ (भूकम्प) चिच्याउन थालेपछि थाहा भयो । ठूलाबडाहरूको देखासिकी हामीहरू पनि लड्दै–उठ्दै यताउति भागिरहेका थियौं । थुप्रै ठाउँमा धजा फाटेर पानीको भेल बगिरहेको थियो । मलाई लाग्छ २०७२ को भूकम्पभन्दा १९९० सालको भूकम्प बढी तीव्र थियो ।

राणाकाल

राणा शासनकालमा सेना नै सबैथोक थियो । उनीहरूको आदेश पालना नगरे सुख थिएन । एकपटकको कुरा हो, गाउँमा लेफ्टिनेन्टको सवारी भयो । दाम नतिरेकोले गाउँका एकजनाको हात बाँधेर अञ्जुलीमा आगोको डल्लो राखियो । बुबा गया राउतलाई यो कुरो असह्य भयो । बुबाले शुरूमा त्यो मानिसको हातबाट आगोको डल्लो फ्याँकिदिए । त्यसपछि सिपाहीको दुई हात समातेर घिसार्न थाले । त्यही कारणले बुबाप्रति प्रशासनिक आक्रोश बढ्यो । हाम्रो डेढ बिघा खेतको प्रशासनले दाखिला खारिज नै गरेनन् ।

विवाह

नौ दशकअघिको कुरा हो । म लगभग १२ वर्षको थिएँ । साँझको समय थियो । गाईभैंसी चराएर म खलियान हुँदै गोठतर्फ फर्किरहेको थिएँ । खलियानमा परालको चाङनिर परालमा बसेर बुबा र मैले नचिनेको एक व्यक्तिबीच कुराकानी भइरहेको देखें । खलियाननजीक पुगेपछि बडो स्नेहपूर्वक बुबाले भन्नुभयो, “बबुवो हेने अइहे” अर्थात् “बाबु यता आऊ ।” म नजीक गएँ र बुबाले भनेपछि मैले ती व्यक्तिलाई ढोग–प्रणाम गरें । ती व्यक्तिले मेरो अनुहार अवलोकन गरिरहँदा उनको मुहारमा मधुर मुस्कान थियो । केही बेरपछि बुबाले मलाई जान भन्नुभयो । म फर्किन लाग्दा बुबाले ती व्यक्तिसँग ‘इहे लइकवा ह’ भनेको मैले सुनेको थिएँ । तर विवाहको चर्चा होला भन्ने मलाई पटक्कै लागेको थिएन । विवाह पक्का भइसकेको कुरा पछि थाहा भयो ।

विवाहभन्दा दुई/तीन हप्ताअघि आफन्तहरूलाई निम्तो गइसकेको थियो । हल्दीमा सुपारी रङ्गेर हजामद्वारा निम्तो पठाउने चलन थियो । विवाहको दुई हप्ताअघि देखि गाइने ‘सान्झा–पराती’ले माहोल विवाहमय भइसकेको थियो । लगनको बेला गहना बनाउनका लागि सोनार घरमैं आउँथे । आफूसँग भएको चाँदीको पैसा र सुनको पुरानो गहना गलाएर दुलहीका लागि नयाँ आकार प्रकारका गहना बन्थ्यो । कोट, कमिज, गम्छा, टोपी पहिरेर मैले दुल्हाको रूप धारण गरिसकेको थिएँ । बैन्ड बाजा, सिंहा, हेला–खुरदुक (शहनाई) सहित हात्ती, उँmट र बयलगाडा चढेर जन्तीहरू गएका थिए ।

गच्छे अनुसार जन्तीलाई दही, चिउरा, चिनी, बुनिया, जलेबी र तरकारी खुवाइन्थ्यो । मांसाहारी व्यञ्जन तामसी भएकोले शुभ कार्यमा पूर्णतः वर्जित थियो । विवाह भएको एघार वर्षपछि गौना भयो । बिदाइमा ठेकुवा, कसार, तरई, खटिया र बाकस आदि वधूपक्षले दिएका थिए । उनै पत्नी तेतरी देवीको स्वर्गवास भएको झन्डै ५८ वर्ष भइसक्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here